नेपालले ३७ वर्षपछि थ्री नेसन्स कपको उपाधि जित्यो

बंगलादेशलाई २–१ गोल अन्तरले हराउँदै नेपाल उपाधि चुम्न सफल

नेपालले ३७ वर्षपछि थ्री नेसन्स कपको उपाधि जित्यो

काठमाडौँ : नेपालले ३७ वर्षपछि थ्री नेसन्स कपको उपाधि जितेको छ । घरेलु मैदानमा दर्शको साथ पाएको नेपालले फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले हराउँदै उपाधि चुम्न सफल भएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलको पहिलो हाफमा नेपालले बंगलादेशविरुद्ध २–० गोल अन्तरको अग्रता लिएको थियो । खेलको १८ औँ मिनेटमा संजोग राई र ४१ औँ मिनेटमा विशाल राईले गोल गर्दै नेपाललाई २–० गोल अन्तरको अग्रता दिलाएका थिए ।

खेलको दोस्रो हाफको ८२ औँ मिनेटमा बंगलादेशका १० नम्बरका खेलाडी मामुबुल रहमानले गोल गर्दै २–१ को स्थितिमा पुगेको थियो । पहिलो हाफ निकै शानदार खेलेको नेपालको प्रदर्शन दोस्रो हाफमा केही फितलो देखिएको थियो ।

निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा दुबै टोलीले गोल गर्ने अवसर पाए पनि थप गोल गर्न नसक्दा नेपाल २–१ गोल अन्तरले विजयी भएको हो । खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली, कलाकारहरु र फुटबल प्रेमी नेपालीहरुको उपस्थिति उल्लेख्य रहेको थियो । नेपाली खेलाडीले पहिलो गोल गर्दा नै प्रधानमन्त्री लगायत दर्शकहरु निकै उत्साहित बनेका थिए ।

शुरुवाती ११ मा नेपाली खेलाडीका तर्फबाट गोलरक्षकमा किरणकुमार चेम्जोङ, डिफेन्डरमा रन्जित धिमाल, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी र मिडफिल्डरमा त्रिदेव गुरुङ, तेज तामाङ, सन्जोग राई, विशाल राई, सुनील बल थिए भने फरवार्डमा अन्जन विष्ट मैदानमा उत्रिएका थिए ।

थ्री नेसन्स कप प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेको थियो भने बंगलादेश शीर्ष स्थानमा रहेर फाइनल पुगेको थियो । लिग चरणको भेटमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए ।

लिग चरणका खेलमा कुनै पनि गोल नगरी फाइनल प्रवेश गरेको नेपालले फाइनल खेलमा भने २ गोल गर्न सफल भएको हो । प्रतियोगिताको पहिलो खेलमा बंगलादेशले किर्गिस्तानलाई १–० गोल अन्तरले पराजित गरेको थियो भने नेपालले किर्गिस्तानसँग पनि बराबरी खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :