युवा सङ्गठन र अखिल क्रान्तिकारी अभियानमा

युवा सङ्गठन र अखिल क्रान्तिकारी अभियानमा

काठमाडौँ : अखिल (क्रान्तिकारी) र युवा सङ्गठन देशव्यापी सङ्गठन निर्माणमा जुटेका छन् । युवा सङ्गठनको आगामी जेठ १४–१६ गते दाङमा र विद्यार्थीको जेठ १–४ गतेसम्म काठमाडौँमा हुने राष्ट्रिय सम्मेलन सफल पार्न युवा र विद्यार्थी सङ्गठन देशभर साङ्गठनिक काममा जुटेका हुन् ।

यसैबीच अखिल (क्रान्तिकारी) ले कपिलवस्तुमा विद्यार्थी भेटघाट अभियानलाई तीव्रता दिएको छ भने कैलालीमा सङ्गठन विस्तार अभियान तीव्र पारिएको छ ।

प्राप्त समाचारअनुसार अखिल क्रान्तिकारीले पूर्वी कमान्डअन्तर्गत महोत्तरीका श्री जनता माध्यमिक विद्यालय र कृषि प्राविधिक शिक्षालयमा तेजनारायण महतोको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको छ । त्यस्तै अखिल क्रान्तिकारी नवलपुरले सांगठनिक अभियानका सिलसिलामा निजी विद्यालयहरुले उठाइरहेको चर्को शुल्कविरुद्धको आन्दोलनमा ऐक्यबद्धता जनाउन विद्यार्थी भेटघाट गरेको छ ।

यता भक्तपुरको मध्यपुर ठिमी नगरपालिकास्थित गणेश माविमा राजेन्द्र नेपालको अध्यक्षतामा १९ सदस्यीय समिति निर्माण गरिएको छ । काठमाडौँको एनआर कलेजमा सङ्गठन निर्माण भएको समाचारमा जनाइएको छ ।

यस्तै कैलाली, भक्तपुर चितवन, बर्दिया, रुकुमलगायत विभिन्न जिल्लामा पनि अखिल (क्रान्तिकारी) ले सङ्गठन निर्माण, पुनर्गठन र विस्तार अभियानलाई तीव्रता दिएको छ ।

यसैबीच कैलालीमा युवा सङ्गठन नेपालको सङ्गठन विस्तार अभियानलाई तीव्रता दिइएको छ । सङ्गठन विस्तार अभियानअन्तर्गत जिल्लाको धनगढी उपमहानगरपालिकामा अनिलको अध्यक्षतामा १५ सदस्यीय नगर समिति गठन गरिएको छ । कार्यक्रममा अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य बबरजङ्ग सिंह, युवा सङ्गठन नेपालका जिल्ला संयोजक पुष्प भट्ट ‘ओम’, नेपाल कम्युनिस्ट पार्टी कैलाली जिल्ला सदस्य एवम् नगर सेक्रेटरी अडान, युवा सङ्गठनका दीपकलगायत नेता–कार्यकर्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :