पहाड पन्छाउने यात्रा

एउटा प्रसिद्ध चिनियाँ कथामा एकजना बूढो मान्छेले दुईवटा पहाडलाई कोदालोले खनेर पन्छाइरहेको दृश्य छ । त्यो देखेर एकजना ‘विद्वान्’ ले बूढो मान्छेलाई उपहास गर्दै भन्छ, ‘तिमी कस्ता मूर्ख मान्छे हौ, यसरी पहाड पन्छाएर कहिल्यै सकिन्छ त ? ती बूढा मान्छेले निर्धक्क जबाफ दिन्छन्, ‘सकिन्छ । मेरो पालामा नसकिए छोराका पालामा सकिन्छ । छोराका पालामा पनि नसकिए नातीका पालामा सकिन्छ किनभने यी पहाडहरू कहिल्यै बढ्दैनन् । जति खनेर पन्छायो, उति घट्दै जान्छन् । यसरी घट्दै जाँदा एक दिन अवश्य सकिन्छ ।’ ती बूढा मान्छे बाटो छेकेर उभिएको पहाड खनिरहन्छ । ती बूढा मान्छेको उच्च साहस, अटुट विश्वास, अविचल निष्ठा र अविराम सङ्घर्षले बाटो छेकेर उभिएका ती उच्च पहाडहरू एक दिन ढल्छन् । अर्थात् ती बूढा मान्छेको पहाड पन्छाउने सपना वास्तवमै पूरा हुन्छ र उसले आफूलाई मूर्ख नभएको सिद्ध गर्छन् ।

चिनियाँ जनवादी क्रान्ति सम्पन्न हुनुपूर्व (११ जुन, १९४५ मा) प्रकाशित चिनियाँ प्रसिद्ध कथा हो यो । यो कथालाई कमरेड माओ त्सेतुङले चिनियाँ कम्युनिस्ट पार्टीको सातौँ महाधिवेशन समापनका सन्दर्भमा आफ्ना कार्यकर्तालाई सुनाउनुभएको थियो । कथा निकै रोचक छ र नयाँ पुस्ताका लागि उत्तिकै प्रेरणादायी पनि । कथामा क्रान्तिकारीहरूलाई पहाड पन्छाउने मूर्ख मान्छेका रूपमा प्रस्तुत गरिएको छ । उत्तरी चीनको थाएहाङ र वाङ्उ नाउँका दुई ठूला पहाडहरूलाई सामन्तवाद र साम्राज्यवादको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ । मैले यहाँ यो रोचक प्रसङ्गलाई किन जोडेको हुँ भने क्रान्तिकारीहरूले क्रान्तिको बाटो छेकेर बसेका ठूला पहाडहरूलाई पन्छाउनु पर्नेछ । अर्थात् हामीले आफूलाई उत्तरी चीनमा बस्ने एउटा मूर्ख बूढो मान्छे साबित गर्नुछ । कमरेड माओ त्सेतुङले महाधिवेशनबाट कार्यक्षेत्रमा फर्किन लागेका कमरेडहरूलाई उत्साहित गर्न यो कथा उल्लेख गर्नुभएको थियो । अहिले हाम्रो अगाडि रहेका दुई ठूला पहाडहरू दलाल पुँजीवाद र साम्राज्यवादको शोषणकारी राज्यसत्तालाई पन्छाउनु पर्नेछ ।

हामीले यी पहाडहरू पन्छाउन नयाँ पार्टी निर्माण गर्यौँ । अर्थात् नेकपाको निर्माण गर्यौँ । यसक्रममा पाँच आधारलाई सुदृढ गर्दै चार क्षेत्रमा कार्यान्वयन गर्न कम्युनिस्ट स्कुलिङ चलायौँ । हाम्रो क्षेत्र लुम्बिनी र धौलागिरितिर थियो । अर्थात् हामी राज्यद्वारा घोषित र अघोषित प्रतिबन्धका पहाडहरूलाई चिर्दै सुनौलो आभा छरेर फैलिएको क्रान्तिको क्षितिजतर्फ झोलामा किताब बोकेर स्कुल अभियानमा निस्कियौँ । यो अभियानमा सयौँ कमरेडको सहभागिता रह्यो । अर्थात् यो पर्वत पन्छाउन निस्किएका यात्रीहरूको एउटा लङमार्च थियो । यो यात्रा एकीकृत जनक्रान्तिलाई तेजोबध गर्ने एउटा वैचारिक म्याराथन थियो । क्रान्तिका विरुद्ध बन्दुक बोकेर फासिवादी दमनमा उत्रिएको जनविरोधी र शोषणकारी राज्यसत्ताको षड्यन्त्रलाई चिरेर हामीले आफूलाई मूर्ख सिद्ध गर्नुपर्ने थियो । त्यसकारण हामी भिन्न यात्रामा निस्कियौँ– एउटा गहन जिम्मेवारी बोकेर । हामीलाई थाहा छ, हाम्रो हृदयमा सपना छउन्जेल, आगो रहुन्जेल यात्रा रोकिँदैन । निभेको छैन रगतसित गाँसिएका सपनाहरू । यही अधुरा सपनाहरूले हामीलाई दोहोर्यायो त्यो सपनाको भन्ज्याङतिर । अर्थात् जनताको गाउँबस्तीतिर । यही क्रममा भए कैयौँ चिन्तन र वैचारिक विमर्शहरू । स्कुल अभियानका क्रममा कयौँ कमरेडसित भएका ती महत्वपूर्ण विमर्शहरूले क्रान्तिलाई अगाडि बढाउन प्रेरणा दिइरहेको छ । ती विमर्शहरूले पार्टीलाई थप सुदृढ बनाएको छ । यो अहिले निरन्तर जारी छ र अझ घनीभूत बनाउँदै जानुपर्छ ।

एउटा वास्तविक मानवताको खोजीमा जहाँ दुष्टहरूको हैकम हुन्न, शोषकहरूको डसाइ हुन्न र दुर्भिक्ष हराएको हुन्छ । अन्यायका रातहरू फेरिएका हुन्छन् । मान्छेबीच समान व्यवहार र स्वतन्त्रताको धुन गुन्जिन्छ । पसिनाको मूल्य जहाँ सर्वाधिक माथि हुन्छ । यस्तै आकाङ्क्षा र स्वप्नहरू सजाएर हामी निस्किएका थियौँ यो पार्टी निर्माण गर्न । दलाल, ठग र बेइमानहरूका विरुद्ध यो यात्रा जारी छ । एउटा उदात्त स्वतन्त्रता प्राप्त गर्ने आकाङ्क्षा छ जनताको हृदयमा । दुस्मनका जेलनेल, हिरासत, यातनाका असीमित यन्त्रणा र चक्रवात झेल्ने आँटको चट्टानी छाती छ हामीसँग । राज्यको घोषित÷अघोषित प्रतिबन्ध र बन्दुकको घेराबन्दीले क्रान्ति रोकिएन । बरु सहरदेखि गाउँसम्म मानव जङ्गलभित्र पस्दै गएको छ । पार्टीभित्र शुद्धीकरण तीव्र हुँदै गएको छ र यसले पार्टी सङ्गठनलाई थप सुदृढ बनाउँदै लगेको छ । हामीलाई अझ निष्ठामा दृढ बनाउँदै लगेको छ । मालेमावादी सिद्धान्त र एकीकृत जनक्रान्तिको कार्यदिशा व्यवहारमा प्रयोग हुँदै गएको छ । अर्कोतिर दलाल राज्यसत्ताको वर्गीय शोषणविरुद्ध चौतर्फी घृणा पोखिएको छ । विश्वदृष्टिकोणबारे नयाँ बहस चलेको छ र विचारको आभा थप उज्यालिँदै गएको छ । पार्टी निर्माणका क्रममा चलेको कम्युनिस्ट स्कुल यसैमा केन्द्रित छ र जारी छ ।

‘कम्युनिस्ट स्कुल’ कम्युनिस्ट जीवनको आधार निर्माण गर्ने विश्वविद्यालय हो । पार्टी र सिङ्गो समाजलाई कम्युनिस्टकरण गर्ने पाठशाला हो । अहिले हामी मालेमावादको रक्षा, प्रयोग र विकासको प्रक्रियामा छौँ । पार्टीको आठौँ महाधिवेशनले पुरानो स्कुलमा क्रमभङ्ग गरी नयाँ स्कुल प्रारम्भ गरेको छ र एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशालाई जनताबीच लैजान निर्देशित गरेको छ । पुरानो स्कुल भनेको संशोधनवाद, नवसंशोधनवाद र जडसूत्रवादी स्कुल हो । नयाँ स्कुल भनेको ‘संसारलाई बुझ्ने र बदल्ने मात्र हैन, मुख्य कुरा बदलिएको वस्तुको रक्षा र विकास गर्ने’ दार्शनिक मान्यतामा विकसित भएको क्रान्तिकारी स्कुल हो । त्यसकारण ‘कम्युनिस्ट स्कुल’ विश्वदृष्टिकोणसँग सम्बन्धित विश्वविद्यालय हो ।

कम्युनिस्ट स्कुल अभियान प्रतिबन्धको अवधिमा करिब ३० महिना लगातार चल्यो । धनरूप–सनराइज केन्द्रीय स्कुलबाट सुरु भएको यो अभियानमा हामीले आफ्नो कार्यक्षेत्रमा दुस्मनका सयौँ अवरोध र घेराबन्दीहरूलाई छिचोल्दै स्कुलहरू सानदार रूपमा सम्पन्न गर्यौँ । लुम्बिनी, गण्डक र धौलागिरि क्षेत्रमा करिब ३०० भन्दा बढी प्रतिनिधिमूलक कमरेड सहभागी भयौँ । कम्युनिस्ट स्कुलका बिषयहरू थिए– दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, सौन्दर्यशास्त्र, वैज्ञानिक समाजवादअन्तर्गत– सैन्य विज्ञान, सूचना सञ्चार तथा विज्ञान र प्रविधि, कम्युनिस्ट र विश्व–दृष्टिकोणबारे, ब्रह्माण्ड र मानव समाजबारे, सङ्गठनात्मक सिद्धान्त, एकीकृत जनक्रान्ति र वर्गसङ्घर्षबारे । केन्द्रीय स्कुल विभागले तीन तहको पाठ्यक्रम निर्माण गरेर स्कुललाई अगाडि बढायो । स्कुलसित सम्बन्धित विभिन्न अध्ययन सामग्रीहरूको अनुवाद र प्रकाशनलाई व्यवस्थित गर्न सुरु गर्यो । स्कुल अभियानले देशभरका कमरेडहरूमा नयाँ उत्साह, जोशजाँगर, राजनीतिक वैचारिक बिषयहरूप्रति जागरुक, सामूहिक अध्ययन संस्कृति र अन्तरक्रियाको विकास, सिर्जनशील र क्रान्तिप्रति प्रतिबद्ध बनायो । अर्थात् यसले सिद्धान्त र व्यवहारलाई जोड्ने काम गर्यो । यो अवधिमा पार्टीले प्रतिरोध सङ्घर्षलाई पनि तीव्र बनाउँदै लग्यो । अर्कोतिर दुस्मनले हाम्रा शुभचिन्तक, समर्थक, नेता–कार्यकर्तालाई धरपकड गर्ने, मध्यरातमा घरमा छापा मार्ने, मृत्युसँग लडिरहेका कमरेडहरूलाई अस्पतालबाटै गिरफ्तार गर्ने, प्रहरी अप्रेसन, घेराबन्दी गर्ने, पक्राउ गर्ने, झूट्टा मुद्दा लगाउने, अदालतबाट पुनः पक्राउ गरी नक्कली मुद्दा खडा गर्ने र विभिन्न जिल्ला घुमाउने, हिरासत, जेलनेलमा पाशविक यातना दिने, खुट्टामा गोली हान्ने, हातखुट्टा भाँच्नेजस्ता निकृष्ट हर्कतहरू गर्यो । यसक्रममा हाम्रा १२ जना कमरेडहरूको सहादत भयो । कुमार, सनराइज, महान, दीपेन्द्र, निरन्तर, प्रज्वल, धनरूप, निरकुमार, राजु, रामकुमार, राजेश, जगत्जस्ता महान् सहिदहरूका ऊर्जा र निष्ठा, पहाडजस्तो चट्टानी आस्था, कहिल्यै विस्मृत हुन नसक्ने त्यो उत्सर्ग, त्यो बलिदानी रगतको प्रगाढ रङ, त्यो सहर्ष जीवनका लागि रोजिएको मृत्युञ्जयी सपना अहिले झन् शिखरतिर चुलिँदै गएको छ । त्यो उदात्त, भव्य र सौन्दर्यबिम्ब बनेर जनताका हृदयमा सल्बलाएको छ । त्यसैले क्रान्ति ढलेको छैन, कहिल्यै ढल्दैन पनि । पूरा भएको छैन सहिदले बगाएको रगतको सपना अर्थात् बिर्सिन सकिन्न त्यो गौरवपूर्ण बलिदानी गाथा ।

अहिले सरकारसित भएको ३ बुँदे सहमतिपछि पनि क्रान्ति भिन्न ढङ्गले जारी छ । वार्ता पनि सङ्घर्षको एउटा मोर्चा हो । वार्ताबारे कमरेड लेनिनले भन्नुभएजस्तै ‘एउटा क्रान्तिकारी पार्टीका लागि सबै किसिमका सम्झौता अस्वीकार गर्नु असम्भव छ, बरु सम्झौताहरू अनिवार्य छन् भने यी सम्झौताहरूमा आफ्ना सिद्धान्तहरू, आफ्नो वर्ग, आफ्नो क्रान्तिकारी उद्देश्य, क्रान्तिको तयारी गर्ने र क्रान्तिको विजयका लागि जनसमूहलाई प्रशिक्षित गर्दै लैजाने कार्यभारप्रति आफ्नो निष्ठा कायम राख्नुपर्छ ।’ (सम्झौताहरूबारे, १९१७) । छुङकिङ सम्झौता–वार्तापछि येनान फर्किएर कार्यकर्तालाई निर्देशन दिँदै कमरेड माओ त्सेतुङले भन्नुभएको थियो, ‘हामी कम्युनिस्टहरू बिउजस्तै हौँ र जनता माटोजस्तै हुन् । जहाँसुकै भए पनि हामीले जनतासित एकताबद्ध हुनैपर्छ, तिनको माझमा जरा गाड्नु र फुल्नुपर्छ ।’ प्रतिक्रियावादीहरूले जतिसुकै दुत्कारे पनि हामीले महान् गुरुहरू कमरेड लेनिन र माओको भनाइलाई अनुसरण र आत्मसात गर्नुपर्छ । हामी विचारमा सतिसाल भएर उभियौँ भने क्रान्ति रोकिनेछैन । क्रान्ति कसैको धारेहातले रोकिनेवाला छैन । झिँगाहरूले सराप्दै गर्छन्– क्रान्तिलाई, तर तिनका सरापले डिङ्गा मर्नेवाला छैन । ढल्दैनन् यी चट्टानी छातीहरू– आवेग, आक्रोश र नौरङ्गी अवसरवादका स्वार्थी शब्दबमनले । षड्यन्त्रका बान्ताले क्रान्तिका सपना पखाल्न सक्दैन । दमनको चक्रवाती आँधीले क्रान्ति पराजित भएको इतिहास छैन । हामी मृत्यु रोजेर आगो ओकल्न निस्किएका मान्छे हौँ । महासचिव कमरेड विप्लवले भनेजस्तै सत्य बुझेपछि मृत्यु पनि प्रिय हुँदोरहेछ । यो महान् यात्रामा सहरदेखि गाउँसम्म जनताको रगत, श्रम, आँसु, पसिना सबै मिसिएको छ । चिनियाँ कथामा भनिएझैँ कसले रोक्न सक्छ यो पहाड पन्छाउने यात्रा ? कसले छेक्न सक्छ क्रान्तिको अविराम सपना ? त्यो त हुटिट्याउँले आकाश थाम्ने व्यर्थको सपना मात्रै हो किनकि हामीसित उदात्त सपना छ, हृदयमा बलिदानीपूर्ण भावना छ । अर्थात् यो आगोको बीज हो, दुष्टहरूको दरबारमा सल्किँदै जान्छ । कूपमण्डुकहरूले उत्सर्गको विराट आकाश कसरी देख्न सक्छन् र ! क्रान्ति, बलिदानको उचाइ र त्यागको गहिराइ स्वार्थका तुच्छ अणुहरूले आँकलन गर्न सक्दैनन् । कसैलाई दासताका विरुद्ध ब्युँझेको स्वाभिमान अप्रिय लाग्न सक्छ तर सत्य डग्दैन र ढल्दैन । हाम्रो पार्टी निर्माण र स्कुल अभियान यसैमा केन्द्रित थियो र छ ।

सत्यको निरूपण र जीवनको सत्यबोध गर्ने पाठशाला हो कम्युनिस्ट स्कुल अभियान । हामीले एकातिर असत्य, बेइमान र निशाचारहरूविरूद्व सङ्घर्ष गर्न विचारधारात्मक कम्युनिस्ट पाठशाला चलायौँ । अर्कोतिर महान् सहिदहरूको बलिदानीपूर्ण उत्सर्गले क्रान्ति झन्–झन् प्रिय, औचित्यपूर्ण र आलोकित हुँदै गयो । वीरहरूको अदम्य साहसले खन्दै गरेको यो पथको गन्तव्यमा नपुग्दासम्म क्रान्ति रोकिनेछैन । अहिले दलालहरूको हिमप्रपात गरिब झुप्राहरूमाथि बर्सिन रोकिएको छैन । गरिबका झुप्राहरूमा आइसकेकोे छैन वसन्तको ऋतुउत्सव । अहिले वार्तापछि गाउँबस्तीहरूमा क्रान्तिको नयाँ लहर आएको छ भने दलालहरूको श्वेतक्षेत्रमा नयाँ भूकम्पन । अन्तिम गन्तव्यमा नपुग्दासम्म मेटिनेछैन क्रान्तिको गरिमाबोध । एउटा क्रान्ति असफल हुनसक्छ तर यसको ऐतिहासिक मूल्यबोध समाप्त हुन सक्दैन । एउटा क्रान्तिकारी ढल्नसक्छ तर उसले देखेको सपना ढल्दैन । दुईचारजना गद्दारहरू सडेगले भन्दैमा कसैले क्रान्ति ढलेको देख्छ भने त्योभन्दा मूर्ख अरु के हुन सक्छ ?

चिनियाँ कथामा भनेजस्तै अहिले हाम्रो जिम्मेवारी भनेको धर्मराउँदै गएको दलाल पुँजीपति वर्गको शोषणकारी राज्यसत्ताविरुद्धको सङ्घर्षलाई तेजबोध गर्नु हो । मालेमावादी सिद्धान्त र पार्टी कार्यदिशाको प्रचार र त्यसलाई लागू गर्न तमाम पार्टी सदस्य र श्रमजीवी वर्गको बीचमा पुग्नु हो । हामी आआफ्नो कार्यक्षेत्र र मोर्चाहरूमा खटेर पार्टी कार्यदिशाको प्रचार र यसबारे जनतालाई प्रशिक्षित गर्ने, विश्वास जगाउने र वर्गदुस्मनका विरुद्ध चेतना जागृत गराउनु हो । विगतका स्कुलहरूले क्रान्तिको प्रचार त गर्यो तर ती कतिले पञ्चायतको फेरो समाए, कति संसदीय व्यवस्थामा विसर्जित हुन पुगे । उनीहरू अहिले विगतप्रति पश्चाताप गरिरहेका छन् । हामीले यी पुराना स्कुलहरू भङ्ग गरेर नयाँ कम्युनिस्ट स्कुल चलायौँ र पार्टीलाई नयाँ जीवन दियौँ । अर्थात् दुनियाँ बदल्ने यो अभियानमा क्रान्तिको बाटो छेकेर उभिएका अजङ्ग पहाडहरू पन्छाउँदै अविराम अघि बढिरहेको छ । र, यो यात्रा जनताका सपनाहरू पुरा नहुँदासम्म अविच्छिन्न अगाडी बढिरहनेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :