अखिल (क्रान्तिकारी) द्वारा एमिटी ग्लोबल एजुकेसनमा कारवाही

अखिल (क्रान्तिकारी) द्वारा एमिटी ग्लोबल एजुकेसनमा कारवाही

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) सीटीईभीटी उपत्यका जिल्ला समितिले टोखास्थित एमिटी ग्लोबल एजुकेसन (लर्डबुद्ध कलेज) ले कोरोना महामारीका कारण लकडाउनमा नपढाएको शुल्क असुली गरेको भन्दै कारबाही गरेको छ ।

विद्यार्थीका आधारभूत आवश्यकतासमेत पूरा नगरेको, लकडाउनको समयमा नपढाएको समेत शुल्क असुली गरेको, कलेजमा गुण्डाहरू राखेर विद्यार्थीलाई थिचोमिचोमा राखेको, सीटीईभीटीको मापदण्डअनुरूप व्यवस्थापन नभएको विषयमा छलफल गर्ने क्रममा अखिल (क्रान्तिकारी) का जिम्मेवार नेताहरूमाथि नै दुव्र्यवहार गर्न खोज्दा प्रतिकारात्मक कारबाही भएको जनाइएको छ ।

मनोमानी शुल्क असुल्ने, गुण्डाहरू राखेर विद्यार्थीलाई मनोवैज्ञानिक रूपमा डरत्रासमा राख्ने, भौतिक संरचनालगायत शैक्षिक वातावरण दुरुस्त राख्ने काममा ध्यान नदिएको विषयमा अखिल (क्रान्तिकारी) ले चेतावनीस्वरूप कारबाही गरेको हो ।

‘कलेज गुण्डाहरूको अखडा होइन, विद्यार्थीहरूको शान्तिभूमि हो ! हामी विद्यार्थीहरूको अध्ययन गर्ने पबित्र स्थलमा गुण्डागर्दी स्वीकार गर्दैनौँ, त्यो पनि कलेज प्रशासनको प्रत्यक्ष सहयोगमा’, अखिल (क्रान्तिकारी) सीटीईभीटी अध्यक्ष डीबी चन्दले भने । पटकपटक कलेज प्रशासनको ध्यानाकर्षण गराउँदागराउँदै पनि विद्यार्थीका कुरा नसुनेकाले आफूहरू बाध्य भएर कारबाही गर्नु परेको चन्दले बताए ।

यही विषयमा आफ्नो सङ्गठनले शान्तिपूर्ण ढङ्गले कलेज प्रशासनसँग छलफल गर्न खोज्दा उल्टै आफ्ना जिम्मेवार नेता–कार्यकर्तामाथि गुण्डाहरू लगाएर दुव्र्यवहार गरेकाले अखिल (क्रान्तिकारी) ले प्रतिकारात्मक कारबाही गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :