फुङ्लीङ बजारबाट सक्कल गिरफ्तार, नेकपाद्वारा रिहाईको माग

३ बुँदे सहमतिलाई इमान्दारीता पूर्वक सरकारले पालना गरोस्

फुङ्लीङ बजारबाट सक्कल गिरफ्तार, नेकपाद्वारा रिहाईको माग

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी मेची–कोशी व्युरोले सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति पश्चात सरकारको तर्फबाट पूरा गरिनुपर्ने सहमतिको उलङ्घन गर्दै ताप्लेजुङ जिल्ला कमिटी सदस्य सागर लिम्बु ‘सक्कल’ लाई गिरफ्तार गरिनुले सहमतिप्रति सरकारको इमान्दारीतामाथि प्रश्न उठेको बताएको छ । व्युरो इन्चार्ज प्रकाशले शुक्रबार प्रेस विज्ञप्ति निकाली बिहीबार साँझ ताप्लेजुङ सदरमुकामस्थित फुङ्लीङ बजारमा पार्टी कामको शिलशिलामा हिडिरहेका सागर लिम्बु ‘सक्कल’ लाई गिरफ्तार गर्नुले वर्तमान सरकारको नियतप्रति आशंका गर्ने अवस्था स्वयम् सरकारले पैदा गरेको भन्दै तत्काल रिहाईको माग गरेका छन् ।

व्युरो इन्चार्ज प्रकाशले विज्ञप्तिमा भनेका छन्, ‘हिजो मिति २०७७/१२/१२ गते साँझको समयमा ताप्लेजुङ सदरमुकामस्थित फुङ्लीङ बजारमा पार्टी कामको शिलशिलामा हिडिरहेका हाम्रो पार्टी ताप्लेजुङ जिल्ला कमिटी सदस्य सागर लिम्बु क. ‘सक्कल’ लाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । पार्टी प्रतिबन्धकै अवस्थामा लागेको हात हतियार खरखजना मुद्दाको शिलशिलामा हिरासतमा लिनु परेको प्रहरीले बताएको छ ।’

इन्चार्ज प्रकाशले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘सरकार र हाम्रो पार्टीबीच भएको तीन बुँदे सहमति पश्चात सरकारको तर्फबाट पूरा गरिनुपर्ने सहमतिको उलङ्घन गर्दै यसरी गिरफ्तार गरिनुले सहमतिप्रति सरकारको इमान्दारीतामाथि प्रश्न उठेको छ । एकातर्फ बिभिन्न कानुनी जटिलताहरु रहेको र तिनलाई सुल्झाउन समय लागेको हुनाले जेल बन्दीहरुलाई समयमै रिहा गर्न नसकिएको बताइरहेको सरकारले यसरी हाम्रो पार्टीका कमरेडहरुलाई गिरफ्तार गर्नुले वर्तमान सरकारको नियतप्रति आशंका गर्ने अवस्था सरकार स्वयम्ले पैदा गरेको छ ।’

प्रकाशले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘तीन बुँदे सहमतिप्रति प्रतिबद्ध रहेको हाम्रो पार्टी आफुले गरेका सहमतिप्रति नेपाल सरकार प्रतिबद्ध बनोस् र इमान्दारीता पूर्वक सहमतिको पालना गरोस् भन्न चाहान्छ । साथै हिजो गिरफ्तार क. सक्कललाई तुरुन्त रिहाईको माग गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :