अखिल (क्रान्तिकारी) मकवानपुरको सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) मकवानपुरको सम्मेलन सम्पन्न

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुरले ‘शिक्षा क्षेत्रमा बढ्दो व्यापारीकरण, भ्रष्टीकरण र माफियाकरणका विरुद्ध हाम्रो आन्दोलन ! संगठन सुदृढ र एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिको लागि २३ औँ मकवानपुर जिल्ला सम्मेलन !!’ भन्ने नारासहित हेटौडामा २३ औं जिल्ला सम्मेलन सम्पन्न गरेको छ ।

बुधबार सम्पन्न सम्मेलनमा अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराई प्रमुख आतिथि थिए भने नेकपाका जिल्ला इन्चार्ज राम घलान (वाटर) विशेष अतिथि थिए ।

सम्मेलनले विवेक घलान (अनिल) को अध्यक्षतामा २७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । नव निर्वाचित जिल्ला समितिको उपाध्यक्षमा सुर्य बहादुर गोले र ललित घलान, सचिवमा विक्रम घलान, सह–सचिवमा शर्मिला थोकर र कोषाध्यक्षमा सुवाष तामाङ रहेका छन् । त्यस्तै गरी सदस्यहरूमा उमेश घलान, शान्ति घलान, विनिता ढुंगाना, झरना थिङ, दिलमाया गोले, अमृता मगर, राजीव अधिकारी, रविन्द्र बल, अन्जन अर्याल, विष्णु सुवेदी, मन्दिरा थापा, स्वस्तिका श्रेष्ठ, गौरवी कुइँकेल, रुपेश रुम्बा, रञ्जित बज्यु, दिपेश क्षेत्री, निकेश ब्लोन, पुर्न प्रताप, शास्त्र थापा, सम्झना बमजन र पासाङ लामा रहेका छन् ।

सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि रुद्र भट्टराईले देशमा सञ्चालन गरिएको निजि शिक्षाको अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले शिक्षा क्षेत्रमा भएका विभिन्न समस्याहरुको समाधान वैज्ञानिक समाजवादी व्यवस्थामा हुने बताए ।

सम्मेलनका विशेष अतिथि राम घलान (वाटर) ले संसदीय व्यवस्था नै अहिले हाम्रो देशमा देखिएका समस्याहरू र राजनीतिक अस्थिरताको मूल कारण भएको बताए । अखिल (क्रान्तिकारी)का नारायणी व्युरो संयोजक प्रकाश जप्रेलले शैक्षिक क्षेत्रमा भएको निजीकरण, दलालिकरण, व्यापारीकरण, माफियाकरणका साथै विभिन्न विकृति र विसंगतिको अन्त्य गर्न संगठन विस्तारका साथै संघर्ष गर्न निर्देशन गरे।

सम्मेलनमा नव निर्वाचित अध्यक्ष विवेक घलान (अनिल) ले अब नयाँ कार्ययोजना बनाई संगठनलाई अघि बढाउनुका साथै शैक्षिक क्षेत्रमा भएका समस्याको निर्मूल गर्ने संघर्षनात्मक कार्यमा जुट्ने प्रतिबद्धता गरे ।

सम्मेलनमा नेकपा बारा/पर्सा इन्चार्ज इन्द्रबहादुर परियार ‘नयन’,मकवानपुर सेक्रेटरी सुर्य अर्याल, अखिल (क्रान्तिकारी) नारायणी व्युरो संयोजक प्रकाश जप्रेल, मकवानपुर जिल्ला जनसत्ता प्रमुख तथा सचिवालय सदस्य विक्रम मगर, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का जिल्ला अध्यक्ष सुशिला सिन्तान्, युवा संगठनका अध्यक्ष किरण अर्याल, पार्टी जिल्ला सदस्य गुण सिंह रुम्बा, किसान महासंघका जिल्ला अध्यक्ष कर्ण लामा, अखिल (क्रान्तिकारी)का पूर्व जिल्ला अध्यक्ष चूडामणि रुपाखेती, सहिद परिवार सदस्य हेलिश मोक्तान, मकवानपुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. शङ्कर प्रसाद उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।

विवेक घलानको अध्यक्षतामा भएको सम्मेलनको सञ्चालन विक्रम घलानले गरेका थिए भने ललित घलानले स्वागत मन्तव्य र जिल्ला सेक्रेटरी सुर्य अर्यालले शुभकामना तथा बधाई मन्तव्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :