आमूल परिवर्तनका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : बास्तोला

कैलालीमा आधारभूत पत्रकारिता तालिम उद्घाटन

आमूल परिवर्तनका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण : बास्तोला

सुखड, कैलालीबाट अम्बिका चन्द/अशोक सुवेदी : नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले विद्यमान पुँजीवादी व्यवस्था अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्न जनपक्षीय पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । कैलालीको सुखडमा बुधबारबाट सुरु भएको तीनदिने आधारभूत पत्रकारिता तालिम उद्घाटन गर्दै नेकपा नेता कञ्चनले विद्यमान संसदीय व्यवस्था अन्त्य गरी मुलुकको आमूल परिवर्तनका लागि जनपक्षीय पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा हाम्रो ऐक्यबद्धता, मानवअधिकारको रक्षा र सामाजिक उत्तरदायित्वका लागि जनपत्रकारिता’ नारासहित रातो खबर प्रकाशन गृह प्रालि र जनपत्रकार सङ्गठनको आयोजनामा आधारभूत पत्रकारिता तालिमको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले दीप प्रज्वलन गरेर तालिमको उद्घाटन गरे । उद्घाटन कार्यक्रममा नेकपा नेता कञ्चनले पत्रकारिताका विभिन्न आयामहरू भएको र यसले देश र समाजलाई कतातिर लैजाने भन्ने विषयमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । दलाल पुँजीवादी उत्पादन सम्बन्धले गाँजेको हाम्रोजस्तो देशमा पत्रकारिताको जिम्मेवारीे जनतालाई बुझाउने भएको भन्दै नेता कञ्चनले जनपक्षीय पत्रकारिताले देश र जनताका आवाज बुलन्द गर्नुपर्ने बताए ।

समसामयिक राजनीतिक विषयमा प्रशिक्षणमूलक मन्तव्य राख्दै नेता कञ्चनले हालै नेपाल सरकार र आफ्नो पार्टीबीच भएको तीनबुँदे सहमति कार्यान्वयनको चरणमा अघि बढिरहेको बताए । सरकारले सबै बन्दीहरूलाई रिहा गर्नेमा सबैको विश्वास रहेको र सबै नेता–कार्यकर्तालाई एकैसाथ रिहा गर्ने प्रक्रियामा सरकार गएको उनले बताए ।

समाज व्यवस्थाको मुख्य आधार अर्थतन्त्र भएकाले यसलाई नबदलीकन उपरिसंरचना मात्रै बदलेर सबैखाले समस्याको समाधान नहुने धारणा राख्दै कञ्चनले समाज व्यवस्था बदल्नका लागि सम्पूर्ण आधार बदल्नुपर्ने बताए । यसका विषयमा आफ्नो पार्टी सबैसँग निरन्तर छलफलको प्रक्रियामा रहेको भन्दै कञ्चनले नेपालमा कस्तो राज्यप्रणाली आवश्यक छ भन्ने विषयमा आफ्नो पार्टी जनतामा खुला रूपले बहस गर्न तयार भएको बताए । नेपालमा विभिन्न समयमा भएका सङ्घर्ष र आन्दोलनहरूले आंशिक रूपमा परिवर्तन गरे पनि आधारभूत आर्थिक संरचनामा परिवर्तन नभएकाले आमूल परिवर्तन आवश्यक भएको बताए । आर्थिक आधार परिवर्तन नभएसम्म उपरिसंरचना मात्र परिवर्तन गरेर देशले गति लिन नसक्ने भन्दै उनले आमूल परिवर्तन देशको आवश्यकता भएको बताए । उनले भने, ‘राजनीतिक उपरिसंरचना र आर्थिक आधारमा भएका समस्याहरूका बारेमा हामी सबै पक्षसँग निरन्तर छलफल गर्नेछाैँ । देश अहिले दुष्चक्रमा फसेको छ । देश अकाल, भोकमरी, अशिक्षा, भ्रष्टाचारको चङ्गुलमा फसेको छ । नेपालमा आंशिक रूपमा केही परिवर्तनहरू भए । नेपालमा विश्वेश्वरप्रसाद कोइरालाले नेतृत्व गरेको सङ्घर्षबाट सात सालपछि केही परिवर्तन भयो । पञ्चायत कालमा केही परिवर्तन भयो तर आमूल परिवर्तन जनताको अपेक्षा छ ।’

नेता कञ्चनले जोड दिँदै भने, ‘नेपालको यही संसदीय प्रणालीमा नेपाल कम्युनिस्ट पार्टी सहभागी हुँदैन ।’ यही सरकार अथवा व्यवस्थामा आफ्नो पार्टी सहभागी हुने भनी चलाइएको हल्ला नियोजित दुष्प्रचार रहेको नेता कञ्चनको भनाइ थियो । उनले यही सरकार र सत्तामा गएमा आफ्नो पार्टी अरु पार्टीभन्दा फरक नहुने भन्दै कञ्चनले आफ्नो पार्टी कसैसँग मिलेर सरकारमा जाने वा चुनाव लड्ने खेलमा नलाग्ने बताए । साथै उनले देशका सबै क्रान्तिकारी शक्तिहरूलाई एकताबद्ध गरेर बृहत् कम्युनिस्ट क्रान्तिकारीहरूलाई समावेश गर्न सकिने बृहत्तर एकताका पक्षमा रहेको बताए ।

जनताको सबैभन्दा उत्तम व्यवस्था वैज्ञानिक समाजवाद निर्माण गर्नका लागि आफ्नो पार्टीले जनमतसङ्ग्रहको प्रस्ताव अघि सारेको र यसलाई जनताको बीचमा लगेर व्यापक छलफल गर्ने नेता कञ्चनले बताए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य ओमप्रकाश पुनले पुँजीवादी विश्वमा स्वतन्त्र पत्रकारिता देखाउने दाँत मात्र भएको बताए । उनले भने, ‘समाज वर्गीय भएको कारण पत्रकारिता पनि वर्गीय पक्षधरतामा आधारित छ ।’ पत्रकारले यथार्थ धरातलमा उभिएर पत्रकारिता गर्नुपर्ने धारणा राख्दै उनले आवरणमा व्यावसायिक पत्रकारिता भने पनि सबैले व्यवहारमा आआफ्नो स्वार्थसहितको मिसन पत्रकारिता गरिरहेको बताए । उद्घाटन कार्यक्रमको अध्यक्षता गर्दै रातो खबर प्रकाशन गृह प्रालिका निर्देशक वसन्त श्रेष्ठले समाज रूपान्तरणको दायित्व पत्रकारहरूको भएकाले तालिमको उद्देश्य प्रशिक्षार्थी पत्रकारहरूलाई पत्रकारितासम्बन्धी ज्ञानले ओतप्रोत पार्नु रहेको बताए । पत्रकारितालाई जनपत्रकारितामा रूपान्तरण गर्न आवश्यक रहेको धारणा राख्दै श्रेष्ठले तालिमबाट लिएको ज्ञान व्यवहारमा रूपान्तरण गर्नुपर्ने बताए ।

नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशकी उपाध्यक्ष चाँदनी आचार्य र ब्रोडकास्ट एसोसिएसन नेपालका सचिव खगेन्द्र जैसीले तालिम सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

उद्घाटन सत्रमा राष्ट्रिय जागरण मञ्चका अध्यक्ष तथा रातो खबर प्रकाशन गृहका पूर्वनिर्देशक गुणराज लोहनी, नेकपाका केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इन्चार्ज डबलबहादुर शाह, समाजवादी राष्ट्रिय मञ्च नेपालका संयोजक देवीदत्त पाण्डे, राष्ट्रिय जागरण मञ्चकी देवकला अधिकारी, रातो खबर प्रकाशन गृहका सम्पादक अशोक सुवेदी, कैलाली एफएमका सञ्चालक वीरेन्द्र शाह, अखिल नेपाल शिक्षक सङ्गठनका केन्द्रीय उपाध्यक्ष धनबहादुर बमलगायतको उपस्थिति थियो ।

आज सुरु भएर तीन दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन सत्रको सञ्चालन रातो खबर प्रकाशन विभागकी सदस्य अम्बिका चन्दले गरेकी थिइन् । रातो खबर प्रकाशन विभागको पश्चिम संस्करण प्रमुख विनोद विष्टले उद्घाटन सत्रमा सहभागी प्रमुख अतिथि, अतिथि, प्रशिक्षक र प्रशिक्षार्थीलाई स्वागत गरेका थिए । जनपत्रकार सङ्गठनका सेती–महाकाली संयोजक प्रकाश थापाले अतिथिहरूलाई ब्याच वितरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :