एकीकृत जनक्रान्तिले नै समाजवादी व्यवस्था ल्याउनेछ : भुजेल

एकीकृत जनक्रान्तिले नै समाजवादी व्यवस्था ल्याउनेछ : भुजेल

पोखरा : नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य एवम् गण्डक ब्युरो इन्चार्ज उमा भुजेल ‘शिलु’ ले एकीकृत जनक्रान्तिमार्फत देशमा समाजवादी व्यवस्था आउने बताएकी छिन् । पोखरामा शुक्रबार सुरु भएको एकीकृत जनजागरण अभियान उद्घाटन तथा राजनीतिक, वैचारिक प्रशिक्षण कार्यक्रममा शिलुले यस्तो बताएकी हुन् ।

मन्तव्यकै क्रममा समाजवादी व्यवस्था पुँजीवादीहरूले समेत नक्कल गरिसकेको र नेपाल कम्युनिस्ट पार्टीको एकीकृत जनक्रान्तिको सिद्धान्त नै समाजवाद ल्याउने उत्कृष्ट विचार रहेको शिलुको भनाइ थियो ।

ब्युरो इन्चार्ज शिलुले वार्ताको विषय प्रस्ट पार्दै प्रचण्डले वार्तामा अन्तर्घात गरेजस्तो आफ्नो पार्टीले नगरेको भन्दै जनतालाई सत्य कुरा बताएर स्पष्ट पारिने बताइन् ।

जनवर्गीय सङ्गठनका फ्याक्सन इन्चार्ज रूपेशले संविधानमा लेखिएका कुराहरू खालि कागजमा सीमित रहेको र व्यवहारमा लागू नभएको बताए । उनले देशमा व्यापक दण्डहीनता मौलाएको, काण्डैकाण्डको थलो बनेको र अहिलेका राजनीतिकर्मीहरू भ्रष्टाचारमा लिप्त रहेको बताए । राष्ट्रियता, जनतन्त्र, जनजीविकाका सवालमा नेपालका सत्ताधारी राजनीतिक दलहरूको कुनै चासो नरहेको, खालि कुरामा मात्र सीमित रहेको रूपेशको भनाइ थियो ।

कार्यक्रमका अतिथि नेकपा कास्की जिल्ला इन्चार्ज उभारले आफूहरू मालेमावादी सिद्धान्तबाट विचलित नहुने र दलाल संसदीय व्यवस्था कदापि स्वीकार नगर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :