दलित मुक्ति मोर्चा नेपालको राष्ट्रिय सम्मेलन हेटौँडामा

काठमाडौँ : राष्ट्रिय दलित मुक्ति मोर्चा नेपालले २०७८ वैशाख १५, १६ र १७ गते मकवानपुरमा पाँचाैँ राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । ‘सामाजिक दलाल पुँजीवादको आधुनिक विभेदका विरुद्ध सशक्त दलित आन्दोलन, वैज्ञानिक समाजवादका पक्षमा दलित मुक्तिको पाँचौँ राष्ट्रिय सम्मेलन’ नाराका साथ गर्न लागिएको उक्त सम्मेलनको उद्घाटन व्यापक जनताको उपस्थितिमा बृहत् सभामार्फत सम्पन्न गरिने मोर्चाले जनाएको छ ।

सम्मेलनमा देशका ७७ वटै जिल्ला र प्रवासबाट समेत प्रतिनिधि/पर्यवेक्षक सहभागी हुनेछन् । वर्गीय मुक्तिबिना उत्पीडित जाति र समुदायको मुक्ति असम्भव रहेको मान्यता राख्दै एकीकृत जनक्रान्तिलाई सहयोग गर्दै आएको उक्त मोर्चाले दलाल पुँजीवादी संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादबाट मात्र दलित समुदायलगायत सम्पूर्ण उत्पीडित वर्ग, जाति र समुदायको पूर्ण मुक्ति हुने धारणा राख्दै आएको छ । राष्ट्रिय सम्मेलनको तयारीका लागि अहिले मोर्चाको देशव्यापी सदस्यता वितरण, जिल्ला भेला, सम्मेलनलगायत व्यवस्थापन र प्रचारप्रसारका कामहरू भैरहेको मोर्चाले जनाएको छ । सम्मेलनको तयारीमा सक्रिय सहभागी हुन र आआफ्नो ठाउँबाट साथ र सहयोग गर्न मोर्चाले सम्पूर्ण देशभक्त, प्रगतिशील प्रजातन्त्रवादी, वामपन्थी, कम्युनिस्ट क्रान्तिकारी, सचेत, जागरुक नागरिक समाज, सञ्चारकर्मी, न्याय र समताका पक्षधर जनसमुदायमा अपिल गरेको छ ।

केन्द्रीय पदाधिकारी र देशका सबै क्षेत्रीय समन्वय समितिका संयोजकहरूको उपस्थितिमा मोर्चाका अध्यक्ष डम्बरबहादुर विश्वकर्माको अध्यक्षता र नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् मोर्चाका केन्द्रीय फ्याक्सन इन्चार्ज शीतलको प्रमुख आतिथ्यमा बसेको बैठकले यस्तो निर्णय गरेको मोर्चाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :