होटेल तथा रेस्टुराँ श्रमिक सङ्घको सातौं राष्ट्रिय सम्मेलन सम्पन्न

होटेल तथा रेस्टुराँ श्रमिक सङ्घको सातौं राष्ट्रिय सम्मेलन सम्पन्न

गोरखा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी होटेल तथा रेस्टुराँ श्रमिक सङ्घको सातौँ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले सरोज न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

गोरखाको गोरखा नगरपालिकास्थित अबुवामा आइतबार सम्पन्न सम्मेलनमा नेपाल कम्युनिस्ट पार्टी गण्डक ब्युरोका कार्यालय सचिव रूपेश प्रमुख अतिथि थिए । सम्मेलनलाई सम्बोधन गर्दै रूपेशले संसदीय व्यवस्था पूर्ण रूपमा असफल भएकाले यसबाट मजदुर र श्रमिक वर्गको अधिकार प्राप्त नहुने बताए ।

सबैखाले समस्याको समाधान गर्न संसदीय व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनैपर्ने आवश्यकता रहेको पनि रुपेशले बताए । उनले नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको वार्ताका विषयमा बाहिर विभिन्न किसिमका भ्रम छर्न खोजिएको भन्दै त्यसप्रकारका हल्ला र भ्रमका पछाडि नलाग्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा पूर्वसभासद माया चेपाङ, नेकपा गोरखा जिल्ला इन्चार्ज कपिल भट्ट ‘प्रतीक’ र नेकपा गोरखा सेक्रेटरी काजी गुरुङ अतिथि थिए । राष्ट्रिय सम्मेलन आयोजन समितिका संयोजक सरोज न्यौपानेको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :