जनपक्षीय पत्रकारिता तालिम  सम्पन्न

जनपक्षीय पत्रकारिता तालिम  सम्पन्न

सुखड, कैलाली: रातो खबर प्रकाशन गृह प्रा.लि. र जनपत्रकार सङ्गठन नेपालको आयोजनामा ३ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ ।

तालिमपछि आयोजित समापन कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि रातो खबर प्रकाशन गृह प्रा.लि.का निर्देशक वसन्त श्रेष्ठले पत्रकारितालाई जनपत्रकारितासँग जोड्नुपर्ने बताए । नेपाली पत्रकारिताको अवस्थाका बारेमा व्याख्या गर्दै निर्देशक श्रेष्ठले स्वतन्त्र व्यवसाय गर्ने भनिएका मिडियाहरूले पनि ठूलो व्यापार गरिरहेको बताए ।
‘आन्दोलनको आवश्यकताले माग गरेको खण्डमा जसले जहाँ, जुन भूमिकामा रहेर पनि काम गर्नुपर्ने छ’, उनले भने, ‘विचारको सङ्घर्षमा पनि पत्रकारले आफूलाई उत्कृष्ट बनाउनु जरुरी छ ।’                                         
जनपक्षीय पत्रकारले नेपालमा संसदीय व्यवस्था किन असफल भयो र वैज्ञानिक समाजवाद किन आवश्यक छ भन्ने विषयमा आमजनतालाई बुझाउनु जरुरी भएकोमा उनको जोड थियो ।                                                 
समापन समारोहमा राष्ट्रिय जागरण मञ्चका संयोजक तथा रातो खबर प्रकाशन गृहका संस्थापक निर्देशक गुणराज लोहनीले यो सिकाइको सुरुवाती चरण भएको र यसको प्रयोग र परीक्षा व्यवहारमा हुने विश्वास व्यक्त गरे । उनले भने, ‘प्रशिक्षकहरूले कस्तो ज्ञान दिए र प्रशिक्षार्थीहरूले कति कुरा सिकाउन सके भन्ने व्यवहारमा गएर थाहा हुनेछ ।’                                                   

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इन्चार्ज डबलबहादुर शाहले ३ दिनसम्म सञ्चालित आधारभूत पत्रकारिता तालिममा ज्ञान प्राप्तिका लागि राम्रो बहस भएको भन्दै तालिमबाट लिएको ज्ञान व्यवहारमा लागू गरेपछि मात्र यसको महत्व पुष्टि हुने बताए । उनले जनपत्रकारिताको माध्यमबाट सांगठनिक कुरालाई व्यवहारमा जोडिने त्यो वैज्ञानिक समाजवादसँग जोडिने भएकाले निकै महत्वपूर्ण हुने बताए । पत्रकारिताको माध्यमबाट पार्टीका कुरा जनतासँग र जनताका कुरा पार्टीसँग जोड्नु महत्वपूर्ण रहेको भन्दै नेता शाहले प्राविधिक रूपले पनि यो तालिम राम्रो प्रशिक्षण भएको बताए ।
तालिममा रातो खबर प्रकाशन गृहका सम्पादक अशोक सुवेदीले कलमको माध्यमबाट श्रमजीवी जनताका आवाज बुलन्द गर्ने काम जनपत्रकारहरूको भएको बताए । उनले पत्रकारिता गर्दा सूचनासँगै भाषाको सामान्य ज्ञान अनिवार्य राख्नुपर्ने कुरामा जोड दिए ।
यस्तै ई–रातो खबर अनलाइन संस्करणकी सम्पादक अम्बिका चन्दले तालिमबाट सिकेको ज्ञान व्यवहारमा उतार्ने विश्वास गर्दै तालिममा सहभागी प्रत्येक व्यक्तिले समाचार बनाउन लाग्नुपर्ने बताइन् ।                             
तालिममा सहभागी जीवन विकले अनुभूति राख्दै भने, ‘गरिब र दबिएका आवाजहरूलाई कसरी माथि उठाउने भन्ने विषयमा जनपत्रकारिताले महत्वपूर्ण भूमिका निर्वाह गर्छ भन्ने जानकारी भयो ।’ उनले भने, ‘पत्रकारले जनताका पक्षमा काम गर्न एक कदम अघि बढ्ने ज्ञान पाएका छौँ । समाजलाई बदल्नका लागि पत्रकारिता तालिम गरेका छौँ । यहाँबाट कार्यक्षेत्रमा गएपछि निरन्तर रातो खबरसँग जोडिनेछौँ । समाचार सम्प्रेषण गर्ने अवसर दिलाउनेछौँ ।’
राप्ती ब्युरोबाट प्रशिक्षणमा सहभागी हेमन्त प्रकाश ओलीले भने, ‘यहाँबाट पार्टीको विचार प्राप्त गरेका छौँ । हामी हाम्रो वर्गप्रति इमानदार भएर मिसन पत्रकारिता गर्नेछौँ । हामीले केही न केही कुरा सिकेका छौँ ।’

यस्तै सेती–महाकाली ब्युरोबाट उपस्थित खेमराज बुढाले भने, ‘तालिमबाट सिकेका कुरा व्यवहारमा लागू गर्नेछौँ । दलाल पुँजीवादी व्यवस्थाका विरुद्ध आफ्नो मिसन पूरा गर्न लागिपर्नेछौँ । वर्गीय विभेदका विरुद्धमा कलम
चलाउनेछाैँ भन्ने विश्वास छ ।’ यस्तै लुम्बिनी ब्युरोका आर्यन विकले भने, ‘योभन्दा पहिले पनि तालिम लिएका थियौँ तर त्यो विशुद्ध व्यवसायिक थियो । मिसन पत्रकारिताले आफ्नो वर्गको हितमा काम गर्नुपर्दछ ।’
युवा महिलाका तर्फबाट प्रतिनिधि आस्थाले भनिन्, ‘हामीसँग पुगेको विचार जनतामा कसरी पु¥याउने भन्ने विषयमा धेरै कुरा सिकेका छौँ ।’

कार्यक्रममा लुम्बिनी, राप्ती, सेती–महाकाली, भेरी–कर्णालीबाट सहभागी ३० भन्दा बढी प्रशिक्षार्थीले पत्रकारिता तालिम लिएका हुन् । प्रमुख अतिथि श्रेष्ठले प्रशिक्षार्थी पत्रकारलाई प्रमाणपत्र प्रदान गरेका थिए । बुधबार सुरु भएको प्रशिक्षण शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा ई–रातो खबर अनलाइनकी सम्पादक अम्बिका चन्द, रातो खबर प्रकाशन विभागका मध्यपश्चिम प्रमुख विनोद बिष्ट, नेकपाका सेती–महाकाली ब्युरो कार्यालय सचिव प्रकाश मल्ल उपस्थित थिए ।

रातो खबर प्रकाशन गृहका सम्पादक अशोक सुवेदीले अध्यक्षता गरेको कार्यक्रमको सञ्चालन जनपत्रकार सङ्गठन नेपालका सेती–महाकाली संयोजक प्रकाश थापाले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :