भोलि काठमाडौँमा सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै अखिल नेपाल लेखक सङ्घ

भोलि काठमाडौँमा सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै अखिल नेपाल लेखक सङ्घ

काठमाडौँ : अखिल नेपाल लेखक सङ्घ केन्द्रीय समितिले भोलि बिहीबार काठमाडौँमा २३ औँ सांस्कृतिक प्रतिरोध दिवस मनाउने भएको छ ।

लेखक सङ्घको केन्द्रीय समितिले दिएको जानकारीअनुसार बिहीबार अपराह्न १ः३० बजे काठमाडौँ अनामनगरस्थित संवाद डबलीमा सांस्कृतिक प्रतिरोध दिवस मनाइन लागेको हो । माक्र्सवादी कविहरूको उल्लेख्य उपस्थिति रहने उक्त कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय स्तरका नेताहरूको सहभागिता रहने जनाइएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको आङ्गिक सङ्गठन अखिल नेपाल लेखक सङ्घले सरकारले पार्टीमाथि प्रतिबन्ध लगाएपछि २०७५ साल चैत ५ गतेको प्रतिरोध दिवस मनाउने क्रममा प्रहरीले व्यापक धरपकड गरेको थियो ।

यसैक्रममा नेकपाको सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासङ्घले पनि बिहीबारै रूपन्देहीको बुटवलमा २३ औँ सांस्कृतिक प्रतिरोध दिवस मनाउने भएको छ । बुटवलमा आयोजित कार्यक्रममा पनि नेकपाका केन्द्रीय नेताहरूले सांस्कृतिक रूपान्तरणका पक्षमा प्रशिक्षण दिने जनाइएको छ ।

स्मरणीय छ, २०५५ साल चैत ५ गते काभ्रे जिल्लाको अनेकोटमा सांस्कृतिक अभियानका क्रममा बास बसेका च्याङ्बा लामा, चिनीमाया लामा, गुम्बासिंह तामाङ, निर्मला देवकोटा, डम्बर श्रेष्ठ, सुभद्रा सापकोटा र मञ्जु कुँवरलाई तत्कालीन सत्ताले घर घेरा हाली घरमा आगो लगाएर जिउँदै पोली हतियारसमेत प्रहार गरेर कायरतापूर्वक हत्या गरेको थियो । निहत्था कलाकारले विचार र आस्थालाई केन्द्रमा राखेर सत्ताको सशस्त्र शक्तिको क्रूर दमनको प्रतिरोध गरेको गौरवशाली इतिहासलाई स्थापित गरेर क्रान्तिलाई ऊर्जा भर्न जनयुद्धरत तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले चैत ५ गतेलाई सांस्कृतिक प्रतिरोध दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । उक्त दिन जनयुद्धमा बलिदान गर्ने एक सय ६० भन्दा बढी सांस्कृतिक सहिदहरूको त्याग, शौर्य, वीरता र बलिदानको चर्चा गर्ने र बलिदानको स्पिरिटलाई आत्मसाथ गर्ने प्रतिबद्धता व्यक्त गरिन्छ ।

माओवादी आन्दोलन विभाजित भए पनि नेकपालगायत नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले सांस्कृतिक प्रतिरोध दिवस मनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :