क्रान्तिकारी यातायात मजदुर संघको केन्द्रीय अध्यक्षमा सेन्चुरी

क्रान्तिकारी यातायात मजदुर संघको केन्द्रीय अध्यक्षमा सेन्चुरी

बुटवल : अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघको सातौँ राष्ट्रिय सम्मेलन बुटवलमा सम्पन्न भएको छ । सम्मेलनले श्याम सेन्चुरीको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा लालबहादुर तामाङ, महासचिवमा दीपेन्द्र घिमिरे र सचिवमा सहदेव सिंह र सदस्यमा दिनेश कुमार थारु, युवराज न्यौपाने, जीवन खनाललगायत रहेका छन् ।

शुक्रबार सम्पन्न सम्मेलनलाई सम्बोधन गर्दै नेकपा लुम्बिनी व्युरो सदस्य एवम् नवलपुर इन्चार्ज शरद ओलीले दलाल पुँजीपति वर्ग र नेपाली श्रमिक वर्गबीच नै मुख्य अन्तरविरोध रहेको भन्दै मजदुर वर्गको मुक्ति वैज्ञानिक समाजवादमार्फत हुने बताए । उनले मजदुर आन्दोलनको इतिहासमा नेतृत्वले कैयौ पटक धोका दिएपनि क्रान्ति नरोकिएको बताउँदै हरेक प्रतिक्रान्तिको जवाफ क्रान्तिले दिनुपर्ने बताए । साथै उनले पार्टी र सरकारले गरेको ३ बुँदे सहमतिलाई सरकारले तत्काल कार्यान्वयन गर्नुपर्ने भन्दै संसदीय व्यवस्थाको विकल्पका रुपमा वैज्ञानिक समाजवादको पक्षमा जनमत निर्माण गर्ने बताए ।

सम्मेलनमा नवनिर्वाचित अध्यक्ष श्याम सेन्चुरीले एकीकृत जनक्रान्तिको नेतृत्व मजदुर वर्गले गर्नुपर्ने बताउँदै त्यसका लागि सङ्गठनमा आवद्ध हुनुपर्ने बताए । जनक्रान्तिका महान सहिद तथा बेपत्ता योद्धा सङ्गठन नेपालका केन्द्रीय सचिव जया पौडेल र अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय सदस्य एवम् लुम्बिनी ब्युरो संयोजक खोमा तरामु मगरले शुभकामना मन्तव्य व्यक्त गर्दै विश्व समाजवादी आन्दोलनको इतिहासमा श्रमिक वर्गको नेतृत्व रहेको भन्दै यसलाई मजदुर आन्दोलनमा देखिएको अर्थवादविरुद्ध संघर्ष गर्नुपर्ने बताए । सम्मेलनमा देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षकहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :