सेती–महाकालीमा नेकपाको स्कुलिङ कार्यक्रम

सेती–महाकालीमा नेकपाको स्कुलिङ कार्यक्रम

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले सेती–महाकालीमा स्कुलिङ कार्यक्रमलाई निरन्तर रुपमा सञ्चालन गरिरहेको छ । चैत ६ गते कैलालीको लम्कीचुहा नगरपालिकाबाट शुरु गरिएको स्कुलिङ दोस्रो चरणमा घोडाघोडी नगरपालिकामा सम्पन्न भएको हो । सेती–महाकाली स्कुलिङ विभाग सदस्य राजेन्द्र विष्ट ‘परिवर्तन’ को अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इन्चार्ज प्रशान्त प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा स्कुलिङ विभाग प्रमुख शेरबहादुर देउवा ‘नविन’, कैलाली जिल्ला सेक्रेटरी करन अतिथि थिए । प्रमुख अतिथि प्रशान्तले सम्बोधन गर्दै वैज्ञानिक समाजवादी सत्ताका लागि नेता कार्यकर्ताहरुले जुनसुकै बलिदान दिनका लागि समेत तयार हुनुपर्ने बताउँदै त्यसका लागि स्कुलिङ अति आवश्यक रहेको बताए । त्यसैगरी ब्युरो स्कुलिङ विभाग प्रमुख शेरबहादुर देउवा ‘नविन’ ले राजबन्दीहरुको तत्काल रिहाई र झुठ्ठा मुद्दा खारेज गर्ने कुरामा सरकारले ढिलाई गरिरहेको र थप गिरफ्तार गरिरहेको विषयमा चिन्ता व्यक्त गर्दै भने, ‘यसले आम जनतामा सम्झौता कार्यान्वयन हुनेमा आशंका बढ्दै गएको छ । तसर्थ सम्झौता कार्यान्वयनका लागि सरकारलाई स्मरण गराउँन चाहन्छौँ ।’

कार्यक्रमको सञ्चालन विभागका सदस्य दिलबहादुर साउदले गरेका थिए । स्कुलिङमा माक्र्सवादका तीन वटा संघटक अंग दर्शन शास्त्र, वैज्ञानिक समाजवादी अर्थशास्त्र र वैज्ञानिक समाजवादको अध्ययन गराइएको कार्यक्रममा कैलाली जिल्लाका जिल्ला सदस्यहरु सहभागी भएका थिए । त्यसैगरी कैलारी गाउँपालिका, गौरी गंगा नगरपालिका, भजनी नगरपालिका, घोडाघोडी नगरपालिका, गोदावरी नगरपालिका र धनगढी उप–महानगरपालिका समितिका वरिष्ठ सदस्यहरु समेत ५० जना सहभागी थिए ।

समापन कार्यक्रमका अध्यक्ष राजेन्द्र विष्ट ‘परिवर्तन’ का अनुसार स्कुलिङ कार्यक्रम सुदूर–पश्चिम प्रदेशका ९ वटै जिल्लामा चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :