२३ औँ सांस्कृतिक प्रतिरोध दिवसमा कविता वाचन

२३ औँ सांस्कृतिक प्रतिरोध दिवसमा कविता वाचन

काठमाडौँ : अखिल नेपाल लेखक सङ्घ केन्द्रीय समितिले २३ औँ सांस्कृतिक प्रतिरोध दिवसका सन्दर्भमा कविगोष्ठी सम्पन्न गरेको छ । काठमाडौँको संवाद डबलीमा बिहीबार आयोजित प्रतिरोध दिवसमा २५ जना कविले प्रतिरोधी कविता वाचन गरे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य अनिल शर्माले क्रान्ति जारी रहेकाले प्रतिरोधी चेतना र शक्ति जगाउने कविता सिर्जना गरिरहनुपर्ने बताए । उनले भने, ‘प्रतिध्रुवीय कित्तामा निराशाका कविता आएका छन् । राजनीति सही बाटोमा आएपछि राम्रा कविता लेखिनेछन् र राम्रा कविताले राजनीतिलाई सही बाटोमा डोहोर्याउनेछ ।’

नेकपा नेता शर्माले विगतमा जनता र बलिदानमाथि गम्भीर धोका भएको धारणा राखे । उनले क्रान्तिको प्रक्रिया लामो हुने भएकाले आम जनसमुदायले सीधै क्रान्तिलाई समर्थन नगरेर सुधारवादी प्रक्रियाबाट क्रान्तिकारी परिवर्तन चाहने गरेको सन्दर्भ राख्दै असन्तुष्टि पोख्ने ठाउँमा थुप्रिने गरेको जनमतलाई क्रान्तिकारी आन्दोलनमा एकाकार गराउनुपर्ने र त्यसमा क्रान्तिकारी साहित्य, कला, संस्कृतिको महत्वपूर्ण भूमिका हुने बताए । उनले भने, ‘हिजोसम्म नेकपाका महासचिव विप्लवलगायत नेतालाई पदप्रतिष्ठा नपाएर क्रान्तिमा गएको भनेर आलोचना गर्ने सुधारवादीहरू क्रान्ति सफलतातर्फ अघि बढिरहँदा क्रान्ति सम्भव नहुने प्रलाप गरिरहेका छन् । उनीहरूले हिजो हाम्रो पार्टी र नेताहरूमाथि लगाएका आरोपहरू मिथ्या साबित भएपछि अरू भ्रम र षड्यन्त्र छरिरहेका छन् तर क्रान्तिले ती सबै भ्रमहरूलाई खारेज गरिदिनेछ ।’

यसअघि कार्यक्रममा वाचित कविताको समीक्षा गर्दै स्रष्टा एवम् समालोचक डा. रामप्रसाद ज्ञवालीले हाम्रो कविताको शक्ति के हो भन्ने प्रश्न गरेका थिए । उनले कार्यक्रममा वाचित कविताले क्रान्ति सम्पन्नताको आराधना गरेको र क्रान्तिकारी विचार र आदर्श प्रस्तुत गरेको भन्दै जिज्ञासा राखेका थिए, ‘यत्रो त्याग, शौर्य र बलिदानीको मार्ग रोजेको क्रान्तिकारी पार्टीको आदर्श पछ्याउन जनता किन हिचकिचाइरहेका छन् र सुधारवादी बाटो पछ्याउन लालायित भइरहेका छन् ?’ उनको यही जिज्ञासा शान्त पार्दै नेकपा नेता अनिल शर्माले क्रान्ति कष्टसाध्य बाटो भएकाले जनताले प्रायः सुधारवादी, सजिलो बाटो रोज्ने गरेको र अन्ततः क्रान्तिलाई नै साथ दिने गरेको बताएका थिए ।

प्रतिरोध दिवसमा अनिल शर्मा, रामप्रसाद ज्ञवाली, बन्धु चन्द, शोभा दुलाल, अम्बिका चन्द, अशोक सुवेदी, अग्निराज पौडेल ‘अराप’, ढुण्डीराज अधिकारी, भीम भारती, अविरल शर्मा, रसुवाली कवि, महेन्द्र राई, ममता सुर्खेती, नवराज मैनाली, विष्णु लामा ‘जित’, कुलदीप थापामगर ‘अभिलाश’, उषाकिरण आजाद, रङ्गवीर विश्वकर्मा, रोशन भारती, नवराज न्यौपाने, खेम आचार्यलगायत २५ जना कविले क्रान्तिकारी चेतनाले ओतप्रोत कविता वाचन गरेका थिए ।

अखिल नेपाल लेखक सङ्घकी अध्यक्ष शोभा दुलालको अध्यक्षता, सङ्घका उपाध्यक्ष अशोक सुवेदीको सञ्चालन र कोषाध्यक्ष लोमनकुुमार सुनार ‘प्रतिबद्ध’ को स्वागतमा सम्पन्न कार्यक्रममा नेकपाकी केन्द्रीय सदस्यसमेत रहेकी अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी अध्यक्ष बन्धु चन्द, महासचिव राजकुमारी शाही, सचिव उषा थापा, सङ्घकी निवर्तमान महासचिव धीरेन्द्राकुमारी उपाध्याय ‘भृकुटी’, नेकपा काठमाडौँ जिल्ला इन्चार्च शरद रसाइली, नेकपा रामेछापका इन्चार्ज इन्द्र श्रेष्ठ, ताम्सालिङ स्वायत्त प्रदेशका प्रमुख माणिक लामा, अखिल नेपाल ललितकला सङ्घका संयोजक अग्निराज पौडेल ‘अराप’, अखिल नेपाल लोककलाकर्मी सङ्घका संयोजक ढुण्डीराज अधिकारीलगायत अतिथि उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :