निर्माण र ग्रिल तथा धातु मजदुर संघको संयुक्त सातौँ राष्ट्रिय सम्मेलन

निर्माण र ग्रिल तथा धातु मजदुर संघको संयुक्त सातौँ राष्ट्रिय सम्मेलन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघ र अखिल नेपाल क्रान्तिकारी ग्रिल तथा धातु मजदुर संघको सातौँ राष्ट्रिय सम्मेलन बुधबार काठमाडौँमा सम्पन्न भएको छ ।

देशैभरिको प्रतिनिधिहरुको उपस्थिति रहेको सम्मेलनले निर्माण मजदुर संघको १७ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ । सम्मेलनले अध्यक्ष रामशरण तिमल्सिना, उपाध्यक्ष जितबहादुर श्रेष्ठ, महासचिव भिम राई, सचिव निरज फुँयाल, सदस्यहरु उमेश बुढाथोकी, सुरेश पण्डित, प्रेम परियार, प्रदेशी मल्ल, आशराम थारु, चन्द्रमान यादवलाई निर्वाचित गरेको छ भने कोषाध्यक्ष र बाँकी केन्द्रीय सदस्य बैठकबाट थप गरिने निर्णय गरिएको छ ।

ग्रिल तथा धातु मजदुर संघको सम्मेलनले पनि १७ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ । निर्वाचितहरुमा अध्यक्ष बिकास थापा, केन्द्रीय सदस्यहरु रोहित बराम, नबराज थापा, अनिस बराम र शान्ति महर्जनलाई निर्वाचित गर्दै बाँकी पदाधिकारी र सदस्यहरु बैठकद्वारा थप गरिने भएको छ ।

सम्मेलनलाई सम्बोधन गर्दै संयोजक बिनोद थापाले अब मजदुर संगठनले मजदुरको बीचमा नयाँ एजेण्डा लिएर जानुपर्ने, क्रान्तिकारी मजदुर आन्दोलनले मजदुरको समस्यालाई एकीकृत ढङ्गबाट निकास निकाल्नु पर्नेमा जोड दिँदै यथास्थितिवादी भ्रमबाट मजदुर मुक्त हुनुपर्ने, संगठनलाई गतिशील बनाउँन बैचारिक स्पष्टतासँगै संगठन निर्माण गरि संघर्ष छेड्नुपर्ने बताए । उनले अन्तर्राष्ट्रिय मजदुर दिवस मई १ नारायणी ब्युरो अन्तर्गत चितवनमा बैशाख १८ गते भव्य रूपमा मजदुरसभा गरि मनाउन गइरहेकोले १३२ औँ मजदुर दिवसको ऐतिहासिक महत्वबोध गर्दै त्यसै अवसरमा राष्ट्रिय सम्मेलन गरिने बताए । नब निर्वाचित पेशाको केन्द्रीय सदस्यहरूलाई कार्यकालको शुभकामाना दिँदै सक्रिय रूपमा लाग्न आह्वान्समेत उनले गरे ।

उक्त राष्ट्रिय सम्मेलनमा महांघको सातौँ राष्ट्रिय सम्मेलन आयोजक समितिका संयोजक बिनोद थापा, उपत्यका विशेष क्षेत्रीय समन्वय समितिका संयोजक शिशिर थापामगर, संघ–संस्था श्रमिक संघका अध्यक्ष इश्वर बुढाथोकीको उपस्थिति रहेको थियो । पेशाको सम्मेलनको सभा अध्यक्ष रामशरण तिमल्सिना रहेका थिए भने सञ्चालन विकासले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :