मजदुरको सङ्गठन विस्तार तीव्र

मजदुरको सङ्गठन विस्तार तीव्र

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी सङ्घसंस्था श्रमिक सङ्घले काठमाडौँमा सम्मेलन सम्पन्न गरेको छ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका संयोजक विनोद थापाको प्रमुख आतिथ्यमा सङ्घसंस्था श्रमिक सङ्घको काठमाडौँ जिल्ला सम्मेलन सम्पन्न भएको हो । कार्यक्रममा विशेष अतिथिका रूपमा उपत्यका क्षेत्रीय विशेष समन्वय समितिका संयोजक शिशिर थापा उपस्थित थिए ।

प्राप्त समाचारअनुसार जिल्ला सम्मेलनले वीरेन्द्रसिंह थापाको नेतृत्वमा ११ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । महासङ्घका केन्द्रीय सदस्य ईश्वर बुढाथोकीले दिएको जानकारीअनुसार सङ्गठनको उपाध्यक्षमा भुवन थापा, सचिव राम हिताङ (क), कोषाध्यक्ष जानकी रावल, सहकोषाध्यक्ष महेन्द्र बर्मा सदस्यहरूमा कमला डीसी, शिव बोगटी, राम बन्जाडे, दीपक बुढाथोकी, सचिन बुढाथोकी र राम हिताङ (ख) रहेका छन् ।

सङ्गठनले सङ्घसंस्था क्षेत्रमा व्याप्त न्यून पारिश्रमिक प्रणाली, नो वर्क नो पे, हायर एन्ड फायरजस्ता मजदुर हितविरोधी कानुनी प्रावधानविरुद्ध सशक्त सङ्घर्ष गर्ने र कोभिड १९ ताका भएको गैरन्यायिक ढङ्गको बेरोकटोक रोजगार कटौती र उत्पन्न बेरोजगारी समस्यामा तत्काल केन्द्रित हुने सम्मेलनमा सहभागी प्रतिनिधिले बताएका छन् ।

यसैगरी महासङ्घको अर्को पेसागत सङ्घ अखिल नेपाल क्रान्तिकारी अटोमोबाइल्स श्रमिक सङ्घ काठमाडौँ जिल्लाले पनि आइतबार काठमाडौँमा जिल्ला भेला सम्पन्न गरेको छ ।

ठाकुरप्रसाद लामिछाने अध्यक्ष रहने गरी बैठकले ९ सदस्यीय काठमाडाैँ जिल्ला कार्यसमिति चयन गरेको जानकारी सङ्घका अध्यक्ष रमेश बस्नेतले रातो खबरलाई दिए । नवगठित काठमाडौँ जिल्ला समितिमा उपाध्यक्ष प्रकाश राना, सचिव दिनेश चन्द, कोषाध्यक्ष मनोज श्रेष्ठ, सहकोषाध्यक्ष रामराजा थापा, सदस्यमा सुरेन्द्र श्रेष्ठ, सञ्जीव बखती, सिद्दिमान पुदुवार र गोपाल महर्जन रहेका छ्न ।

त्यस्तै महासङ्घको पहलमा अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्घ ललितपुरले पनि सम्मेलनको तयारी तीव्र पारेको जानकारी महासङ्घको ललितपुर जिल्ला अध्यक्ष राजकुमारले रातो खबरलाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :