बुटवलमा औद्योगिक मजदुर संघको सम्मेलन सम्पन्न, अध्यक्षमा भिमशर्मा

बुटवलमा औद्योगिक मजदुर संघको सम्मेलन सम्पन्न, अध्यक्षमा भिमशर्मा

बुटवल : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका केन्द्रीय संयोजक विनोद थापाले वैज्ञानिक समाजवादी व्यवस्था मजदुर, किसान र सुकुम्बासीहरूको सुन्दर व्यवस्था भएको बताएका छन् ।

मङ्गलबार बुटवलमा सम्पन्न अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर संघको सातौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै थापाले वर्तमान संसदीय व्यवस्थाले मजदुर र किसान वर्गमाथि शोषण र दमन गरिरहेको बताए । उनले मजदुरहरू शारीरिक, मानसिक, सामाजिक रुपमा विभाजित हुन बाध्य भएको र उनीहरूले परिश्रम अनुरुप उचित पारिश्रमिक पाउन नसकेको भन्दै मजदुर आन्दोलनलाई अगाडि बढाउनुपर्ने बताए । थापाले भने, ‘विगतको मजदुर आन्दोलन अग्रभागमा थियो तर नेतृत्वले धोका दिएपछि ट्रेड युनियन आन्दोलन ओझेलमा पर्यो ।’ उनले किसान, मजदुरहरूको हकहितको लागि पेशागत आन्दोलन र वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको निम्ति रणनीतिक आन्दोलन गर्न आवश्यक रहेको बताए ।

नवलपुर जिल्ला इन्चार्ज ध्रुवले ३ बुँदे सहमति क्रान्तिको र मजदुर वर्गको हितमा रहेको बताए । उनले विगतमा प्रचण्डको नेतृत्वमा क्रान्ति प्रतिक्रान्तिमा रूपान्तरण भएको भन्दै दुःख व्यक्त गरे । ध्रुवले भने, ‘व्यवस्था चुन्ने अधिकार एकपटक जनतालाई दिनुपर्छ । देशमा संसदीय व्यवस्थाले गर्दा अनेकौँ संकट पैदा भएको हो ।’ यसैगरी, अखिल नेपाल जनसांस्कृतिक महासंघका लुम्बिनी ब्युरो संयोजक तथा अखिल नेपाल लेखक संघका केन्द्रीय महासचिव खोमा तरामु मगरले मजदुर, उद्योगी व्यवसायीहरूको वैचारिक, राजनैतिक स्तरलाई माथि उठाएर ट्रेड युनियन आन्देलनलाई शसक्त रुपमा अगाडि बढाउनुपर्ने बताए । उनले नेपालको क्रान्तिकारी मजदुर आन्दोलन विचलनमा रहेकाले कुरा वर्गको गर्ने र व्यवहारमा दलाली गर्ने प्रवृत्तिलाई निमित्यान्न पारी कडा संघर्ष गर्नुपर्ने बताए । तरामुले वर्तमान राज्य सत्ताको स्वरुप बदल्नुपर्ने र मजदुर संगठनहरूलाई व्यापक रुपमा विस्तार गर्नुपर्ने बताए ।

सम्मेलन कार्यक्रममा नेकपाका रूपन्देही जिल्ला सेक्रेटरी विदुर, अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संगठनका केन्द्रीय अध्यक्ष श्याम सेन्चुरी, अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संगठनका केन्द्रीय सदस्य सन्देश, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ रूपन्देहीका अध्यक्ष खगेन्द्र पौडेल, युवा संगठन नेपालका सन्तोष लगायत नेता तथा कार्यकता र देशभरका विभिन्न जिल्लाहरूबाट ठूलो संख्यामा जनसहभागिता रहेको थियो । सम्मेलनले भिमशर्माको अध्यक्षतामा १३ जना केन्द्रीय समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा महेश आचार्य, सचिवमा ज्वालासिंह घर्तीमगर निर्वाचित भएका छन् ।

कार्यक्रमको अध्यक्षता विनोद थापा, प्रमुख अतिथि ध्रुव, स्वागत मन्तव्य श्याम सेन्चुरी र कार्यक्रमको सञ्चालन र समापन भिमशर्मा पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :