बर्दियाको गुलरियामा सांस्कृतिक कार्यक्रम

बर्दियाको गुलरियामा सांस्कृतिक कार्यक्रम

गुलरिया : नेपाल कम्युनिस्ट पार्टी बर्दियाको आयोजनामा गुलरिया नगरपालिकाको संगम बस्तिमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । भेरी कणाली व्युरो कार्यालय सचिव संगमको प्रमुख आतिथ्यमा सांस्कृतिक कार्यक्रम सहित जनसभा सम्पन्न भएको हो । जनसभा तथा सांस्कृतिक कार्यक्रमलाई प्रमुख अतिथि संगम, बर्दिया जिल्ला इन्चार्ज विकास लगायतले सम्बोधन गरेका थिए ।

सभालाई सम्बोधन गर्दै व्युरो कार्यालय सचिव संगमले दलाल संसदीय व्यवस्थाका कारण देशमा अस्थिरता र भ्रष्टाचार मौलाएको भन्दै सुशासन र समृद्धिका लागि संसदीय व्यवस्थाको अन्त्य गर्दै वैज्ञानिक समाजवाद आवश्यक रहेको बताए । उनले सरकार र आफ्नो पार्टीको बीचमा राजनीतिक समस्यालाई शान्तिपूर्ण रूपमा वार्ता र सम्वाद मार्फत समाधान गर्ने सहमति भएको भन्दै अबको वार्तामा व्यवस्था परिवर्तनको विषयमा छलफल हुने बताए । नेपालमा नेता चुन्ने अधिकार जनताले पाए पनि व्यवस्था चुन्ने अधिकार नपाएको भन्दै देशमा कस्तो शासन व्यवस्था रहने भन्ने अधिकार जनतालाई दिनुपर्ने आफ्नो पार्टीको धारणा रहेको संगमले बताएका थिए ।

सभालाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज विकासले बर्दिया जिल्लाले सामन्तवादी राज्य परिवर्तनको आन्दोलनमा महत्वपूर्ण भुमिका निर्वाह गरेको स्मरण गर्दै वैज्ञानिक समाजवाद स्थापनाको संघर्षमा समेत महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । उनले आफ्नो पार्टीले अब शान्तिपूर्ण रूपमा भ्रष्टाचार, कालोबजारी, महंगी, तथा दलालीका विरुद्ध संघर्ष गर्ने बताउँदै संघर्षमा साथ दिन जनतालाई अनुरोध गरे । राष्ट्रघात र भ्रष्टाचार अन्त्य नगरी जनताले सुख नपाउने भन्दै भ्रष्टाचार र राष्ट्रघात विरुद्ध सशक्त आन्दोलनमा उत्रने घोषणा गरे । सभामा संगम बस्तिका तर्फबाट विचारले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारी भेक व्युरो संयोजक शान्ति बिक भेक सांस्कृतिक परिवार संयोजक सभ्यता, मधेशी राष्ट्रिय मुक्ति मोर्चाका शुरेश रैदास, संगम बस्तिका प्रतिनिधि विचार सहिद परिवारका प्रतिनिधि विजय चौधरी लगायतका अतिथिहरू रहेका थिए ।

भेक सांस्कृतिक परिवारले सांस्कृतिक अभियान अन्तर्गत बर्दिया जिल्लाका विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम सहित जनसभा गरेर बर्दियाली जनता जगाउँदै हिडेको छ । चैत ११ गते ठाकुरबाबामा समेत भव्य सांस्कृतिक कार्यक्रम सहित जनसभा सम्पन्न गरेको नेकपा बर्दियाले उक्त कार्यक्रममा आठ जना युवालाई पार्टी प्रवेश गराएको थियो । पार्टी प्रवेश गर्ने युवाहरूमा सरोज बि.क., विनोद सुनार, राधिका बि.क., रिता बिक, लक्ष्मी बि.क, सुस्मिता बि.क, दुर्गा बि.क, पुर्णिमा बि.क लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :