८ मार्चको सार्थकता

८ मार्चको सार्थकता

हरेक वर्षजस्तै यस वर्ष पनि संसारभरिका श्रमिक महिलाहरूले १११ औँ श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाएका छन् । श्रमिक महिलामाथि भएको विभेदको विरुद्ध महिला नेतृ क्लारा जेट्किनको नेतृत्वमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको जग हालिएको थियो । महिलामाथि हिंसा, विभेद र शोषणको शृङ्खला कायमै रहेको कारण यसको सान्दर्भिकता अझै बढेको छ ।

एक विज्ञप्ति जारी गर्दै नेकपाका महासचिव विप्लवले भन्नुभएको छ, ‘विश्वभरिका श्रमजीवी महिलाहरूको ऐतिहासिक सङ्घर्षको पर्याय र प्रेरणाश्रोत बनिरहेको महान् दिवस १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सहिदमाथिका सबै किसिमका विभेद, दमन, हिंसा र असमानताविरुद्ध ऐक्यवद्धतासहित हार्दिक शुभकामना व्यक्त गर्दछौँ । २० औँ शताब्दीमा संसार झकझकाउने महिला आन्दोलनको परिणाम महिलाहरूका पक्षमा विभिन्न अधिकारहरू स्थापित गर्न सफल रहे पनि आज २१ औँ शताब्दीमा समेत महिलाहरूमाथि अनेकौँ उत्पीडन, दमन, हिंसा र असमानताहरू कायमै छन् । असमानताका विरुद्ध संसारभर विभिन्न स्वरूपमा सङ्घर्षहरू पनि निरन्तर अघि बढिरहेका छन् ।’

नेकपा निकट महिला संगठनले ८ मार्चकै अवसर पारेर आफ्नो राष्ट्रिय सम्मेलन आयोजना गर्नु र त्यसमा पार्टी महासचिव विप्लवले सम्बोधन गर्नुले श्रमिक महिलाहरूले ८ मार्चलाई आन्दोलनकै रूपमा मनाउनुपर्ने सन्देश दिएको छ । अहिले पनि अनेकौँ उत्पीडन, दमन, विभेद, हिंसा र असमानता कायमै छन् । राज्यको असफलता र असक्षमताका कारण बलात्कार र हत्याका घटनाहरू बढिरहेका छन् । महिला स्वतन्त्रता समाज स्वतन्त्रताको पूर्वशर्त हो ।

त्यसैले, ८ मार्च र महिला मुक्तिको प्रश्न सबै न्यायप्रेमी र बौद्धिक समुदायको सरोकारको विषय हो । त्यसैले महिला मुक्तिको लागि कानुनी सङ्घर्ष, सामाजिक, आर्थिक विभेदको अन्त्य र राजनीतिक सङ्घर्षलाई समायोजन गरेर उत्पीडनका विरुद्ध एकीकृत प्रहार गर्नुपर्छ । त्यसकारण, ८ मार्चको विरासतबाट शिक्षा लिँदै आजको विश्व परिस्थितिअनुसार नेतृत्व दिन श्रमिक महिला दिवसलाई सांस्कृतिक पर्वमा झार्ने षड्यन्त्र र शैली पराजित गर्न सरोकारवाला सबैलाई प्रेरणा मिलोस्, हार्दिक शुभकामना ! सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :