बेलिसरा

कविता

सास फेर्न नपाउँदै दिन ढल्के
थकाई विसाउन नभ्याउँदै काँशुघाटको ओरालोमा
गाईवस्तु झर्दैछन् कि ग्वालाहरु हुन् ?
दिनरात गाउँ चहार्छन हत्याराका हुल
ठनास्दै होस राख्दै
डोकोको पिंधमा चीजबीज राखी खोस्मेराले
खोस्मेरा माथि दाउराका चाङ
बोक्दै थाप्लोमा नाम्लोको पाता मिलाउँदै
घुर्मैलो पछयौरी ओढेकी बेलिसरा
सधैं झै ऊ आपनो बाटो हिडछे
थुप्रै फेरा जीवनका मुल्य माग्ने
साँइदुवाहरुको सामुन्ने, रत्तिभर नडराई हिडछे ।
बेलिसराको मनै फेरिएकोछ
साहस बढेर आउँछ रे
उसलाई हिम्मत बढेर आउँछ रे
कहिले डालोको पिंधमा सामाग्री, सामाग्री माथि गोलभेडा
तोरीको साग बोकेर बजार पुग्छे बेलिसरा
सुरक्षित पुरयाउँछे सामाग्री गोप्य ठाउँमा
बेलिसरा श्रमजीवी नारी हो
ऊ गरीबकी जहान हो
सधैं आपनो काम बोकेर गल्ली गल्ली चर्हाछे
घर घर गोलभेंडा पुरयाउँछे, तरकारी पुरयाउँछे
चित्तै नबुझ्ने तरकारीको भाउ समाउँछे
श्रमको होइन, श्रम शक्तिको मुल्य कमाउँछे
सधै भरी घाटाको जीवन बेहोरेकी बेलिसरा
श्रमिकहरुको भन्दा श्रमचोरहरुको सुखी जीवन किन ?
मनमा चासो पसेकोछ,
बेलीसरालाई यी सब जान्न खाँचो परेकोछ ।
साँच्चै हिजो आज बेलिसरा
ज्यानको खतरा मोलेर हिड्छे
त्यही खतरामा जीवनको मुल्य पाएकोछु भन्छे
त्यस्ता खजाना बारम्बार ओसारपसार गर्छे
खवर पुरयाउँछे, खबर ल्याउँछे
तरकारी बेच्दै ऊ हरेक ठाउँ पुग्छे
दुश्मनको मुख्यालयमा जनताका विरुद्ध के हुदैछ ?
तुरुन्तै रिपोर्ट ल्याउँछे
बर्खेझरीमा हिलो खाएको खुट्टा कन्याउँदै
जुकाले चुसेको जिउबाट रगत बगाउँदै
पसिनाले नुहाउँछे अमिलो गन्हाउँदै
मेलापात धाउँछे बेलिसरा
धेरैजसो मेलापातमा नौलो भाका सुनाउँछे
तर्साउने गीत गाउँछे
अत्याउँने गीत गाउँछे
खेतालाहरुलाई अखपै मन खुल्ने गीत गाउँछे
दिन भर कजिएर, सञ्जेमा घर आउँछे बेलिसरा
थाकेको बेला
एक घान मकैले पुग्दैन बच्चाहरुलाई
सिंगानको लोप्रा चाटेर
माटोका डल्ला निलेर
पेट भर्ने कर्णधारहरुलाई जन्माउने बेलिसरा
काखमा च्याँपेर ती मुटुका टुक्राहरुलाई
हिजो आज रातभरी के गर्छे के ऊ ?
ऊ नयाँ योजना बनाउँछे
टुकी बालेर सिरानीमा राखेको कागजात
सुन्दर संसारको दस्तावेज
मयलले कलेटी परेको पटुकीमा बेरेर
भाले नबास्दै
एक ठाउँबाट अर्काे ठाउँ पुरयाउँछे
हरेक फाँटमा सरिक हुन्छे बेलिसरा
तिमीले पत्ता लगाउन सके के गर्छाै बेलिसरालाई ?
थुप्रै अमानवीय यातना चखाउला
सर्वांग नाङ्गो पारेर चिथोरौला, परान हालौला
चोक्टा चोक्टा पारेर मासु चपाउला बेलिसराको
तिम्रो सर्च अभियानले के सजाय दिन सक्छ बेलिसरालाई ?
मुत्युसँग खेलिसकेकी छे बेलिसरा उ डराउँदिन
तिमी डराउँछौ आपनै अभियानको हारसँग
घाँसभित्र बम बोकेर हिड्छे बेलिसरा
घाँटीमा गोलीको माला पहिरिएर
कयौं पटक समरमा भिडेकीछे बेलिसरा
तिमीजस्ता थुप्रैलाई ढालिसकेकीछे बेलिसराले
नमिठै भए पनि खोइ हामीलाई एक पेट खान ?
नराम्रै भए पनि खोइ हामीलाई एक आङ् लाउन ?
चुहिएकै भए पनि हाम्रो झुप्रो घर ?
गरेका थियौ र हाम्रो निम्ति हित ?
तिम्रा विरुद्ध हामी नबोलौं ?
दिएका छौ र कुनै अधिकार ?
तिम्रा विरुद्ध जाई नलागाैँ ?

(सुमधुर स्वरले चर्चित जनकलाकार एवं साहित्यकार सहिद चुनु गुरुङको जन्म पाल्पा जिल्लाको दोभानमा भएको थियो । वहाँले थुप्रै गीत, कविता, तथा गद्य साहित्य पनि रचना गर्नुभएकोछ । नेपाली समाजको अग्रगामी रुपान्तरणका अभियानमा कला र साहित्य मार्फत जनसमुदायमाझ जनकलाकारको रुपमा स्थापित हुनुभयो । वहाँ क्षितिज साँस्कृतिक परिवार र केन्द्रीय सामना परिवारका कालजयी गीतहरुमा स्वर दिनुभएकोछ ।

२०५८ सालको माघमा तत्कालिन शाहिसेनाले कास्की जिल्लाको भरतपोखरीबाट गिरफ्तार गरी पोखराको फुलबारी ब्यारेकमा लगेको थियो । ५८ दिनसम्म चरम यातना दिएर उहाँलाई गोली हानी हत्या गरेको थियो । ) साभारः सहिद हस्ताक्षर

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :