बर्दियाका बस्ती जगाउँदै भेक सांस्कृतिक परिवार

बर्दियाका बस्ती जगाउँदै भेक सांस्कृतिक परिवार

बढैयाताल : बर्दियाका बस्तीहरूमा भेक सांस्कृतिक परिवारले जनवादी सांस्कृतिक कार्यक्रममार्फत जनता जगाइरहेको छ । चैत १० गते बर्दिया जिल्ला प्रवेश गरी बढैयाताल गाउँपालिकाबाट आफ्नो कलामार्फत जनसमुदायमा चेतना छर्न सुरु गरेको सांस्कृतिक परिवारले आधा दर्जनभन्दा बढी ठाउँमा कार्यक्रम प्रस्तुत गरिसकेको छ ।

भेक सांस्कृतिक परिवारका कलाकारले सोमबार बढैयाताल गाउँपालिका ४ गन्धर्व नमुना बस्तीमा सांस्कृतिक कार्यक्रमसहित जनसभा सम्पन्न गरेको जानकारी नेकपा बर्दिया इन्चार्ज विकासले दिएका छन् । कार्यक्रममा भेरी–कर्णाली ब्युरो कार्यालय सचिव सङ्गम, बर्दिया इन्चार्ज विकासलगायतले सम्बोधन गरेका थिए ।

कार्यालय सचिव सङ्गमले अन्याय, अत्याचार र विभेदले समाजलाई कुरूप बनाएकाले सामाजिक रूपान्तरणका लागि सञ्चालित क्रान्तिको नेतृत्व आफ्नो पार्टीले एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत गरिरहेको बताए । सम्पूर्ण जनसमुदायलाई एकीकृत जनक्रान्तिको झन्डामुनि गोलबन्द हुन आह्वान गर्दै उनले आफ्नो पार्टी वैज्ञानिक समाजवाद स्थापना गर्न सङ्घर्षरत रहेको उल्लेख गरे ।

बर्दिया इन्चार्ज विकासले महान् जनयुद्धका क्रममा धेरै बलिदान गर्ने र राज्यद्वारा नागरिक बेपत्ता पारिएको जिल्ला बर्दिया रहेकाले एकीकृत जनक्रान्तिमा पनि यस जिल्लाको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरे ।

एरिया इन्चार्ज रमेशको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी भेक ब्युरो संयोजक शान्ति विक, जिल्ला सदस्य शक्ति, केशरसिंह, दलित अगुवा कैलाश, सहिद परिवार राजु विक, कलाकार संयोजक सभ्यतालगायत अतिथि रहेका थिए ।

जनकलाकारहरुले बेजोड जनवादी गीत, सङ्गीत र नृत्यका माध्यमबाट मुक्ति सङ्घर्षका निम्ति आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :