गुमनाम योद्धा

कविता

प्रजातन्त्र, लोकतन्त्र अनि गणतन्त्र
झापादेखि जनयुद्धसम्म
अझ भनौँ
सातदेखि सत्र होस् कि
सत्रदेखि अठ्ठाईस
सुखानीमा बगेको रगत होस् या
सुरुङ्गामा दागिएको गोली ।

किलोसेराटुको आतंक होस् या
सङ्कटकालको जाल थापेर
गरेको नरसंहार !

बयलगाडादेखि गणतन्त्रसम्मको यात्रा
झुट, लुट, दलाली, भ्रष्टाचारको जगमा ठडिएको
सत्तारूपी महल जोगाउन
विचारमाथि लगाएको प्रतिबन्ध होस् या
राष्ट्रवादको नौटङ्की ।

जुलुसमा बालेको राँको होस् या
अश्रुग्याँसले झरेको आँसु
कठबाँसको निलडाम हुन् या
छर्राले छियाछिया पारेको शरीर
जीवनको पूर्वाद्र्धदेखि नै
मुखुण्डोभित्रको
असली अनुहार उदाङ्गो पार्न
सदैव अग्रपंक्तिमा
सङ्घर्ष, विद्रोह र आन्दोलन
सभा, सम्मेलन, पोस्टर, पम्प्लेट
अनि निर्वाचन
मुक्ति, स्वाधीनता र समृद्धिको झिनो आशा !

तर
आसेपासे, हुक्के चिलिमे, नाता गोता
नेताका जुठोपुरो चाटेर रमाउने
आफन्त र कार्यकर्ताको भीड
पोकाका पोका आश्वासन
कताकता मेला र हाटबजारमा
चटकेको चटक हेर्दाहेर्दै हराए जस्तो
जनसभा हो या
अवसरवादीहरूको महासम्मेलन ।

तालीको गडगडाहटसँगै
रसाएका आँखा
थोत्रो मैलो पहिरन
सपनालाई चितामा डढाएर
विचारका मलामीहरूको भीडमा
एउटा कमजोर काया !

विशाल जनसभाको एकान्त कुना
जीवनको उत्तराद्र्धमा
आाफ्नो परिचय लुकाउँदै
एकछाक पेटभरि खान पाइने
झिनो आशा बोकेर
रोग र भोकको भुँमरीमा लपेटिएको
एउटा विद्रोही गुमनाम मुक्तियोद्धा !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :