“म एक उल्लु र बेवकुफ युवा”

कविता

हड्डि विनाको कुनै जीव जस्तो
जता चलायो त्यतै चल्ने जता फर्कायो त्यतै फर्कने
दायाँ बायाँ तल माथि उल्टो पाल्टो
रबर जस्तो,
कुनै सिमित व्यक्तिको स्वार्थको लागि
जे गर भन्यो त्यही गरिदिने
जे बन् भन्यो त्यहि बनि दिने
ओ हो म एक खेलौना युवा,
बिहानको प्रभाति किरणको छाया“ जस्तै
सामाजिक चेतनाको प्रकाश छर्नु पर्ने युवा
सधैं बादलले ढाकेको आकाश जस्तै शिर निहुराएर
एक पेट खानका लागि माईतीघरको भिडमा रुमल्लिनु पर्ने
भोकाहरुको पेटको लागि आवाज बुलन्द गर्नु पर्नेमा
म आफै चिउरा र दाल मोठको लागि
जिन्दावाद र मुर्दावादको नारा लाउन
तराईबाट काठमाण्डौ आउंदा
यसपालि हामीलाई र अर्को पल्ट पक्कै तिमीहरुको पालो भन्दै
कुर्लने हजुरबा नेताहरुको
खोक्रो भाषणमा भृकुटी मण्डपको चिसो सडकमा फुस्स फुस्स
गन्ध छोड्दै ताली ठोकी दिनु पर्ने,
ओहो
म एक जवान अस्तित्वहिन युवा
तराईबाट आएका तराई गए
पहाडबाट आएका पहाड फर्के,
तर
दिनभरी उभिएर बेलुका सुत्ने खाने ठेगान नभएका
उनैले नारा लगाऊ भन्दा लगाउने
टायर जलाउ भन्दा जलाउने,
ईट्टा हान भन्दा हानी दिने
सडक जाम गर भन्दा गरी दिने,
ओहो हामी
एक शिक्षित शहरका मजदुर युवा
अनि मेरो स्वाभिमान १
हिजो राणा र राजाले आफ्नो स्वार्थको लागि
गोर्खा भर्तिको नाममा नेपाली युवा बेचे जस्तै
आज कम्युनिष्ट नामको सरकारले दैनिकी हजारौं युवा
खाडीमा बेची रहंदा,
दशौं जना नाक मुख छोपेर बाकसमा प्याकिंग भएर आउंदा
खोई मलाई कता कता बाबाले जति दुःख गर्नुछ आफ्नै देशमा गर भनेका थिए ।
तर,
त्यहि लाशलाई टुलु टुलु हेरिरहने मेरो आंखा धमिलिएको छ
युवा बेच्ने अपराधीको कर्तुत लेख्ने मेरो हात कामी रहेको छ
अगाडी बढ्ने पाईलाहरु बिचमै रोकी रहेको छ ।
थाहा छ, मलाई ?
कसैको गुलामीले मेरो जीवन चल्दैन
कसैको स्वार्थको म झुण्ड बन्नु हुंदैन ।
मेरो पहिचान म आफैले स्थापित गर्ने हो
मेरो इतिहास म आफैले निर्माण गर्ने हो
तर,
बुझ्दाबुझ्दै जान्दा जान्दै
म खबरदार तिमीहरुले गल्ती गर्दैछौ भन्न नसकिने
एक लाचार युवा ।
खोई कुन संविधानमा अरव छिरेका
दाजुभाईको दुःखको वारेमा लेखेको छ र ?
कसले बोलेको छ र ?
बम्बई र केन्यामा जिउंदै मरिरहेको चेलीको जीवन कहानी
अनि कुन चाहिं हजुर बा नेताले बोलेको छ र ?
देशमा उद्योग कल कारखाना खोल्ने बारे
अनि कुन सरकारको पालामा अरव बेचीने युवाको संख्या घटेको छ र ?
छि, एरपोर्टमा
आमा र छोरा छुट्दाको पिडा
श्रीमान र श्रीमती बिछोडिंदाको पिडा
अनि खुलामञ्च, महाबौद्ध, सुन्धाराको गल्लीमा
भेटिने मजदुरको जिन्दगी जहा“को त्यहीं देख्दा देख्दै
म यो संविधान र व्यवस्था बचाउ भन्दै
नारा लगाउंदै हिड्ने,
एक उल्लु र बेवकुफ युवा ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :