जेल विद्रोहको ऐतिहासिक महत्व

जेल विद्रोहको ऐतिहासिक महत्व

इतिहासका विभिन्न कालखण्डमा निरङ्कुश शासनसत्ताका विरुद्ध समानतामूलक नयाँ राज्यव्यवस्था निर्माण गर्न ठूल्ठूला सचेत र साहसिक विद्रोहहरू भएका छन् । नेपालको राजनीतिक इतिहासमा पनि २०५७ साल चैत १७ गते महिलाहरूले जेल विद्रोह गरेर ऐतिहासिक कीर्तिमान राखेका छन् । त्यसैले यो दिन क्रान्तिको इतिहासमा एउटा गौरवशली दिवस बनेर रहेको छ । जनयुद्ध लडिरहेको तत्कालीन नेकपा (माओवादी) मा आबद्ध क्रान्तिकारी महिला शिलु, कमला, मीना, एन्जिला, सन्जु र रीता २०५७ सालमा आजैको दिन गोरखा जेलमा सुरुङ खनेर बाहिरिएका थिए । वर्गमुक्तिका लागि जीवनलाई हत्केलामा राखेर महिलाहरूले जेल ब्रेक गर्दै साहस र शौर्य प्रदर्शन गरेको उक्त दिनलाई सम्मान गर्दै जेल ब्रेक दिवस मनाइएको छ । नेपालमा महिलाले जेल ब्रेक गरेको यो नै पहिलो साहसिक विद्रोहको घटना भएकाले पनि यो दिन विशेष दिन बनेको छ ।

दासहरूका नायक स्पार्टाकसले दासमालिकका विरुद्ध गरेको विद्रोहदेखि एकीकृत जनक्रान्तिसम्म आइपुग्दा नयाँ मानवसभ्यता निर्माणका लागि मानिसले विद्रोहहरूमा पनि कीर्तिमान राखेको छ । कतिपय विद्रोहको नेतृत्व पुरुषले, कतिपयको नेतृत्व महिलाले र अधिकांश विद्रोहको नेतृत्व सर्वहारा/श्रमिक वर्गले सामूहिक र सचेत रूपमा गरेका उदाहरण छन् । कति विद्रोह सफल भएका छन् भने कतिपय विद्रोह असफल पनि भएका छन् तर सफल वा असफल जे भए पनि इतिहास निर्माणमा विद्रोहको छुट्टै गौरवशाली महत्व छ । विद्रोह मानवसभ्यताको ऐतिहासिक र अपरिहार्य अङ्ग बनेको छ । हरेक विद्रोह मानवसभ्यता निर्माणका लागि विशेष र ऐतिहासिक दिवसका रूपमा स्थापित बनेका छन् । यो दिन विद्रोहलाई हृदयंगम गर्ने दिन हो ।

मानिस विद्यमान अवस्था र व्यवस्थासँग असन्तुष्ट भएपछि विद्रोह गर्छ । एउटा बालकले पेट रित्तिएपछि आमासँग विद्रोह गर्छ, रुन्छ र स्तनपान गर्ने अवसर प्राप्त गर्छ । त्यस्तै आफू र आफ्नो वर्गको मुक्तिका लागि मानिसले निरन्तर विद्रोह गर्दै आएको छ । जीवनको एउटा अपरिहार्य अङ्ग बनिसकेकाले विद्रोहलाई अधिकार मानिन्छ ।

राज्यसत्ताका लागि भएका विद्रोहहरू र त्यसको नेतृत्व गर्ने नायकहरूको अमर इतिहास छ । फ्रान्समा कम्युनार्डहरूले तत्कालीन आततायी सत्ताका विरुद्ध गरेको विद्रोह होस् वा अङ्ग्रेज सामज्यावादी अतिक्रमण र हस्तक्षेपका विरुद्ध नेपाली वीराङ्गनाहरूले गरेको विद्रोह होस्, रुसमा अक्टोबर क्रान्ति तथा चीनमा नयाँ जनवादी क्रान्तिताका योद्धाहरूले गरेका विद्रोहहरू हुन् वा साम्राज्यवादी जापानी/अमेरिकी अतिक्रमणका विरुद्ध जनगणतन्त्र कोरियाका महिलाहरूले गरेका विद्रोह किन नहुन्, यी विद्रोहहरूको गौरवशाली इतिहास निर्माण भएको छ । ती विद्रोहहरूमा जेनी, क्रुप्सकाया, रोजा लक्जेम्बर्ग, चियाङचिङ, ताओ चिङ, याङकाई हुईलगायत विद्रोही महिलाहरूले उठाएको विद्रोहको झन्डाको इतिहास कम गौरवशाली छैन । ती विद्रोहहरू संसारकै सर्वहारावर्गीय क्रान्तिका लागि प्रेरक बनेका छन् । नेपालमा भएका विद्रोह पनि यिनै विद्रोहका नयाँ शृङ्खला हुन् ।

नेपालमा पनि लखन थापादेखि कृष्णलाल अधिकारीसम्मका विद्रोहहरूले नयाँ गौरवगाथा कायम गरेका छन् । नेपालमा योगमायाको विद्रोहलाई महिला विद्रोहको अगुवा विद्रोह मानिन्छ तर त्यसको शैलीको भने विरोध भएको छ । निरङ्कुश राणा शासनका विरुद्ध योगमायाले सयभन्दा बढी महिला र पुरुषलाई लिएर गरेको सामूहिक जल समाधिको विद्रोह ऐतिहासिक छ । विसं १९९७ सालको विद्रोहले चार सहिद जन्मायो भने राणा शासनको जग हल्लाइदियो ।

२०५२ सालमा नेपालमा जनयुद्ध आरम्भ भएपछि सामन्ती सत्ताका विरुद्ध साहस, त्याग, शौर्य, वीरता र बलिदानका ऐतिहासिक कीर्तिमान कायम भएका छन् । २०२८ सालको झापा विद्रोहलाई नेपालका राजनीतिक इतिहासको एउटा शक्तिशाली विद्रोह मानिन्छ । २०५२ सालमा संसदीय सामन्ती सत्ताका विरुद्ध तत्कालीन नेकपा (माओवादी) ले सशस्त्र विद्रोह आरम्भ गरेको थियो । महान् जनयुद्ध आरम्भ भएपछि देशभर विद्रोहका घटनाले ऐतिहासिक महत्व र कीर्तिमान राखेका छन् । २०५३ सालमा रामेछापको बेथान मोर्चामा दिलमाया बम्जनले प्राप्त गरेको बलिदान होस् वा रोल्पामा कुमारी बुढाहरूले आँखा निकालेर जिउँदै आगो लगाइँदासमेत पार्टीको गोपनीयता जोगाएर गौरवशाली मृत्युवरण गर्दाको विद्रोह होस्, कालीकोटमा निहत्था महिलाले जनतामाथि दमन गर्न आएको सशस्त्र प्रहरी जत्थाको हातको हतियार खोसेर लखेटेको ऐतिहासिक विद्रोहको घटना नै किन नहोस्, विश्वराजनीतिक आन्दोलनमै यी विद्रोहहरू स्थापित छन् । २०५५ सालमा काभ्रे अनेकोटमा सातजना जनकलाकारले निहत्था अवस्थामा सशस्त्र प्रहरी जत्थासँग गरेको विद्रोह र बलिदानी विद्रोहको अर्को उचाइ थियो । २०५७ साल चैत १७ गते गोरखा जेलका ६ जना बन्दी महिलाहरूले जेल विद्रोह गरेको घटना पनि विश्वचर्चित विद्रोह हो । यो ऐतिहासिक विद्रोहले चुलो र चौकोमा सीमित बनाएर दोस्रो दर्जाका नागरिकका रूपमा राखिएका महिलाहरू पनि श्रमिक सर्वहारा वर्गको मुक्तिका लागि जीवन दाउमा राखेर विद्रोह गर्न सफल छन् भन्ने पाठ सिकाएको थियो । त्यसैले यो विद्रोह एउटा स्मरणीय र अनुकरणीय इतिहास बनेको छ । यिनै ऐतिहासिक विद्रोहबाट पाठ सिक्दै जनयुद्धमा हजारौँ महिला जनमुक्ति सेनामा लामबद्ध बने र कमान्डर/कमिसारसम्म बने । हाँसीहाँसी सहिद बने । बलिदान गर्नुलाई गौरव सम्झिए ।

जेल विद्रोह साहस र शौर्यको प्रतीक भएकाले जनयुद्ध दिवस, सांस्कृतिक प्रतिरोध दिवस, बेथान वीरता दिवस, दोरम्बा हत्याकाण्ड स्मृति दिवस, सहिद सप्ताहलगायत महान् जनयुद्धले निर्माण गरेका नयाँ दिवसहरूको कोटीमा स्थापित बनेको छ । क्रान्तिकारीहरूले यो गौरवशाली दिनलाई एक प्रेरक दिनका रूपमा आत्मसात गर्नुपर्छ र एकीकृत जनक्रान्तिलाई वैज्ञानिक समाजवाद स्थापनाका लागि उत्पे्ररणाका रूपमा लिनुपर्छ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!