अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रीय समितिको बैठक सम्पन्न

मजदुरहरूको मुद्दामा आफूलाई तत्काल केन्द्रित गर्दै वैज्ञानिक समाजवाद स्थापना गर्ने दिशामा श्रमिकहरुसँगै अघि बढ्ने निर्णय

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ केन्द्रीय समितिको बैठक सम्पन्न

काठमाडौँ : नेपाल   कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले आफ्नो केन्द्रीय समितिको बैठक यही चैत्र ३ गते सम्पन्न गरेको छ । २०७७ चैत्र २ र ३ गते भएको महासंघको केन्द्रीय समितिको बैठकमा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्र्टीका केन्द्रीय सचिवालय सदस्य एवं पार्टी प्रवक्ता क. प्रकाण्ड, मजदुर संगठनका फ्याक्सन इञ्चार्ज तथा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् उपत्यका विशेष ब्युरो इञ्चार्ज क. मिलनसमेतको उपस्थिति रहेको थियो ।

विश्व श्रमिक समुदायका श्रमिकहरु, उत्पीडित श्रमिजीवी वर्ग र समुदायले १३२औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने परिवेशको सन्दर्भमा महासंघ नेपाली श्रमिकहरुको माझमा एउटा क्रान्तिकारी ट्रेड युनियन महासंघको ब्यानरमा उपस्थित भएको साथै विगत वर्तमान र तात्कालीन परिस्थितिको अनुभूतिले झन् नयाँ प्रणका साथ ट्रेड युनियन आन्दोलनको क्रान्तिकारी राजमार्गको प्रवाहमा आफूलाई उभ्याएको महशुस गरेको महासंघले जनाएको छ । साथै महासङ्घको उक्त बैठकले लिएका निर्णयहरुले श्रमिकहरुको अवस्था, दैनिकी र भविष्यप्रति गम्भीर बन्न प्रेरित गरेको समेत प्रष्ट पारेको छ ।

उक्त सन्दर्भमा महासंघले आफ्नो सातौं राष्ट्रिय सम्मेलनको समेत तय गरेको साथै सो सम्मेलनलाई महासंघले दलाल संसदीय सत्ताको अनेक भ्रमबाट श्रमिकहरुलाई ब्युँझाउने, विद्यमान रहेको बेरोकटोक रोजगार कटौती, असमानजनक कानुनी प्रावधान, विदेश पलायन र विभिन्न परिघटनाहरुसँग अभिन्न जोडिएको मजदुरको मुद्दामा आफूलाई तत्काल केन्द्रित गर्ने, वैज्ञानिक समाजवाद स्थापना गर्ने दिशामा श्रमिकहरुसँगै अघि बढ्ने शर्तमा केन्द्रित गर्ने निचोड लिएको समेत सम्मेलन आयोजक समितिका संयोजक विनोद थापाले एक प्रेस वक्तव्यमार्फत् सार्वजनिक गरेका छन् । महासंघको उक्त सार्वजनिक वक्तव्यको पूर्णपाठ यसप्रकार रहेको छ –

इतिहासदेखि आजसम्म मजदुरहरुको बीचमा लोकप्रिय ट्रेड युनियन महासंघ अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र यसका मजदुर हितमुखी गतिविधि तथा चहलपहलमाथि गैरकानुनी प्रतिबन्ध भयो । श्रमजीवी तथा उत्पीडित मजदुरहरुको बीचमा लोकप्रियता प्राप्त हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवाद स्थापना गरी श्रमिकहरुमाथिको सबैखाले उत्पीडन अन्त्य गर्ने उद्देश्य मजदुर हित विरोधी दलाल संसदीय सत्ता विरुद्धमा सञ्चालित न्यायपूर्ण सङ्घर्ष यो बीचमा श्रृजित हरेक प्रतिकूलताका बाबजुद अविचलित र अनवरत संघर्ष गर्दै आयौँ । घटनाक्रमहरुले संसदीय सामाजिक दलाल पुँजीवादी सत्ता, समृद्धि र सुखी नेपालीको नारा उराल्दै श्रमिक जनताको नाममा मुलुकमा राष्ट्रघात, जनघात, भ्रष्टाचार र कुशासनको निमित्त अधिक र मजदुर किसान र श्रमजीवी जनताको हित विरुद्ध निर्मम ढंगबाट प्रस्तुत भएको पुष्टि भयो ।

न्यायप्रेमी आम श्रमिक र श्रमजीवी एवं उत्पीडित जनसमुदायका बीचमा हाम्रो गौरवशाली पार्टी नेकपासँग आवद्ध लोकप्रिय ट्रेड युनियन संगठन, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ यथास्थितिको निर्विरोध विकल्पको सारथी बन्दै नेपाली श्रमिक मजदुरसँग एकाकार भयो । केही समय यता कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व पुँजी बजारले करिब २५ करोड श्रमिक मजदुरहरुको रोजगारी अन्त्य भएको यथार्थ तथ्यलाई विश्व समुदायको बीचमा जस्ताको तस्तै पुगिसक्दा नेपालमा पनि बीसौं लाख श्रमिक मजदुरहरु रोजगारबाट विस्थापित बन्न पुगे । राज्यले रोजगारीको सुनिश्चितता र न्यायपूर्ण व्यवस्थापन गर्न सकेन । श्रमिक र रोजगारदाता बीचमा कायम भएको विगत यताकै विवादित कटु सम्बन्ध यतिबेला पनि यथावत रहिरहेको छ । बेरोजगारी समस्या नै त्यस यताको प्रमुख समस्या बन्न पुग्यो । नेपाली श्रमिकहरु जसमा करिब ८० लाखले पुनः विदेशिनु परेको तथ्य थप हुन पुग्यो । गैरन्यायिक ‘हायर एण्ड फायर’ ‘नो वर्क नो पे’ जस्ता श्रम कानुनी प्रावधानहरु परिस्थितिको विसमतामाझ श्रम सम्बन्ध, उत्पन्न श्रम समस्या र उपरोक्त परिघटनाका निमित्त कुनै रुपमा समेत हितकारक बन्न सकेनन् । प्रचलित नेपाल श्रम कानुनले निमुखा श्रमिक मजदुरहरुलाई सम्बोधन गर्न सकेन । उल्लेख भएको रोजगार सम्झौता प्रावधान समेत उल्लंघन गरी रोजगार कटौती गर्ने, ज्याला एवं पारिश्रमिकलाई झन् न्यून अंशमा वितरण गर्ने, प्रचलित ट्रेड युनियन हक विरुद्ध व्यवस्थापकीय काम कारबाहीहरु बेरोकटोक लागु गर्ने र अन्तमा पुँजी बजारको मुख्य पक्ष श्रमिकहरुलाई रोग, भोग र शोकको असमान परिधिमा थुनछेक गर्ने अमानवीय हर्कतहरुले प्रसय पाए भने आधारभूत वर्ग जनताको सुख र समृद्धिको नारामा लोकप्रियता लिने कथित कम्युनिस्ट सरकार हृदय विदारक उक्त परिस्थितिको निरीह साक्षी बनी अकर्मण्यतामा उभियो ।

मजदुर वर्गको मुक्ति, साँचो समृद्धि अर्थात् वैज्ञानिक समाजवाद स्थापना गर्ने दृढ अठोट लिएको नेपाली श्रमिक जनताको पार्टी नेकपाले दलाल संसदीय सत्ताको उक्त विवादित प्रतिबन्धलाई खुला जनसमुदायको बीचमा फुकुवा गरी श्रमिक, श्रमजीवी र न्यायप्रेमी आम जनसमुदायको बीचमा फर्कने ऐतिहासिक चुनौतिमा सार्थक विजय हासिल ग¥यो । विशेषगरी यही परिघटनालाई श्रमिक मजदुरहरुको समेत पूर्ण न्याय र मुक्तिको निम्ति केन्द्रित गरी साँचो समृद्धि र सुखको एउटा अभिलाषाको निम्ति अझ सशक्त बन्ने प्रतिज्ञाका साथ अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको केन्द्रीय समितिको आयोजनामा गत चैत्र २ र ३ मा प्रमुख अतिथि नेकपा केसका सचिवालय सदस्य एवं पार्टीका प्रवक्ता क. प्रकाण्ड, मजदुर संगठनका फ्याक्सन इञ्चार्ज तथा पार्टी के.स. तथा उपत्यका विशेष ब्युरो इञ्चार्ज क. मिलनसमेतको समुपस्थितिमा महासङ्घको केसको बैठकले लिएका निर्णयहरुले श्रमिकहरुको अवस्था, दैनिकी र भविष्यप्रति गम्भीर बन्न प्रेरित गरेको छ ।

विश्व श्रमिक समुदायका श्रमिकहरु, उत्पीडित श्रमिजीवी वर्ग र समुदायले १३२औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने परिवेशको सन्दर्भमा हामी नेपाली श्रमिकहरुको माझमा एउटा क्रान्तिकारी ट्रेड युनियन महासंघको ब्यानरमा उपस्थित भएका छौँ । विगत वर्तमान र तात्कालीन परिस्थितिको अनुभूतिले झन् नयाँ प्रणका साथ ट्रेड युनियन आन्दोलनको क्रान्तिकारी राजमार्गको प्रवाहमा हामीलाई उभ्याएको महशुस भएको छ । यसै सन्दर्भमा संगठनको आसन्न सातौं राष्ट्रिय सम्मेलनलाई हामीले दलाल संसदीय सत्ताको अनेक भ्रमबाट श्रमिकहरुलाई ब्युँझाउने, विद्यमान रहेको बेरोकटोक रोजगार कटौती, असमानजनक कानुनी प्रावधान, विदेश पलायन र परिघटनाहरुसँग अभिन्न जोडिएको मजदुरको मुद्दामा आफूलाई तत्काल केन्द्रित गर्ने, वैज्ञानिक समाजवाद स्थापना गर्ने दिशामा श्रमिकहरुसँगै अघि बढ्ने शर्तमा केन्द्रित गर्ने निचोड लिएको हुँदा न्यायप्रेमी श्रमिकहरुमा हार्दिक अपिल सहित विषयको वोधको निमित्त यो विज्ञप्ती जारी गरिएको छ ।

क्रान्तिकारी अभिवादन सहित

विनोद थापा, संयोजक

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :