सहिदहरुको सम्झना

कविता

पूर्व मेची, पश्चिम कोशी शीरमा हिमाल
उत्तर पहाड हिमाली भेक, भुस्वर्ग नेपाल
गरीब जनता शोषण गरी खाने यी भुपाल
सामन्ती राजमा दमनचक्र चलाई बसेका
जनताको हकअधिकार सबै खोसेर लिएका
मुखिया, जिमुवाल, ठालु र पञ्च जनता चुस्ने
गाउँ गाउँमा राखी फटाहाहरु जनता लुटने
व्यवस्था यहाँ सञ्चालन थियो राजतन्त्र नाउँको
गरीब जनता कमाइ गर्थे अधिकार साहुको
सिधा र साधा गरीब जनता जीवनभर लुटिन्थे
न्यायको निम्ति संघर्ष गर्दा निर्मम कुटिन्थे
जनता लुटने माध्यमहरु शासक सामन्त
जनता उसका दुहुना गाई शोसक आफन्त
गाउँगाउँदेखि राजधानी सम्म अन्याय मौलायो
जनताको लुट फटाहाको स्वर्ग सरकारै बौलायो
धैर्यको बाँध टुुटेर नेपाली जनताको
व्यवस्था यहाँ ल्याउने इच्छा भएर मनको
संगठित भई जनता जब विरोधमा उत्रियो
अन्यायी पञ्चे व्यवस्था पनि माटोमा मिसियो
जनताको अब चाहना थियो जनताकै राजको
दुष्टले फेरि महाजाल फ्याक्यो व्यवस्था आजको
प्रजाको तन्त्र भनेर फेरि झुक्यायो हामीलाई
अधिकार सबै छलेर दियो कसाहींहरुलाई
कसाहीहरु मातेर आज चेतना गुमाए
जनताको तातो रगतको पुनः होलीमा रमाए
बुट र गोली संगीन आदि दुष्टका साधन
अणु बम पनि नकाम हुन्छन् भावना बाँधन
जनताको स्वर्ण चेतना शक्ति पुर्वमा उदायो
त्यसको लाली किरणले सारा दुनियाँ ब्युझायो
माक्र्सको नीति माओको बाटो जनता मुक्तिको
लिएर आज अगाडि बढ्यो यो जनक्रान्तिको
त्यो माओवादी पार्टीले आज मुलबाटो देखायो
जनतालाई आपनो मित्र र दुश्मन स्पष्ट चिनायो
फागुन एकमा घोषणा गर्यो त्यो जनयुद्धको
स्पन्दन पनि रोकिन गयो दुष्टका मुटुको
जनताका ज्यानी दुश्मनहरु नसकी सोचन
हतियार अन्तिम प्रयोग गरे यो जनदमन
बुट र लाठी, गोलीको भरमा बाँच्नु सिवाय
देखेनन् उनले संसारैभरमा अरु क्यै उपाय
त्यसैले यहाँ ताण्डवनृत्य थालियो नाचन
रगतको होली खेलेर जनता लागियो मासन
घरघर हुली त्यो सोमरस डुबुल्की खेलेर
दानवी चाला देखाउन थाले अचेत भएर
यो दुष्टचाला दुष्टकै निम्ति कालकुट बनेर
आउनेछ भन्ने चेतना छैन बेहोस बनेर
बेहोस भई गोरखामा मारे दिल रम्तेल बालक
भँडुवा नाचे रुकुममा फेरि यी काला शासक
रातको बेला रुकुमको पिपल सुतेको देखेर
राक्षसी कुकुर बहुलाई गए गाउँ नै घेरेर
सुतेका कृषक युवकलाई छातीमा ताकेर
दुष्टले गोली चलाईदिए आदेश मागेर
गुण्डाले केही युवकलाई लछारी पछारी
यातना दिए अचाक्ली त्यहाँ भुतुक्क नमारी
तैनाथै थिए छेउमा त्यहाँ दुष्टका शिकारी
चलाए गोली छातीमा फेरि दुष्टका भकारी
दल र मन, कल र खडक खत्रीका सपुत
पशुपति, लाल सहिद भए रुकुमका प्रथम
राक्षस माते रगतले सारा यो देश भरमा
दर्जनौं मारे वीरका सन्तान रोल्पा र रुकुममा
शैतानले खाए सबैलाई माओवादीका नाउँमा
चट्याङ्ग पर्यो बैशाख तेह्र गतेका दिनमा
राप्तीमा रगत पोखियो चुनवाङ् लाखर गाउँमा
विष्टका छोरा होनहार युवा मस्तको नाउँमा
बाँसुरी, कङ्गो, गिता बोकी हिँडदथे गाउँगाउँमा
प्रतिभाशाली चौतर्फी थिए भाषण र सङ्गीतमा
सिस्नेका सारा ब्युँझाई जनता राप्तीकै गाउँमा
साँस्कृतिक टोली लिएर हिँड्थे गाउँ र शहरमा
झल्कन्थ्यो सधैं अनुशासन र इमान हँसिलो मुहारमा
वर्गीय माया दुश्मनको घृणा अति नै गर्दथे
बैरीको निम्ति आँधी नै बनी प्रहार गर्दथे
वक्तृत्व कला, सङ्गीत कला प्रखर उनमा
वाणीका तीर ठहरै पार्ने वैरीका छातिमा
यो देखि सारा वैरीका वर्ग औसर खोजेका
क्रान्तिको निहुँ औसर पाए वैरीले रोजेका
सुतेको पाई बैशाख चौध गते नै घरमा
दुष्टले गोली बर्साइदिए वीरका छातीमा
दिनको बाह्र बजेमा प्राण लिए ती दुष्टले
युद्धको सन्देश झन् गाढा पारे ती मस्त विस्टले
बैशाख पन्ध्र गतेमा फुक्यो सञ्चार सुत्रले
आँसुका धारा बगाए सारा वर्गीय मित्रले
त्यो राप्ती नदि रोकियो ठप्प शोकमा डुबेर
त्यो सिस्ने हिमाल स्तब्ध भयो ती वीर गुमेर
समीर पनि विपरीत बह्यो विह्वल भएर
रुकुम सारा आँसुमा डुब्यो मस्तको मृत्युले
आक्रोश बढ्यो बदला लिन दानवी कार्यले
तिमी त बाँच्यौ मरेर पनि अमर भएर
जनताको निम्ति संसारै फेर्ने सुमार्ग लिएर
यो प्रण गर्छाै त्यो तिम्रो कार्य सफल पार्नेछौं
ती तिम्रा वैरी जनताका शत्रु सफाया गर्नेछौं
यो देश मुक्त पारेर मात्र विश्राम लिनेछौं
त्यो बेला मात्र तिमीलाई पुनः आहुती दिनेछौं
शान्तिले सुत समाधिभित्र निश्चिन्त भएर
त्यो तिम्रो स्वप्न साकार पारी फुर्सद भएर
सिजको पाहुर संसार भरि बाँडेर सकेर
आउँला हामी तिमी छौ जहाँ सन्देश लिएर ।

(महान् सहिद कवि विश्वेश्वर पोखरेलको जन्म रुकुम जिल्लाको तत्कालिन रुघा गा.वि.स. वडा नं. २ मा भएको थियो । उहाँ स्थापित कविका साथसाथै चर्चित राजनीतिक नेता पनि हुनुहन्थ्यो । उहाँलाई २०५५ साल साउन ५ गते प्रहरीले घरबाटै गिरफ्तार गरी बर्बरतापुर्वक हत्या गरेकोथियो । जनयुद्ध शुरु हुनु भन्दा अगाडि २०५२ सालमा पनि उहाँ १८ महिना जेल पर्नु भएको थियो । प्रस्तुत कविता उहाँले जेलमा बसेर लेख्नु भएको हो ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :