मेरो देश

कविता

मेरो देश

शीरमा सगरमाथा बोकेको मेरो देश
छातीमा वीर गाथा लेखेको मेरो देश
प्रकृतिले भरिपूर्ण भएको मेरो देश
पौरखी हातहरू भएको मेरो देश
उर्वर भूमि भएको मेरो देश
नदीमा सुन बग्ने मेरो देश
खोलामा तेल बग्ने मेरो देश
हावामा बिजुली चम्किने मेरो देश
बोटहरूमा औषधि फल्ने मेरो देश
ढुङ्गामा मूर्ति बस्ने मेरो देश
लहरामा फल फल्ने मेरो देश
पहरामा सुन फल फल्ने मेरो देश
बहुभाषा र जाती भएको मेरो देश
बहुधर्म र संस्कृति भएको मेरो देश
हिमाल–पहाड भएको मेरो देश
तराई–मधेश भएको मेरो देश
राणा फालेको मेरो देश
पन्चे ढालेको मेरो देश
राजा फालेको मेरो देश
गणतन्त्र ल्याएको मेरो देश
जनआन्दोलन गरेको मेरो देश
जनयुद्ध गरेको मेरो देश
वीर शहिदहरुको रगत र पसिनाले
सिञ्चित भएको मेरो देश
तर यति हुँदा पनि
मानवअधिकार रोएको मेरो देश
न्याय हराएको मेरो देश
समवेदना हराएको मेरो देश
पराइले आँखा लगाएको मेरो देश
गुलाम राष्ट्रवाद बोकेको मेरो देश
स्वाधीनता गुमाएको मेरो देश
तानाशाहले खाएको मेरो देश
फासिवाद लादिएको मेरो देश
निर्दोषहरु जेलमा कोचिएको मेरो देश
क्रान्तिकारीमाथि प्रतिबन्ध लगाइएको मेरो देश
मनपरीतन्त्र चलेको मेरो देश
दलालहरुले चलाएको मेरो देश
पुलीस राज चलेको मेरो देश
गुण्डाराज भएको मेरो देश
क्रान्तिले धोका खाएको मेरो देश
सहिदको खेती भएको मेरो देश
विचार मरेको मेरो देश
आस्था ढलेको मेरो देश
नेता गलेको मेरो देश
आशा हराएको मेरो देश
आवाज दबाएको मेरो देश
पराधीन पारिएको मेरो देश
जनता निरीह भएको मेरो देश
मानवता हराएको मेरो देश
मर्यादा भुलेको मेरो देश
पहिचान खोसिएको मेरो देश
आत्मसम्मान गुमेको मेरो देश
प्रतिभा पलायन भएको मेरो देश
युवाहरू निराश भएको मेरो देश
सुनको थालीमा भीख माग्ने मेरो देश
भ्रष्टाचारले गाँजेको मेरो देश
कुर्सीको लुछाचुँडी चलेको मेरो देश
दलाल पुँजीवाद भएको मेरो देश
प्रभुको इसारामा चल्ने मेरो देश
दृष्टि भएका तर दृष्टिकोण नभएका शासकहरुबाट शासित भएको मेरो देश
तर यसका बावजुत पनि
मुक्तिको सपना र आशा बोकेको मेरो देश
नयाँ नेतृत्व जुर्मुराएको मेरो देश
नयाँ विचार पलाएको मेरो देश
नयाँ बिहानीले संकेत गरेको मेरो देश
क्रान्तिको झण्डा फेरि उठेको मेरो देश
क्रान्तिकारी योद्धा फेरि हिँडेको मेरो देश
मुक्तिका आवाज फेरि जुटेको मेरो देश
क्रान्तिको ज्वाला फेरि फुटेको मेरो देश
देशभक्तिको झण्डा फेरि उठेको मेरो देश
स्वाधीनताको युग शुरु भएको मेरो देश
सत्यमा जीवन खोजिरहेको मेरो देश
त्यागमा सम्मान खोजिरहेको मेरो देश
आदर्शमा बलिदान खोजिरहेको मेरो देश
जीवनमा परिवर्तन खोजिरहेको मेरो देश
कालो नीलो बादल भित्र
चाँदीको घेरा देखिएको मेरो देश
आहा वैज्ञानिक समाजवादलाई स्वागत गर्न
आतुर आतुर भएको मेरो देश ।।

१० माघ , २०७७ राज बन्दी – कैलाली कारागार, धनगढी

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :