अखिल (क्रान्तिकारी) भक्तपुरको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा बम

अखिल (क्रान्तिकारी) भक्तपुरको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा बम

काठमाडौँ : अखिल (क्रान्तिकारी) भक्तपुरको १७ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले ललितजङ बमको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

‘वैज्ञानिक समाजवादी शिक्षा प्राप्तिका लागि सम्पूर्ण विद्यार्थीहरुलाई एकिकृत जनक्रान्तिमा आह्वान, समग्र शैक्षिक क्षेत्रमा देखिएको माफियाकरण, निजीकरण र दलालीकरणका विरुद्ध १७ औँ जिल्ला सम्मेलन’ भन्ने नारासहित सम्मेलन सम्पन्न्न भएको हो ।

सम्मेलनले समितिको उपाध्यक्षमा अशोक महतारा, सचिवमा घनश्याम खड्का, सहसचिवमा हिम्मत परियार र कोषाध्क्षमा भगवती ओलीलाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । सम्मेलनले जिल्ला संयोजक ललितजङ बमले प्रस्ताव गरेको राजनीतिक प्रतिवेदनसमेत सर्वसम्मतले पारित गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका संगठनका केन्द्रीय महासचिव प्रकाश शाहीले शैक्षिक माफियाहरुका विरुद्धमा अखिल क्रान्तिकारीले ठूलो संघर्ष गर्नुपर्ने अबस्था आएको बताए । उनले राज्यले दुई दर्ताको नागरिक उत्पादन गरेको भन्दै यसको अन्त्यका लागि जस्तो सुकै मूल्य चुकाउन पनि तयार रहन विद्यार्थीहरुलाई अपिल गरे ।

सरकारले नेपाल कम्युनिस्ट पार्टीसँग गरेको सहमतिलाई यथासक्य कार्यान्वग गर्न आग्रहसमेत शाहीले गरे । ‘सम्झौता भएको एक महिना हुँदासमेत पक्राउ परेका नेता कार्यकर्ता अझैँ रिहा गर्न सरकारले कुनैपनि पहल गरेको छैन’ उनले भने, ‘सम्झौता कार्यान्वयनमा सरकारले इमानदारिता देखावस् । अरुलाई दिए जसरी हामीलाई धोका नदिइयोस् ।’

कार्यक्रममा भक्तपुर जिल्ला इन्चार्ज विजय, सेक्रेटरी सुजन, अखिल क्रान्तिकारीका कोषाध्यक्ष नरेन्द विक, केन्द्रीय सचिवालय सदस्य पुष्पराज न्यौपाने लगायतको उपस्थिति रहेको थियो । सम्मेलनमा पाँच सयबढी क्रान्तिकारी विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :