अखिल नेपाल शिक्षक संगठनको भेक व्युरो बैठक सम्पन्न

अखिल नेपाल शिक्षक संगठनको भेक व्युरो बैठक सम्पन्न

सुर्खेत : अखिल नेपाल शिक्षक संगठन भेरी–कर्णाली व्युरोको बैठक शनिवार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । बैठकमा सम्पूर्ण सहभागीले आ–आफ्नो क्षेत्रको रिपोर्ट राखिएको उक्त बैठकका प्रमुख अतिथि केन्द्रीय समिति वरिष्ठ उपाध्यक्ष लक्षिराम ढकालले संगठनका सदस्यहरुको सदस्यता नविकरण र नयाँ सदस्यता वितरण गर्दै केन्द्र देखि एकाईसम्मका बैठक, भेला, सम्मेलन सम्पन्न गर्नुपर्ने र ‘वर्तमान शिक्षा तथा पेशागत समस्या’ बिषयक शैक्षिक गोष्ठी तथा अन्तरक्रिया प्रत्येक जिल्लामा सञ्चालन गर्नुपर्ने बताएका छन् ।

विद्यालय कर्मचारी, इसिडी, राहत, पिसिएफ लगायतका समस्याहरु साथै अन्य शैक्षिक र पेसागत समस्याहरु समेटेर केन्द्र देखि वडा तहसम्म माग–पत्र पेश गर्ने बारेमा छलफल तथा निर्णय गरिएको उक्त बैठकलाई सम्बोधन गर्दै विशेष अतिथि नेकपा भेक कार्यालय सचिव संगमले पार्टीले देश र जनताको मुक्ति गर्न वैज्ञानिक समाजवाद स्थापना गर्ने कुरामा कहीँ कतै कसैसँग कुनै सहमति नगरेको र अब वैज्ञानिक समाजवादमा शिक्षाको मोडेल कस्तो हुनु पर्छ ? भन्ने बिषयमा अखिल नेपाल शिक्षक संगठनले बहस चलाउनु पर्ने बताए ।

वैशाख मसान्त सम्ममा भेक व्युरोका सबै जिल्लामा सम्मेलन सम्पन्न गर्ने निर्णय समेत गरिएको उक्त बैठकमा बोल्दै नेकपा सुर्खेत जिल्ला इञ्चार्ज ध्रुबले एकीकृत जनक्रान्ति कुनै युद्ध होइन, यो त वैज्ञानिक समाजवादमा पुग्ने शान्तिपूर्ण राजनीतिक कार्यदिशा हो । राज्यले हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाएर जबरजस्ति युद्धमा धकेल्ने प्रयास गरेको थियो तर, त्यो सफल भएन । एकीकृत जनक्रान्ति मार्फत शान्तिपूर्ण तरिकाले वैज्ञानिक समाजवाद ल्याउने योजना अनुरुप नै अहिले सरकारसँग तीन बुँदे सहमति भएकोले कोही पनि कसैको भ्रममा नपर्न पार्टीले आग्रह गरेको पनि बताए ।

भेक व्युरोमा रहेका केन्द्रीय सदस्यहरु र नेकपा सुर्खेत जिल्ला सचिव यामराजको समेत उपस्थिति रहेको उक्त बैठकको अध्यक्षता एवम् सञ्चालन अखिल नेपाल शिक्षक संगठन भेरी–कर्णाली व्युरो संयोजक देवराज चौलागाईले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :