पत्रकार महासङ्घको चुनाव नजिकिएसँगै प्रचारप्रसार तिव्र

पत्रकार महासङ्घको चुनाव नजिकिएसँगै प्रचारप्रसार तिव्र

काठमाडौँ : नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासङ्घको २६ औँ महाधिवेशनको यही चैत २५ गते हुने निर्वाचन नजिकिँदै जाँदा चुनावी प्रचारप्रसारलाई पनि तिव्र पारिएको छ । जनपक्षीय एवम् श्रमजीवी पत्रकारहरूको अधिकारका लागि जनपत्रकार संगठन नेपालको तर्फबाट पनि केन्द्रदेखि जिल्लासम्म विभिन्न पदमा उम्मेदवारी दर्तासँगै प्रचारप्रसारको कामलाई तिव्र पारिएको छ ।

जनपत्रकार संगठन नेपालको तर्फबाट केन्द्रीय उपाध्यक्ष (महिला) पदमा उम्मेदवारी दिनुभएका दाना केसी, केन्द्रीय सदस्य (प्रदेश नम्बर २) का उम्मेदवार सुदर्शनराज पाण्डे, केन्द्रीय सदस्य कर्णाली प्रदेशका उम्मेदवार वसन्त विश्वकर्माले जिल्ला जिल्लामा मतदातासँग भेटघाट तथा छलफल गर्दै चुनावी प्रचारप्रसार गरिरहेकाे जानकारी दिनुभएको छ । प्रगतिशील, समावेशी र राष्ट्रियताप्रति प्रतिबद्ध व्यवसायिक पत्रकारको संयुक्त प्यानलकाे तर्फबाट उपाध्यक्ष (महिला) पदका उम्मेदवार दाना केसीले प्रचारप्रसारका क्रममा आज दाङको घोराहीमा मतदातासँग भेटघाट र चुनावी प्रचारप्रसार गर्नुभएको छ । जिल्लाको उम्मेदवारी दर्ताका लागि जमघट भएको सम्पूर्ण टोलीहरुसँग परिचय, भेटघाट र चुनावी प्रचारप्रसार गरिएको बताउनुभयो । यस्तै केन्द्रीय सदस्य प्रदेश २ का उम्मेदवार सुदर्शनराज पाण्डे पनि मतदातालाई भेट्दै चुनावी प्रचारप्रसारलाई तिब्रता दिइरहेको बताउनुभयो । उता कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिनुभएका वसन्त विश्वकर्माले पनि चुनावी प्रचारप्रसारमा नियमित खटिरहेको बताउनु भएको छ । कालिकोट, सुर्खेत लगायत विभिन्न जिल्लामा प्रचारप्रचार जारी रहेको जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघको जिल्लाको उम्मेदवारी दर्ता आइतबार सम्पन्न भएसँगै जिल्ला तहका उम्मेदवार पनि चुनावी प्रचारप्रसारमा लागिरहेका छन् । जिल्ला जिल्लामा पनि विभिन्न पदमा देशव्यापी संयुक्त प्यानलमा आवद्ध भएर जनपत्रकार संगठन नेपालको तर्फबाट उम्मेदवारी दिइएको छ । यसपटकको पत्रकारहरुको चुनाव प्रत्यक्ष प्रणालीमार्फत  केन्द्र, प्रदेश र जिल्लाको एकै साथ हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :