संसदीय व्यवस्थाको विकल्पमा बृहत् बहस

वैज्ञानिक समाजवाद स्थापनामा बौद्धिकहरूको जोड

संसदीय व्यवस्थाको विकल्पमा बृहत् बहस

काठमाडौँ : नेपालमा संसदीय व्यवस्था असफल भइसकेकाले अब ढिला नगरी त्यसको विकल्पमा नयाँ व्यवस्था स्थापना गर्नुपर्नेमा काठमाडौँमा आइतबार आयोजित कार्यक्रमका वक्ताहरूले जोड दिएका छन् ।

राष्ट्रिय जागरण मञ्च नेपालको आयोजनामा भएको ’संसदीय व्यवस्थाको असफलता र अबको विकल्प’ विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले असफल संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवाद रहेकोमा जोड दिएका हुन् ।

कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गजुरेलले असफल संसदीय व्यवस्थाको विकल्पमा नयाँ व्यवस्था स्थापनाका लागि चार राजनीतिक दल संयुक्त रणनीतिक मोर्चा बनाएर एक ठाउँमा उभिएको बताए ।

‘संसदीय व्यवस्था असफल हुनु सिङ्गो प्रणालीकै असफलता हो । त्यस व्यवस्थाका पक्षधर पार्टीको असफलता हो । नेतृत्वको असफलता हो । व्यक्तिहरूको पनि असफलता हो’, उनले भने, ‘हामीले अब सरकारको पनि विकल्प दिनुपर्छ र व्यवस्थाको पनि विकल्प दिनुपर्छ भनेर संयुक्त रणनीतिक मोर्चामार्फत नयाँ संयुक्त सरकारको विकल्प पनि दिएका छौँ । व्यवस्थाको विकल्प पनि नौलो जनवादी व्यवस्था हुँदै वैज्ञानिक समाजवादी हुनुपर्छ भनेर लागेका छौँ ।’ त्यसका लागि बृहत् सडक आन्दोलन आवश्यक रहेको उनले बताए ।

उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य उदयबहादुर चलाउने ‘दीपक’ ले संसदीय व्यवस्थाको असफलता भइसकेकाले अबको विकल्प वैज्ञानिक समाजवादी व्यवस्था रहेको बताए । उनले यस विषयमा बृहत् छलफल आवश्यक रहेको धारणा पनि राखे ।

संसदीय व्यवस्थाको असफलता संसद् विघटनले छर्लङ्ग पारेको र पुँजीवादी व्यवस्थाको असफलता कोरोनाले राम्रोसँग उजागर पारेको प्रस्ट पार्दै उनले भने, ‘अबको समाधान मध्यावधि निर्वाचन, संसदीय व्यवस्था र पुँजीवादी व्यवस्था पनि होइन । यसको विकल्प वैज्ञानिक समाजवादी व्यवस्था हो । त्यसकारण वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि जग बसोस् भनेर हामीले प्रगतिशील संयुक्त सरकार हुनुपर्छ भनेका छौँ ।’

त्यसका लागि कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीभन्दा बाहिर रहेका दल तथा विज्ञहरूसँग पनि छलफल गर्नुपर्छ भन्ने नेकपाको कार्यनीति रहेको उनको भनाइ थियो । अहिलेको राजनीतिक परिस्थितिको निकास संवाद र सहकार्यबाट निकाल्नुपर्नेमा जोड दिँदै नेकपा नेता दीपकले नेपालको अग्रगमन, नेपाली जनताको प्रगति र उन्नतिका लागि अगाडि बढ्न रूपान्तरणका पक्षपाती शक्तिहरूलाई आह्वान पनि गरे ।

जनअधिकार अभियान नेपालका संयोजक एकराज भण्डारीले संसदीय व्यवस्था असफल भइसकेकाले यसलाई जति टालटुल गरे पनि सुधार हुन नसक्ने ठोकुवा गरे । बिग्रेको होन्डा मोटरसाइकलमा टाटा कम्पनीको पार्टपुर्जा राखेर नचलेजस्तै सुधारिएको संसदीय व्यवस्था टिक्न नसक्ने उनको भनाइ थियो । संसदीय व्यवस्थाको विकल्प वैज्ञानिक समाजवादी व्यवस्था हो भन्ने शक्तिहरूले ढिला नगरी बहसमा उत्रिनुपर्ने र व्यवहारमा लागू गर्नुपर्ने उनले बताए ।

राष्ट्रिय जागरण मञ्च नेपालका संयोजक गुणराज लोहनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक विश्वभक्त दुलालले संसदीय व्यवस्था पुँजीवादी प्रणालीको अङ्ग भएकाले पुँजीवादका विरुद्ध व्यापक बहस र छलफल आवश्यक रहेको बताए । समाजवादको बाटो निर्माणका लागि पाको पुस्ताले संयोजन गर्नुपर्ने उनको जोड थियो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य राम कार्कीले नेपालमा अब कस्तो व्यवस्था स्थापना गर्नुपर्छ भन्ने विषयमा छलफल आवश्यक भइसकेको बताए ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अर्जुन कार्कीले अब संसदीय व्यवस्थातर्फ नभई नयाँ व्यवस्थातर्फ यात्रा आरम्भ गर्नुपर्ने धारणा व्यक्त गरे । नयाँ व्यवस्था स्थापना गर्नकै लागि ४ दलीय संयुक्त मोर्चा बनेको स्मरण गराउँदै उनले अब सबै परिवर्तनकारी शक्तिहरू एक ठाउँमा उभिनुपर्ने बताए ।

अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्दले संसदीय व्यवस्था पूरै असफल भइसकेकाले अब सामान्य नीति, धारा, उपधारा फेरिएर नहुने धारणा राखिन् । उनले अबको विकल्प जनतालाई गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र अधिकारको सुनिश्चितता गर्ने वैज्ञानिक समाजवादी व्यवस्था भएको बताइन् ।

कार्यक्रमको उद्घोषण राष्ट्रिय जागरण मञ्च नेपालका सचिव नरबहादुर कार्कीले गरेका थिए भने स्वागत मन्तव्य मञ्चकै केन्द्रीय सदस्य माधव बिस्ट र समापन मन्तव्य मञ्चका केन्द्रीय सदस्य सुरेन्द्र कार्कीले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :