सपनाको भञ्ज्याङतिर : मुक्तिशिखरको यात्रामा गुन्जिएका स्वरहरू

सपनाको भञ्ज्याङतिर : मुक्तिशिखरको यात्रामा गुन्जिएका स्वरहरू

परिभाषा

नेपाल प्रज्ञाप्रतिष्ठानको बृहत् नेपाली शब्दकोशमा निबन्धको परिभाषा यसरी गरिएको छ : कुनै विषयलाई कल्पनात्मक वा वस्तुगत पाराले गद्यमा लेखिएको छोटो साहित्यिक रचना, साहित्यको एक गद्य विधा । त्यस्तै हेमाङ्गराज अधिकारी र बद्रीविशाल भट्टराईद्वारा सम्पादित प्रयोगात्मक नेपाली शब्दकोशमा निबन्धलाई कुनै वस्तु, विचार वा भावको शृङ्खलाबद्ध अभिव्यक्ति भएको एक विधा, प्रबन्ध भनिएको छ । त्यसैगरी नेराप्रप्रको शब्दकोशमा संस्मरणको परिभाषा यसरी दिइएको छ : बराबर सम्झना आउने बितेका दिनको कुरो, मीठो प्रकारको सम्झना, मधुर स्मृति । राम्रोसित वा बरोबर सम्झना गर्ने काम, नाम जपाइ, संस्मृति । पुरानो घटना, वस्तु, महत्व आदिलाई ताजा राख्न आवश्यक पर्ने महत्वपूर्ण कुराको उल्लेख, कथन वा रचना । त्यसैगरी प्रयोगात्मक नेपाली शब्दकोशमा भनिएको छ : बारम्बारको सम्झना, स्मृति । मीठो सम्झना, मधुर सम्झना । अनुभव, यात्रा आदिका आधारमा लेखिएको साहित्यिक रचना ।

नियात्राका बारेमा प्रज्ञाप्रतिष्ठानको बालकृष्ण पोखरेलको सम्पादनमा निस्किएको बृहत् नेपाली शब्दकोशमै भनिएको छ : यात्रा निबन्धको औपन्यासिक वा उपख्यानात्मक रूप । यात्रा वर्णनबारे कथात्मक शैलीमा लेखिएको निबन्ध । प्रज्ञाको कोशमा धर्काचित्रका बारेमा भनिएको छ : धर्काचित्र भनेको साहित्यका क्षेत्रमा श्रव्यकाव्यमा गद्यफाँटअन्तर्गत कथाभन्दा भिन्न खालको एक रूप ।

प्राडा नन्दीश अधिकारीले ‘लालबस्तीको यात्रा’ पुस्तकको भूमिकामा रेखाचित्रबारे वाल्टरको क्याम्ब्रिज एड्भान्स लर्नर डिक्सनरी उल्लेख गर्दै भनेका छन् : निबन्ध, कथा, संस्मरणको मिश्रण भएको साहित्यिक रचना हो ।

यी परिभाषामा डायरीलेखन समेटिएको छैन । डायरी पनि निजात्मक निबन्धको एक महत्वपूर्ण विधाका रूपमा अघि आएको छ ।

यी परिभाषाहरू उद्धरण गर्नुको तात्पर्य र अन्तर्य खोमा तरामु मगरको हालै प्रकाशित निबन्धात्मक कृति ‘सपनाको भञ्ज्याङतिर’ कृतिको विधागत अवस्थिति खोतल्नु हो ।

पृष्ठभूमि

माथि नै उल्लेख भइसकेको छ– निबन्धका विविध आयामहरू छन् । निबन्ध तुलनात्मक रूपमा सिर्जनाका अन्यभन्दा निर्बन्ध विधा हो तर लेखनशैली र विषयवस्तु चयनमा निर्बन्ध भए पनि यो विचारबाट भने अवश्य निर्बन्ध छैन । नेपाली साहित्यमा प्रसस्तै लेखिएको तर माक्सवादी साहित्यमा कहिले बाढीजसरी उहापोह लेखिँदै र कहिले खहरेजसरी सुक्दै गएको विधा हो निबन्ध । प्रतिध्रुवीय कित्तामा यो विधाले निरन्तरता नै पाइरहे पनि माक्सवादी धारामा भने अन्य विधामा झैँ यसको त्यति निरन्तरता र एउटै गति देखिँदैन । राजनीतिक–सांस्कृतिक प्रतिक्रान्ति, मूल्यहरूको विघटन, आदर्शहरूको स्खलन र नयाँ क्रान्तिले गति लिँदै गरेका कारण माक्र्सवादी धार विशाल र वेगवान् बनेर प्रतिगामी र यथास्थितिवादी धारलाई कुल्चिँदै अघि बढिरहेको र सडेगलेको, फोहोर मिसिएको ढलजस्तै बनेको प्रतिध्रुवीय कित्ता चर्पीनजिकको मूलाझैँ मौलाएको अवस्थामा त्यसको असर सामाजिक, सांस्कृतिक क्षेत्रमा पनि परेको छ । त्यसैले माक्र्सवादी धारमा सिर्जना र संस्कृतिका हरेक विधा आस्था, विचार–अस्मिता जोगाएर जरुवा पानीजस्तै एउटा मन्द गति र प्रवाहमा वहेको पाइन्छ भने प्रतिध्रुव्रीय कित्ता दुर्गन्ध र विनाससहित छ्यालब्याल भएर बगेको अवस्था छ ।

उठान

नेपालको माक्र्सवादी साहित्यमा विगतका तुलानामा यस सदीको पचास र साठीको दशकमा निबन्ध विधा अत्यन्त फस्टायो । त्यसपछि सुस्ताएको निबन्ध विधाले सत्तरीको दशकको मध्यसम्म खासै गति लिन सकेको देखिँदैन । सत्तरीको दशकको मध्यबाट भने यसले अलि गति समातेको छ । यही यात्राको एउटा उत्कर्षका रूपमा आएको छ शिखरको यात्राका क्रममा चौतारी र भन्ज्याङ बनेर खोमा तरामु मगरको संस्मरण र डायरीपरक निजात्मक शैलीको निबन्धसङ्ग्रह– सपनाको भन्ज्याङतिर ।

हाल माक्सवादी साहित्यमा निबन्ध विधा फुटकर लेखनमा मात्र सीमित बन्दै गएको अवस्था छ । यस्तो अवस्थामा सङ्ग्रह नै फेलापर्नु भनेको बगर वा मरुभूमिमा पानीको मूल भेट्नुस्तै दुर्लभ घटना हो । यो दुर्लभता चिर्दै निजात्मक निबन्धहरूको सङ्ग्रह सपनाको भञ्ज्याङतिर लिएर आएका हुन् युवा माक्र्सवादी स्रष्टा खोमा तरामु मगर । माक्सवादी युवा कविको परिचय बनाएका खोमा यो संस्मरणात्मक निबन्धसङ्ग्रहमा पनि कवितामा जस्तै अब्बल ठहरिएका छन् । स्रष्टा र कृति दुवै सफल देखिन्छन् । शीर्षकमा बहस गर्ने ठाउँ भए पनि अधिकांश निबन्धहरू अब्बल छन् र विचार, भाषाशैली, विषय, परिवेश, समकालीनतालगायत समग्र पक्षमा कृति उद्देश्यपूर्ण र सफल छ । यसका लागि स्रष्टा बधाईका पात्र छन् ।

विकास

राजनीतिक र सांस्कृतिक कर्म एकापसमा अन्तरसम्बन्धित छन् । समाजमा विद्यमान वर्ग र वर्गहरूका बीचको सङ्घर्षको क्रम र गतिसँगै सांस्कृतिक कर्म पनि गतिशील हुन्छन् । सिर्जना पनि सांस्कृतिक कर्म हो । सांस्कृतिक कर्मले जमेको तलाउमा तरङ्ग उत्पन्न गरिदिने कर्म पनि गर्छ । गतिहीन समाजलाई गतिशील बनाउन र राजनीतिक परिवर्तनपछि आत्मिक रूपान्तरणका लागि पनि सांस्कृतिक कर्म (आन्दोलन र रूपान्तरण) को उत्तिकै महत्व छ । संसारकै वर्गसङ्घर्षहरूमा माक्र्सवादी सांस्कृतिक आन्दोलनहरूले वर्गसङ्घर्षलाई उठाउन र उपलब्धिहरूलाई संस्थागत गर्न अमूल्य योगदान दिएका छन् । नेपालमा पनि निरन्तर जारी वर्गसङ्घर्षमा सांस्कृतिक आन्दोलनको ठूलो योगदान र महत्व छ ।

निकट इतिहासलाई केलाउँदा नेपालमा पचास र साठीको दशकमा झन्डै एघार वर्षसम्म सञ्चालित महान् जनयुद्धको समयमा सांस्कृतिक आन्दोलनले वर्गसङ्घर्षको अग्रभागमा रहेर महत्वपूर्ण मोर्चा समालेको थियो । त्यसमा राजनीतिसँगै कला, साहित्य, संस्कृतिका सबै स्वरूपहरू क्रियाशील थिए । मानिसको जीवनमै आमूल परिवर्तनका लागि सतहमा जनयुद्धले र गहिराइमा सांस्कृतिक आन्दोलनले एक रथका दुई पाङ्ग्रा भएर मोर्चा समालेका थिए तर नेतृत्वका केही पात्रको महापतन, दलाली र गद्दारीपछि जनयुद्धको पनि पतन भयो र जनयुद्धले स्थापना गरेका राजनीतिक, वैचारिक, सांस्कृतिक सबै उपलब्धि धूलीसात भए । प्रतिगमन दलाल पुँजीवाद बनेर नेपाल र नेपालीको राजनीति र संस्कृतिको घोडा चढ्यो । परिणामतः आज एकातिर सरकारी नेकपाको मोहोरामा दलाल पुँजीवादी प्रतिगमन र अर्कातिर कमरेड विप्लव नेतृत्वको नेकपाको अगुवाइमा एकीकृत जनक्रान्ति सञ्चालित छन् । कहिले प्रतिगमन हाबी हुन्छ र त्यसको राजनीतिक–सांस्कृतिक अभिव्यक्ति फासिवादका रूपमा प्रकट हुन्छ । कहिले जनक्रान्ति हाबी हुन्छ र दलाल पुँजीवादी राजनीति–संस्कृतिको टाउकोमा लाठी बर्साउँछ । आजको अवस्था यही हो । यही अवस्थालाई निजात्मक निबन्धका माध्यमबाट खोमा तरामु मगरले सपनाको भन्ज्याङतिर नाउँले सम्बोधन गरेका छन् । यो आजको समाजवादी आदर्शोन्मुख यथार्थ हो । माक्सवादी धारका कयौँ समूहहरूमा छिरलिएर रहेका निबन्धकारका बारेमा यहाँ चर्चा गरिएको छैन ।

नेपाली माक्सवादी साहित्यमा जनयुद्धकाललाई कथा, कविता, गीतलगायत विधामा झैँ नेपाली माक्सवादी निबन्धको पनि स्वर्णकाल मान्न सकिन्छ । संस्मरणात्मक शैलीमा लेखिएका अनुभूतिजन्य निबन्धहरूले जनयुद्धको उचाइ र महत्वलाई स्थापित गर्ने सामथ्र्य राखेका छन् । जनयुद्धलाई विषय बनाएर लेखिएका संस्मरणात्मक/निजात्मक निबन्धपछि सङ्ग्रहकै रूपमा माक्र्सवादी निबन्ध फेला पार्न मुस्किल बन्दै गएको समयमा, जनयुद्धलाई कुहिगन्धे दलाल पुँजीवादी सत्तासँग साटेर क्रान्तिको लालझन्डा रछ्यानमा फाल्ने होड चलिरहेको समयमा, अब क्रान्ति सम्भव छैन भन्दै केही थान स्खलित ‘महानायक’ हरू वैचारिक–राजनीतिक–सांस्कृतिक रूपमै पतन भएर दुस्मनको जुठोपुरोमा रछ्यानमा रमाइरहेको समयमा आमूल परिवर्तनको क्रान्तिकारी आशावाद जगाउँदै र जनयुद्धका बाँकी कार्यभार पूरा गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने महान् लक्ष्य राखेर तीव्रतामा आशालाग्दो गरी अघि बढिरहेको एकीकृत जनक्रान्तिका सूक्ष्म र स्थुल विषयलाई सुन्दर निबन्धहरूमा उनेर सङ्ग्रह नै बनेको त यो पहिलो नै हुनुपर्छ ।

फुटकर निबन्धयात्रामा क्रमभङ्ग

जनयुद्धकालमा लेखिएका निजात्मक निबन्ध र निबन्धसङ्ग्रहहरूको सूची लामो छ । यहाँ तिनका बारेमा चर्चा गरिएन । यद्यपि जनयुद्धको उर्वर कालपछि एकीकृत जनक्रान्तिकालमा जेल र हिरासत संस्मरण फुटकर रूपमा आउने क्रम जारी छ । फासिवादी सत्ताले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएर जेल र हिरासतहरू भर्न थालेपछि पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तकहरूले आफ्ना अनुभूतिहरू संस्मरणमार्फत अभिव्यक्त गर्ने क्रम बढेको छ । यसअघि पार्टी अभियानका क्रममा अनुभूतिहरू अभिव्यक्त गर्ने क्रममा संस्मरणत्मक निबन्धहरू लेखिएका थिए । अब हिरासत र जेल संस्मरणहरू बढी लेखिँदै गएका छन् । स्रष्टाहरूले आफ्ना अनुभूतिहरूलाई प्रायः फुटकर सिर्जनाका रूपमा लेख्ने र त्यस्ता रचना प्रकाशनमा पनि आउने गरेका छन् । पार्टीका विभिन्न जनसङ्गठनहरू मैदानमा जनतासँग रहेको समयमा जनसम्बन्ध विस्तार गर्ने क्रममा लेखिएका जनताको न्यानो माया मिसिएका संस्मरणात्मक निबन्धहरूले समाजको दुर्दान्त अवस्था चित्रण गर्नुका साथै जनक्रान्तिबाट वैज्ञानिक समाजवाद चुम्ने र मुक्त हुने आशा र सपनाहरू ज्यूँदै रहेको सन्देश दिएका छन् । त्यही क्रान्तिकारी आशावादको एकमुष्ठ अभिव्यक्ति बनेर सपनाको भन्ज्याङतिर आएको छ ।

जेल, हिरासत र अभियानका अनुभूतिहरूलाई संस्मरणात्मक निबन्धमा अभिव्यक्त गर्ने स्रष्टाको सूची लामो बन्दै गएको छ । मिहीन ढङ्गले केलाउने हो भने त्यो सूची कम्तीमा पनि सयभन्दा बढी हुन्छ । उदाहरणका रूपमा फुटकर निबन्धहरू लेखिरहेका, सङ्ग्रहको तयारी गर्दै गरेका वा परिकल्पना बनाएका केही स्रष्टाहरूमा पूर्णबहादुर सिंह, ओमप्रकाश पुन, बीपी विद्रोही, असल खड्का, सुमनसिंह पौडेल, माधव गौतम, प्रवीण मिश्र ‘मनीष’, रामलाल विश्वकर्मा, अनिल शर्मा ‘विरही’, धीरेन्द्राकुमारी उपाध्याय ‘भृकुटी’, बन्धु चन्द, विवेक लामा, देवनारायण शाह, नरबहादुर कार्की, नरोत्तम पाण्डे, अमर झाँक्री ‘सञ्जीव’, टीका राई, नकुल चौलागाईं, सावित्रा दुरा ‘आस्था’, रामलाल विक, अम्बिका चन्द, सीता विक ‘सम्झना’, भरत बम ‘रणवीर’, नरबहादुर कार्की, कृष्ण धमला, शक्ति विक ‘शिमशिखर’, रवि गोले, देवनारायण शाह, उदयबहादुर चलाउने ‘दीपक’, मोहलाल चन्द ‘आधार’, अशोक सुवेदी, सरला रेग्मी, अनिता गजमेर, देवकला अधिकारी, कृष्णप्रसाद वाग्ले ‘रूपेश’, मीनप्रसाद सापकोटा, सुदर्शनराज पाण्डे, घननाथ सापकोटा, माइला लामा, नरोत्तम पाण्डे, केदार राई, नकुल चौलागाईं, पवन, ईश्वरी दाहाल (असारे काका), खेम थपलिया, दिनेश सारूलगायत स्रष्टा छन् । अन्य कयौँ स्रष्टाका पनि फुटकर निबन्धहरू प्रकाशित भएका छन् भने सङ्ग्रह प्रकाशन गर्ने क्रमचाहिँ रसुवाली कविले ‘हिरासतका दिन’ का माध्यमबाट आरम्भ गरिसकेका छन् । नवीन विक ‘हितमान’ को ‘जेल मोर्चा’ र लोकेन्द्र विश्वकर्मा ‘सुजन’ को ‘सङ्घर्षभित्रको जीवन’ संस्मरणात्मक निबन्धसङ्ग्रह प्रकाशनको अन्तिम तयारीमा छन् ।

सपनाको भन्ज्याङतिर : सङ्क्षिप्त परिचय

‘सपनाको भन्ज्याङतिर’ संस्मरणात्मक निबन्धसङ्ग्रह खोमा तरामु मगरद्वारा विभिन्न समयमा लेखिएका र प्रकाशित पनि भइसकेका २६ वटा फुटकर निबन्धहरूको सङ्ग्रह हो । यसमा १. सहिदभूमिमा उभिएर, २. गुञ्जिरहनेछन् गाउँमा यी गीतहरू, ३. सपना ओढेको त्यो रेसुङ्गा, ४. मधेसमा गुञ्जिएको अनेकोट, ५. चुत्राबेसी र चुत्राबेसीहरू, ६. झन्डा बोकेर सूर्यास्तमा, ७. उज्यालो पर्खेर साँझमा, ८. शिवगढी अर्थात् लालगाउँ, ९. गाउँबस्तीमा क्षितिज परिवार, १०. रोल्पा मरेको छैन, ११. तिनाउ, कविता र सपनाहरू, १२. झुल्किनै बाँकी रातो घाम, १३. ताराहरू रोएको अँधेरी रात, १४. सुनकोसीको तीरैतीर, १५. दोभानमा कविताको सौन्दर्य, १६. अँध्यारोमा बलिरहेको बत्ती, १७. हृदयको मझेरीमा सहिद परिवारसँग, १८. बाहुनडाँडामा छापामारसँग, १९. निःशब्द मन, खण्डहर गोरखा, २०. जूनकीरीको बस्तीमा, २१. लुम्बिनीमा सांस्कृतिक मोर्चा, २२. चुनु गुरुङको अजम्मरी गीत, २३. हरियो झन्डामुनि जितगढी, २४. सपना डढेको बस्ती, २५. गाउँको अस्थिपञ्जरमा उभिएर र २६. हिउँको बर्सात् सम्झेर शीर्षकमा २६ वटा विभिन्न बान्की तर एउटै सरस शैलीका संस्मरणात्मक निबन्धहरू समेटिएका छन् ।

सङ्ग्रहका प्रायः निबन्ध पृथक्पृथक् सन्दर्भ र विषयमा करिब चार वर्षको अवधिमा लेखिएका हुन् । फुटकर निबन्धहरूको सङ्ग्रह भएका कारण स्वाद पनि त्यसै किसिमको छ । खारिएको र माझिएको भाषाशैलीका सरस निबन्धहरू फुटकर भएर पनि एकअर्काका परिपूरकजस्तै लाग्छन् । व्यापकतामा धेरै बुँदाहरूमा व्याख्या गर्न सकिने भए पनि सङ्क्षेप र मोटामोटीमा प्रस्तुत निबन्धसङ्ग्रहलाई निम्नलिखित विशेषताहरूमा परिचर्चा गर्न सकिन्छ :

विषयवस्तुमा विविधता

विषयवस्तुका दृष्टिकोणले खोमा तरामु मगरको सपनाको भन्ज्याङतिर निबन्धात्मक कृतिले व्यापकता ओगटेको छ । प्रायः यात्राका सन्दर्भहरू छन्, पार्टीअभियानका यात्रा । यात्राहरू उद्देश्यपूर्ण छन्, त्यसैले हरेक यात्राक्रम र यात्रापछिका स्मृतिहरू पनि उद्देश्यपूर्ण छन् ।

विभिन्न अभियानात्मक यात्राक्रममा स्रष्टा गुल्मीको सत्यवती गाउँपालिकाको ठूलो ल्हुम्पेक पुगेका छन् क्षितिज परिवारका कलाकारको टोलीसँग । त्यस्तै उनले गुल्मीको तम्घास यात्रा गरेका छन् । कपिलवस्तुको दक्षिणी गाउँ बनगोवा पुगेका छन् । अर्घाखाँचीको सन्धिखर्क, चुत्राबेसी, नवलपुर र नवलपरासीका गाउँबस्ती, रूपन्देहीका देवदह, धकधई, केरवानी, मक्रहर, शान्तिचोक, मानपकडी, छपिया, रजाड गाउँका जनबस्तीहरू देखिन्छन् निबन्धमा । प्रायः बस्तीहरूमा श्रमिक जनता छन्– अहोरात्र श्रमिपसिनामा रमाइरहेका, सुन्दर सपना सजाइरहेका । तराईका बस्तीहरूमा पुग्दा होस् वा पहाडका जनबस्तीहरूमा जाँदा होस्, उनी त्यहाँको जनजीवन, दुःखसुख, भूगोल, हावापानी, रहनसहन, संस्कार–संस्कृति, श्रमपसिनालाई लेखनको केन्द्र बनाउँछन् :

हामी मधेसका ठालु, जमिनदार, सामन्त, सूदखोरहरूलाई दुत्कार्दै विद्रोहका गीत गाइरहेछौँ । अँध्यारोलाई जित्नु र उज्यालोका पक्षमा गीत गाउनु अर्थात् मधेसका न्यायपूर्ण आवाजलाई दमनले कुल्चने शासकविरुद्ध मुक्तिगीत गाइरहेछौँ । सहिदहरूका सपना पूरा गर्ने तुफानी यात्रा कसले रोक्न सक्छ र ? राष्ट्रिय स्वाभिमान र मुक्तिका पक्षमा गीत गाउँदा जे नाम दिए पनि के फरक पर्छ र ? उषाको मुस्कान अरुणिमा बनेर आउने कुरालाई कसले छेक्न सक्छ र ? हामी यही यात्रामा अनवरत छौँ र यही यात्रामा ढलिरहेछन् हुरी र तुफानविरुद्ध उभिएका पर्खालहरू । गलिरहेछ सहिदका रगतहरू कुल्चेर सत्तामा उक्लिएका बैरीहरूको सिसमहल । हामीलाई तथाकथित पुँजीवादी गणतन्त्रका नाउँमा चलाइएको अत्याचारका पक्षमा चारणगीत गाउन स्वीकार्य छैन । हामीलाई बेइमानहरूका विद्रुप चरित्रको प्रशंसागीत गाउनु छैन । हामीले निर्भयपूर्वक सत्य बोल्ने सङ्कल्प गरेका छौँ । जनताका पक्षमा लेख्नु, जीवनका पक्षमा सिर्जना गर्नु, वर्गसङ्घर्षको गीत गाउनु हाम्रो दायित्व हो ।

झन्डा बोकर सूर्यास्तमा

निबन्धमा तराईका बस्ती र जनजीवनको चर्चा छ प्रायः । निर्वाचन खारेजीदेखि सांस्कृतिक अभियानमा जनबस्तीमा पुग्दाका सन्दर्भहरू छन् । शिवगढी छ अर्थात् लालगाउँ छ । हामी पनि हाम्रो भूमिलाई लालबस्ती नै भन्छौँ– कृष्णलाल, पुष्पलाल, गङ्गालाल हुँदै शिवलाल, चन्द्रलालहरूको बस्ती । महान् जनयुद्धमा एक सय ६० भन्दा बढी र एकीकृत जनक्रान्तिमा सहिद रामकुमार श्रेष्ठहरू जन्मिएको लालैलालहरूको बस्ती । यस्ता लालबस्ती र लालगाउँहरूको चर्चा गर्दा योद्धाहरूको त्याग, समर्पण, वीरता, विद्रोह र बलिदानको चर्चा आउँछ । खोमाले पनि तराईदेखि पहाडसम्मका लालगाउँहरू खोजेका छन् र योद्धाहरूको त्याग, वीरता र बलिदानसँगै तिनका अधुरा सपना उधिन्दै त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् निबन्धका माध्यमबाट । त्यसैले यो कृति विशुद्ध निबन्ध होइन, आस्था र निष्ठालाई लक्ष्यमा पुर्याउने प्रतिबद्धतापत्र पनि हो ।

पुस्तकमा लालभूमि रोल्पा छ, थबाङ छ, इच्छुक, चुनु र च्याङ्बाहरू छन् । तिनाउ किनार छ । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ छ । कविताहरू छन् । छलफल र बहस छ । ओखलढुङ्गा रुम्जाटार छ, पाल्पा दोभानका फूलबारी, बेरुवा र ज्यामिरे छन् । काठमाडौँ, गोरखा– भुसालगाउँदेखि बागलुङको बाहुनडाँडा र बुटवल छन् । ‘थ्याङ्क्यु मिस्टर ग्ल्याड’ र वीरभूषण पटनायक छन् । प्रियजनहरूको मृत्यु र बलिदानी छ । प्रलयकारी भूकम्पको धक्का छ । जनयुद्ध र एकीकृत जनक्रान्तिको शृङ्खला छ । जनयुद्धका भगौडा छन् । एकीकृत जनक्रान्तिका योद्धाहरू छन् । लुम्बिनीको सांस्कृतिक आन्दोलनको इतिहास छ । जितगढी किल्ला र अङ्ग्रेजविरुद्धको लडाइँमा सन् १८७२ मा कर्णेल उजिरसिंह थापा नेतृत्वमा नेपाली योद्धाहरूले अङ्ग्रेजलाई पराजित गरेको इतिहास छ । क्रान्तिसँगै राष्ट्रियता र देशभक्तिको उहापोह छ । पहिरोले पुरिएका बस्तीहरूका मर्म छन् । निबन्धभरि विभिन्न सन्दर्भ लिएर तिनाउ र लुम्बिनी आइरहन्छन् घरिघरि । तराईको रापिलो बाफको बर्सात्देखि घुम्टे लेकको हिउँको वर्षासम्मका विषयहरू छन् ।

प्रकृतिको लालित्य, श्रम र विचारको व्यापक आयाम समेटिएको एउटा उदाहरण हेरौँ :

‘गाउँदेखि अलिकति माथिल्तिर उक्लिएपछि धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे हिमालतिर टाँसिन्छ आँखा । आकाशको निलो पछ्यौरीको सप्केनीमुन्तिर क्षितिजमा ठडिएका हिउँका शृङ्खलाहरू साँच्चिकै अनुपम देखिन्छन् । त्यहाँको प्राकृतिक सौन्दर्यले मन जति आकर्षित गर्छ, महान् सहिदको रगतले सिञ्चित भूमिमा उभिएर सहिदका उदात्त सपना र नयाँ क्रान्तिको यात्रा पूरा गर्ने अभिभाराले त्योभन्दा बढ्ता थिचिरहेको छ ।’

सहिदभूमिमा उभिएर

हरेक यात्रापछिको सार हो भन्न सकिन्छ यो अनुच्छेदलाई । ठाउँ फरक होलान् । समय फरक होला । त्यहाँ फेलापरेका पात्रहरू फरक होलान् तर निबन्धकार खोमाको यात्रा संस्मरण वा संस्मरणको केन्द्रीय विषय वा सार वाक्य यही होजस्तो लाग्छ ।

विषयवस्तु र विचारका दृष्टिले यस निबन्धसङ्ग्रहको केन्द्रमा क्रान्ति छ, एकीकृत जनक्रान्ति । हरेक निबन्ध वैचारिक छन् । शैलीमा समरूपता भए पनि विषयवस्तु, वातावरण र परिवेशको पाथ्र्यक्यका कारण सबै सजीव र सरस लाग्छन् । जनजीवनका चित्र आउँछन् । सपनाहरूका चित्र आउँछन् र ती सपनाहरूलाई बोकेर हिँड्ने पात्रले बोकेको, समेटेको विषयवस्तु आख्यानका रूपमा आउँछन् । कथा भन्न पनि मिल्ने खालका, प्रचुर आख्यानात्मकता बोकेका ।

क्षेत्र/परिवेश

निबन्धकारले तराईदेखि पहाडसम्मका ग्रामीण भूगोलको यात्रा, अभियान, कार्यक्रम र पात्रलाई प्रायः निबन्धहरूको विषयवस्तु चयन गरेकाले निबन्धमा वर्णित क्षेत्र र परिवेश पनि ग्रामीण जनजीवन छ र सहिद, बेपत्ता योद्धाहरूको वीरता र बलिदानका साथै घाइते–अपाङ्ग योद्धाहरू र श्रमशील जनताको कारुणिक र दारुण जीवनशैली छ । जनताले भोगेको कहरपूर्ण परिवेश छ । निबन्ध अध्ययन गर्दै जाँदा चित्रझैँ भएर त्यहाँको भूगोल आउँछ, श्रमिक जनता आउँछन् र आउँछ तिनको कारुणिक मुहार र आँसुले डबडबाएका आँखाको गहिराइमा रहेको मुक्तिको सपना । स्रष्टाले जुन क्षेत्र, जुन परिवेश, जुन पात्र/चरित्र, जुन कथा पस्किएका छन्, वर्गसमाजको चित्र प्रस्ट आउँछ । चित्र मात्र कोरेर छोड्दैनन् स्रष्टा, त्यसमा विचार भर्छन् र अधुरा सपनाहरू साकार पार्न तिनको भूमिका र कर्तव्य सम्झाउँछन् वा सम्झिन्छन् । उही निबन्धको अर्को उदाहरण हेरौँ :

‘हामी ठूलो ल्हुम्पेकको धर्मपुर प्राविमा कार्यक्रम सकेर साँझ दाङसिङ्गा र क्वाङमा गएर बास बस्यौँ । पुस १ गते जनयुद्धका महान् सहिद मनबहादुर तरामु मगर ‘मनोज’ को सहादत भएको स्थान सत्यवती पुग्यौँ । सत्यवतीको डाँडामा पुगेर सहिद मनोज, शिव राहादी मगर ‘दीपक’, हेमलाल श्रेष्ठ ‘धर्ती’ लगायत गुल्मेली सहिदहरूलाई मुठी उठाएर स्मरण गर्यौँ । नयाँ दिनको आँगनमा उभिएर क्रान्तिमा सहिदका योगदानबारे चर्चा गर्यौँ ।’

त्यस्तै अर्को उद्धरण :

आज चैत ५ गते । अर्थात् सांस्कृतिक प्रतिरोध दिवस । अनेकोटका सहिदहरूका बलिदानगाथा सम्झिएर मन तातोतातो भएको छ । एउटा गर्विलोपनको बोध हुन्छ र आफैँभित्र उद्वेलन हुन्छ । म झोलाबाट पुराना किताब निकाल्छु र अनेकोटबारे लेखिएका इतिहासका पन्नाहरू पल्टाउन थाल्छु । पन्नाहरूमा देखिरहेछु– रगतपच्छे अनुहार र प्रतिरोधका शब्दचित्र । पुस्तकमा लेखिएको छ, ‘सांस्कृतिक अभियानका क्रममा काभ्रेको अनेकोटमा पुग्दा काङ्ग्रेस–एमालेको मिलोमतोमा जल्लादहरूले अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य एवम् कलाकार च्याङ्बा लामा, फिक्कल सांस्कृतिक परिवार सिन्धुलीकी निर्मला देवकोटा, मञ्जु कुँवर, शृङ्खला सांस्कृतिक परिवार सिन्धुपलाञ्चोकका डम्बर श्रेष्ठ, सुभद्रा सापकोटा, झुपडी सांस्कृतिक परिवारका गुम्बसिंह तामाङ, चिनीमाया लामालाई एउटा घरमा बसेर सांस्कृतिक कार्यक्रमको रिहर्सल गरिरहेको बेला चारैतिरबाट घेरा हाली गोली हान्यो र घरमा आगो लगायो । उक्त घटना एमालेका तर्फबाट उठेका सांसद विदुर सापकोटा तथा एमाले जिल्ला कार्यकर्ता जनार्दन अधिकारी, मुकुन्द गौतमको अगुवाइ तथा डीएसपी केशव बस्नेतको नेतृत्वमा भएको थियो ।’

‘सहिदभूमिमा उभिएर’ निबन्धलाई यो सङ्ग्रहको मानक निबन्ध हो भन्दा पनि हुन्छ ।

पात्र/प्रवृत्ति र दृष्टिकोण

वर्गसमाजका दुईखाले पात्र : शोषित र शोषक अर्थात् नायक र खलनायक यस निबन्धमा मूर्त वा अमूर्त रूपमा देखिन्छन् । रौँचिरा अध्ययन गर्दा मात्र भिन्नभिन्न निबन्धमा पाइने स्थान, पात्र, प्रवृत्ति र कथानकले पस्किने दृष्टिकोण खुट्ट्याउन सकिन्छ । यसका दुईवटा उदाहरण हेरौँ :

हामी जिन्दगीका हरेक बाधा र कठिनाइका चुचुराहरू नाप्दै क्रान्तिको नयाँ शिखरमा पुग्न आँधी र तुफानसँग लड्दै वर्गसङ्घर्षमा सामेल छौँ । जीवनका थाप्लाहरूमा बाँधिएका दासतापूर्ण नाम्लाका भारीहरू छुटाउनु छ हामीलाई । समयको दुर्दान्त चित्रलाई जीवनको नयाँ उज्यालो गीतमा उन्नु छ । खस्र्यू का फेददेखि मधेसका फाँटसम्म गुञ्जिरहेछन् पसिनाले लेखिएका यिनै गीतहरू । सहिदको रगतबाट जन्मिएका रक्तबीजहरूका भीमकाय सपनाहरूले पोतिएका गीतहरू गुञ्जिरहेछन्– गाउँमा । देश र जनताको पूर्ण स्वतन्त्रता र सिङ्गो मुक्तिका गीत गुञ्जिरहेछन् । यी विद्रोह, वीरता र क्रान्तिको गीत गाउँदा निधारबाट बगेका पसिनाका थोपाहरूले नयाँ युगलाई सिञ्चित गरिरहेछ । पसिनाका गीतहरूले नयाँ युगका नायकहरू जन्माइरहेछ ।

वर्गीय समाजमा हरेक मान्छे कुनै न कुनै विशेष वर्गको सदस्य भएर रहन्छ र बिनाकुनै अपवादले हरेक किसिमको विचारमा विशिष्ट वर्गको छाप परेकै हुन्छ । क्रान्तियात्रामा जीवनका अर्थ र मूल्यहरू फेरिँदा रहेछन् । वर्गसङ्घर्षको यात्रामा सारा कुण्ठा र निराशालाई जितेर अघि बढ्दो रहेछ जीवन । पराजित हुँदा रहेछन् फासिवादका जस्तासुकै दमन र यन्त्रणाका बर्बर मृत्युहरू । हामीलाई थाहा छ, वर्गशत्रुहरू आफूखुसी पराजित भएर जाने छैनन् र राजीखुसी भएर इतिहासको मञ्चबाट तल ओर्लिन तयार हुने छैनन् ।

गुञ्जिरहनेछन् गाउँमा यी गीतहरू
कलात्मकता/चित्रात्मकता

लेखनमा चित्रात्मकता मात्र होइन, स्रष्टाले निबन्धलाई कलात्मक बान्की पनि दिएका छन् । यो कृतिको अर्को वैशिष्ट्य भनेको मौलिक लेखनशैली र कलात्मक प्रस्तुति हो । माक्सवादी स्रष्टाहरू नारावादी हुन्छन् भन्ने प्रतिक्रियावादी र बुर्जुवा समीक्षकहरूको मुखमा बुजो मात्र होइन, चेतनामा ठेडी नै कोचिदिने सामथ्र्यको जादुमयी कलात्मक शैलीका कारण कृति सरस, रसल र पठनीय बनेको छ । यसको एउटा उदाहरण हेरौँ :

उफ् ! हिउँतुसारोले कठ्याङ्ग्रिएर मूच्र्छित भएका यी हातगोडा ! हिँड्दाहिँड्दै पैतालाहरूले खियाएका यी ढुङ्गाहरू, हामीले पैतालामुनि कुल्चिएका डाँडाकाँडा र होचिँदै गएका उकालीहरू, यी सबै बिम्ब हुन् हाम्रा क्रान्ति जीवनका । हाम्रा नाकका डाँडी हुँदै बगेका नुनिला पसिनाका थोपाहरूले हामी हिँडेका बाटाभरि लेखिएका छन् जीवनका सपना । चर्चरी फुटेका पैतालाबाट बगेका रगतले लेखिएका छन् अजम्बरी गीत । निधारबाट बगेको पसिना हाम्रो मसी, मुटुबाट बगेको रगत हाम्रो रङ, यी ढुङ्गा र हिउँतुसारोले ढाकिएको सेतो जमिन र माटो हाम्रो जीवनको कापी । के हामी यी पसिनाले लेखिएका, रगतले रङ्गिएका सपनाहरू पूरा गर्न सक्छौँ ? हाम्रो अगाडि यक्षप्रश्न उभिएको छ ।

सहिदभूमिमा उभिएर

निबन्धमा विषय वा वस्तुलाई शब्द र कलाका माध्यमबाट चित्रजस्तै छर्लङ्ग पार्ने शैली र क्षमता छ खोमा तरामु मगरको । यसो हुँदा पाठकलाई लेखकले चर्चा गरेको वा विषयले लगेको ठाउँमा सशरीर चङ्गा मन लिएर पुगेको अनुभूति हुन्छ । विषय बुझ्न पनि कुनै कठिनाइ हुँदैन र चित्रात्मकता र कलात्मकताका कारण त्यस स्थान, पात्रप्रतिको भावनात्मक सम्बन्ध पनि विशेष हुन पुग्छ । कथा, उपन्यास वा चलचित्रहरूमा नायक बनाउन जुन विधि प्रयोग गरिन्छ, निबन्धकारले यसमा पनि त्यही विधि प्रयोग गरेर निबन्धलाई झङ् कृत र सुललित बनाएका छन् । अलि लामै उद्धरण भए पनि त्यसका दुईवटा उदाहरण हेरौँ :

जङ्गलको साँधमा पश्चिम फर्किएको भिरालो÷भिरालो पखेरोमा छ ठूलो ल्हुम्पेक गाउँ । बिहानीको पर्दा खुल्छ मसिना, गुराँसे डाँडा, हिले, पहेँलीवन र हचिङ्कोट लेकबाट । टाउको फनक्क दक्षिण घुमाएपछि देखिन्छ– पाल्पाको श्रीनगर डाँडा । पश्चिमतिर बडिगाड बगेको छ सलल, पूर्वतिर कालीगण्डकी नदी । उत्तरतिर थाप्ले मसिनाको लेक । बीचमा छ, ल्हुम्पेकको सघन बस्ती । गाउँ हिजोजस्तो छैन । मोटर आइपुगेको छ गाउँमा । विज्ञान र प्रविधिको विकासले मोबाइल–इन्टरनेट चलेका छन् हात–हातमा । गाउँ र सहरबीच ठूलो अन्तर छैन र यो परस्पर निर्भर बन्दै गएको छ । गाउँ र सहरको दूरी नजिकिएको छ । सम्भवतः यो नेपालको मात्र नभएर विश्वको नयाँ चरित्र बनेको छ । भौतिक जगत्मा आएको परिवर्तनले मानवीय चिन्तन र व्यवहारमा पनि परिवर्तन ल्याएको छ । ठूलो ल्हुम्पेक सत्यवती डाँडामा उभिएर मैले एकपटक लामो सास फेरेँ र आँखालाई पर–परसम्म हुत्याएँ । धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण उच्च हिमशृङ्खलाहरू लहरै उभिएका छन् अगाडि ।
गुञ्जिरहनेछन् गाउँमा यी गीतहरू

उज्यालो हुन लागेको छ । अँध्यारोमा कर्कश आवाज सुनिन्छ । मनभित्र अनेक आशङ्काहरू उब्जिएका छन् । साँच्चै यो गाउँ निदाएको छ तर मान्छेहरू निदाएका छैनन् । गाउँको पश्चिमतिर तुरुन्तपुर बस्ती छ । पूर्वतिर बानियाँभार र दक्षिणतिर भटेनीगाउँ छ । उत्तरतिर सुराई खोला छ । पूर्वतिर उज्यालोको पर्दा बिस्तारै खुल्दैछ । यो गाउँले राज्यका थुप्रै दमन र शोषणका व्यथा र प्रतिरोधका कथाहरू बोकेको छ । यो गाउँ अरूभन्दा फरक छ, एकदमै फरक । सङ्घर्ष र प्रतिरोधको पर्याय हो यो गाउँ । शिवगढी अर्थात् लालगाउँ । मान्छेहरू यो गाउँलाई ‘मिनी–रोल्पा’ भन्छन् । दुस्मनका आँखामा कम्युनिस्टहरूको गाउँ हो, ‘आतङ्ककारी’ हरूको गाउँ हो । म त्यही बस्ती अर्थात् लालगाउँ आइपुगेको छु ।
शिवगढी अर्थात् लालगाउँ

सरलता/सरसता

कुनै पनि कृति अर्को कृतिबाट पृथक हुन त्यसमा प्रयोग भएको विषय र पात्र मात्र होइन, शैली मुख्य कारक बन्छ । मननीय र ग्रहणीय बन्नका लागि त्यस कृतिमा प्रयुक्त भाषाको सरलता र सरसता कारक बन्छ । अन्यथा एउटै विषयमा लेखिएका रचना वा सिर्जनामा पृथक्ता प्राप्त गर्न सकिने थिएन । विषयको प्रस्तुति र वर्णनमा सरलता र सरसता खोमाको यो कृतिको पर्याय हो भने पनि हुन्छ । सामान्य लाग्ने विषयलाई पनि उनले एउटै भावमा सरस शैलीमा सरलतापूर्वक प्रस्तुत गरेका छन् । त्यसैले यो कृति पठनीय र स्मरणीय पनि बनेको छ । एउटा उदाहरण हेरौँ :

घाम डुबिसकेको छ, साँझ भने परिसकेको छैन । पूर्वतिर अँध्यारो फैलिँदो छ । उज्यालो पर्खिरहेको छ बस्ती । गाउँ–सहर चारैतिर दुस्मनले निगरानी बढाएको छ । पत्रपत्रिकामा थरीथरीका समाचार आइरहेका छन् । जनतामा नयाँ आतङ्क उत्पन्न भएको छ । हामी वर्गवैरीद्वारा घेरिएका छौँ । चारैतिर निगरानीमा छन् दुस्मनका आँखाहरू । हामी दुस्मनसँग लुकामारी खेलिर हेछौँ । घरिघरि आमने–सामने नै हुन्छौँ उनीहरूसँग । हतियारद्वारा सुसज्जित छन् उनीहरू । हामीसित त्योभन्दा शक्तिशाली अर्थात् मालेमावादी विचार र बलिदानीपूर्ण भावना छ । हाम्रा सपनाहरूलाई कैद गर्न खोजिँदैछ बन्दुकको नोकभित्र । निर्धक्क सास फेर्न प्रतिबन्ध छ र हृदयमा ठेस पुर्याइएको छ । दुस्मनले सूचना पाए कुनै पनि बेला पक्राउ गर्नेछ । हामीले संसदीय राजनीतिको भण्डाफोर गर्दै पश्चिम मधेसमा एकीकृत जनजागरण तथा प्रतिरोध अभियान चलाएका छौँ ।

उपसंहार

‘हामीलाई क्रान्तियात्रामा सुसाएको हावा र त्यसमा मिसिएको सपना प्रिय छ । तर प्रिय सपनाहरूमा विषाक्त रसायन घोल्ने प्रयास गरिरहेछन् दुष्टहरू । हाम्रो क्रान्तिको उकालो यात्रा रोकिएको छैन । जबसम्म रोकिन्न जीवनको गति, रोकिन्न हृदयको धड्कन, तबसम्म रोकिन्नन् हाम्रा गीतहरू । हामी निशाचर हरूविरुद्ध गीत गाउँदै उकालो चढिरहेछौँ । यो युगको नयाँ उचाइबाट पसिनालाई गीतमा र गीतलाई जीवनमा घोल्ने नयाँ अभियानमा छौँ हामी ।’

सहिदभूमिमा उभिएर

सपनाको भन्ज्याङतिर पुस्तकको प्रथम पाण्डुलिपि अध्ययन गरेर पुस्तकको भाषिक सम्पादन गर्ने र अखिल नेपाल लेखक सङ्घ केन्द्रीय समितिका तर्फबाट प्रकाशकीय लेख्ने अवसर प्राप्त भएको थियो । भलै संस्कृति र व्यवहारका खोटा केही ‘ लिलिपुट’ हरूले खिमा र निभाका पुस्तक सम्पादनको समयमा जस्तै छिर्किनी हानेका कारण पुस्तकमा देखिने गरी त्यो इतिहास लेखिन पाएन । उक्त प्रकाशकीयमा ‘सपनाको भञ्ज्याङतिर अर्थात् मुक्तियात्राका निबन्धहरू’ शीर्षकमा छोटो टिप्पणी गर्दै मैले लेखेको थिएँ : क्रान्तिप्रति चरम निराशा र उत्कट आशाका बीच भीषण टकराव र सङ्घर्षको याम हो यो । यो सपना देखाउनेले नै हत्या गरेका सपना ब्युँताएर, बोकेर क्रान्तिकारी योद्धाहरू शिखरतिर लम्किँदै गरेको याम हो । महान् जनयुद्धका उच्च सपना र लक्ष्य पूरा गर्ने र समाप्त पार्ने दुई दर्शन, विचार र प्रवृत्तिबीच भीषण सङ्घर्षको टकरावको उत्कर्षको पल हो यो । हो यही पल, यही याममा सुन्दर सपनाका पक्षमा ‘सपनाको भञ्ज्याङतिर’ शीर्षकमा सुन्दर आशावादी माक्सवादी निबन्धहरू लिएर आउनुभएको छ युवा माक्र्सवादी स्रष्टा नियात्राकार खोमा तरामु मगर । नेपाल कम्युनिस्ट पार्टीको सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको एक सशक्त र गौरवशाली आङ्गिक सङ्गठन अखिल नेपाल लेखक सङ्घलाई यो सुन्दर कृतिको प्रकाशनको अभिभारा छ । हाम्रा लागि यो सुखद र गौरवको पल हो । यसका लागि हाम्रो सङ्गठन लेखक कमरेड खोमा तरामु मगरलाई बधाई ज्ञापन गर्छ र माक्सवादी रचनाहरूको सिर्जनाको निरन्तरताका लागि हार्दिक शुभकामना पनि प्रकट गर्दछ ।

कवि एवम् निबन्धकार खोमा तरामु मगर हाम्रो गौरवशाली सङ्गठन अखिल नेपाल लेखक सङ्घका महासचिव हुनुहुन्छ । युवा पुस्ताका अत्यन्त आशालाग्दा र भरपर्दा स्रष्टा पनि हुनुहुन्छ खोमा । युवा पुस्ताका सशक्त माक्र्सवादी कविका रूपमा स्थापित खोमालाई निबन्धमा पाउँदा पाठकहरूलाई लयात्मक गद्य कविता पढेको भान हुन्छ र आलोचकहरूलाई नेपाली माक्सवादी साहित्याकाशमा भर्भराउँदा युवा स्रष्टाको उपस्थितिले निकै नै आशावादी बनाउँछ ।

यस सङ्ग्रहका अधिकांश निबन्ध नियात्रा हुन् र आत्मपरक/निजात्मक शैली र संस्मरण शैलीका लेखोटहरू हुन् । एउटै विषय, योजना वा शृङ्खलामा नउनिएका स्फुट रचनाको सङ्कलन भए पनि यी निबन्धहरू एउटै लक्ष्य र उद्देश्यले ओतप्रोत छन् । मालेमावादी विचारलाई केन्द्रमा राखेर लेखिएका यी निबन्धहरूमा एकातिर सपनाहरू आगो लगाएर निर्माण भएको भुत्भुतेमा छट्पटाइरहेको र क्रान्तिप्रति निराशा, अफवाह, दमन, व्यभिचार फैलाइरहेको अवसरवादी, आत्मसमर्पणवादी, संशोधनवादी, प्रतिक्रियावादी वर्ग छ र ठीक अर्कातिर झर्झराउँदा सपना बोकेर क्रान्तियात्रामा निस्किएको आशावादी योद्धाहरूको रहरलाग्दो सुन्दर जमात छ । वर्गविभक्त समाजका यी दुई पक्षहरूमा पहिलो पक्ष दैनिक र पलपल विकर्षण, पलायन, घात, विघटनको ओरालो यात्रामा स्खलित भइरहेको देख्न सकिन्छ भने पछिल्लो वा अर्को पक्ष देश र जनताको मुक्तिको सपना बोकेर निरन्तर लामो यात्रामा दगुरिरहेको देख्न सकिन्छ । अर्थात् निर्माणाधीन नयाँ समाज–व्यवस्थाको दुरुस्त ऐना देखिन्छ यस कृतिमा । यात्राका क्रममा भेटिएका पात्र र प्रवृत्तिहरूको सुन्दर चित्रण छ र सबै पात्रले आफ्नो लक्ष्य, उद्देश्य र सपना बोकेको छर्लङ्ग देखिन्छ । यसमा श्रमिक, उत्पीडित, पददलित, उपेक्षित वर्गका पात्रहरूको चित्रण पढ्दा लाग्छ, यति सुन्दर सपना बोकेका श्रमिकजनहरूको साथ छ र त क्रान्ति द्रुत गतिमा यति छिट्टै शिखरतिर उक्लिइरहेको छ । आख्यानात्मकता बोकेका प्रायः सबै रचनाले पाठकलाई लोभ्याइरहन्छन् । मौलिक र सरस शैलीका कारण अझै पढौँ, अझै रमाऊँ भन्दाभन्दै कृति सकिएको पत्तै हुँदैन ।

प्रकृतिको सजीव र जीवन्त चित्रण, प्रकृतिको मानवीकरण, युद्धविभीषिकाका छाल, तरङ्ग र सपनाहरूको लदाबदी पाइन्छ कृतिभरि । लाग्छ, स्रष्टा जनयुद्धमै छन् र युद्धगान लेखिरहेका छन् निबन्धका माध्यमबाट । अनि यी निबन्धहरू काव्यात्मक निबन्ध हुन् । पढ्दै जाँदा पाठकलाई म निबन्ध/नियात्रा पढिरहेको छु कि गद्य काव्यमा कुनै कलात्मक उपन्यास पढ्दैछु भन्ने द्विविधा उत्पन्न गराइदिन्छ । सरलता र सरसताको जादुले निबन्ध अत्यन्त सहजसंवेद्य बनेको छ ।

महान् जनयुद्धले साहित्य, संस्कृति र कलाको विकासमा ठूलो योगदान पुर्यायो । नेपाली माक्सवादी साहित्यको स्वर्णकाल भने पनि हुन्छ जनयुद्धकालीन साहित्य–लेखनलाई । जनयुद्धका नायक भनिएकाहरूबाटै जनयुद्धको विसर्जनपछि र राजनीतिक–सांस्कृतिक रूपमा प्रतिक्रान्ति लादिएपछि अन्य विधामा झैँ माक्सवादी साहित्यमा निबन्ध विधाको पनि खडेरीजस्तै परेको थियो । वैचारिक लेख, समीक्षा/सलामोचना र कविता/गीतले मात्रै धान्नुपरिरहेको अवस्थामा एकीकृत जनक्रान्तिको विकास र प्रयोगसँगै फेरि संस्मरण, नियात्रा, निबन्ध विधाले गति पाएको छ र यसको स्थुल अभिव्यक्ति बन्न पुगेको छ यो कृति ।… यी निबन्धले स्थान, पात्र, परिवेश, घटना सबैका माध्यमबाट क्रान्तिलाई केन्द्रमा राखेका छन् र प्रतिक्रान्तिको चिहानमाथि क्रान्तिको विजयकिल्ला स्थापना गर्दै एकीकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवाद स्थापना गरेरै छोड्ने सजीव सपना देखाएका छन् । क्रान्तिको यो ज्वारभाटाले असमानता, शोषण–व्यभिचार र दलालीमा टिकेको यो ऐँजेरु सत्ता ढल्ने र त्यसको भग्नावशेषमाथि महान् सहिद, बेपत्ता र घाइते योद्धाहरूले देखेको सपनाको मालेमावादको सुन्दर फूलबारी निर्माण हुनेमा कुनै द्विविधा छैन । यस कृतिले यिनै सपनाहरू सार्थक हुने सम्भावना प्रबल हुँदै गएको देखाएको छ । यसरी यो अब्बल माक्सवादी कृति बन्न पुगेको छ ।

जे होस्, सपनाको भन्ज्याङतिर मुक्ति शिखरतर्फको यात्राको कलात्मक संस्मरणात्मक दस्ताबेज हो र यो नेपाली माक्सवादी निबन्धहरूमा एउटा कोसेढुङ्गा पनि हो भन्दा अत्युक्ति हुनेछैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :