कमरेड कञ्चनको गिरफ्तारीले जन्माएका केही प्रश्नहरू

कमरेड कञ्चनको गिरफ्तारीले जन्माएका केही प्रश्नहरू

जब सङ्घर्षहरू दुई फरक वर्ग, राजनीतिक विचारधारा, सिद्धान्त र दृष्टिकोणका बिच चल्छन् र ती एकअर्कालाई निषेध गर्ने दिशातिर उद्यत हुन्छन् । स्वाभाविक हुन्छ कि एक पक्षले अर्को पक्षलाई कमजोर बनाउने, दबाबमा राख्ने, विध्वंस गर्ने र नियन्त्रणमा राख्ने । त्यसका निमित्त उनीहरूले अपनाउने हतकण्डाको कुनै सीमा हुँदैन । यसैले होला, युद्धमा अनैतिक भन्ने केही हुँदैन भनिएको । सङ्घर्ष जब टकरावको स्तरमा विकास हुन्छ, तब आकारमा सानो या ठूलो, जे भए पनि खास गरी राज्य पक्ष विद्रोही नेतृत्वलाई कब्जा गर्ने, कोर टिममा फाटो ल्याउने, प्रोपोगान्डा मच्चाउने रणनीतिसहित जोडतोडले लागिपरेको हुन्छ । यो यत्नमा ऊ हरपल मौकाको खोजीमा हुन्छ र कुनै सानो त्रुटिमै उसलाई सफलता मिल्छ पनि । यसका पछाडि उसलाई विद्रोही पक्षलाई भन्दा कैयौँगुणा सुविधा प्राप्त हुन्छ । किनभने, उसलाई राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्ने अवसर हुन्छ, जसका कारण योजना कार्यान्वयनमा उसलाई धेरै नै सहजता हुन्छ ।

लेखक : माइला लामा

यही सिद्धान्त अनुसरण गर्दै केपी ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ मा हाम्रो पार्टीविरुद्ध प्रतिबन्धको घोषणा गर्यो र निकै आक्रामक गतिमा देशव्यापी दमन, धरपकड र हत्याको अभियान नै चलायो । सर्लाहीका क. कुमार पौडेल, भोजपुरका क. तीर्थ घिमिरेलगायत करिब दर्जन बढी सहिद भए, कैयौँ नेता–कार्यकर्ता अमानुषिक, शारीरिक र मानसिक यातनाका सिकार भए भने पार्टी शीर्षतहका क. सुदर्शन, क. वीरजङ्ग, क. रणवीर, क. ओम, क. आदर्शलगायत अग्रभागमा रहेका जुझारु र समर्पित सयौँ नेता–कार्यकर्ता कमरेडहरू आज पनि जेल–हिरासतमा बन्दी छन् । गिरफ्तारीका घटनामध्ये अधिकांश सञ्चार, यातायात, सेल्टर, रुट प्रयोगमा भएका लापरबाहीका कारणले घटेका छन् । ती घटना परि स्थितिमा आएको बदलावअनुरूप आफूलाई चुस्तदुरुस्त गर्न नसक्दा भएका छन् । यसो भनौँ, तिनका पछाडि कार्यशैलीगत कमजोरी रहेका छन् । तर, कतिपय गिरफ्तारीका घटना भने एकदमै रहस्यमय छन्, स्तब्धै पार्नेखालका । तिनले कैयौँ गम्भीर सवालहरू पनि खडा गरिदिएका छन् ।

ओली सरकारको प्रतिबन्धले दुई वर्ष पार गर्नै लाग्दा गत पुस २९ गते पार्टी कामका दौरान एक क्षेत्रबाट अर्को क्षेत्रमा जाँदै गर्दा हाम्रो पार्टीका उच्च तहका नेता, एक सरल, शालीन र विद्वान् धर्मेन्द्र बास्तोला ‘क. कञ्चन’ ललितपुरका जिल्लाको दक्षिणी बाग्मती क्षेत्रबाट ओली सरकारको कब्जाका पर्नुभएको छ; जुन घटनाले सम्पूर्ण पार्टीपङ्क्ति, शुभेच्छुक र जनसमुदायलाई मर्माहत तुल्याएको छ, स्तब्ध बनाएको छ र बैचैनी थपिदिएको छ । आफ्नै करिब दुईतिहाइको भार थेग्न नसकेर थला परेको सरकार यहाँ कसरी सफल भयो ? कसरी घट्यो यो घटना ? लापरबाही कहाँ भयो ? योजना ‘प्रस्थानको’ निर्माणमा ? कार्यशैलीमा ? घुसपैठको कारण ? लगायतका अनगिन्ती प्रश्नहरू जन्माएको छ उहाँको गिरफ्तारीले । जसबारे पार्टीका सम्बन्धित निकायहरूमा गम्भीर छलफलको आवश्यकता छ । त्यसो गर्दा वास्तविकता र तथ्यहरूमा उभिनु पनि जरुरी हुन्छ । हाम्रो सम्पूर्ण पङ्क्तिलाई झस्काइदिने यस घटनापछि उत्पन्न भएका केही प्रश्नहरूबारे यहाँ सङ्क्षिप्त चर्चा गर्ने जमर्को गरिएको छ :

१. नेतृत्वको रक्षाको प्रश्न

कुनै पनि सङ्घर्ष, आन्दोलन, क्रान्ति, सङ्गठन, राष्ट्रको सफलता, विजय या अग्रगतिका लागि दूरदर्शी, गतिशील, सक्षम, कुशल, साहसी, वैज्ञानिक र आदर्शवान् लोभलालचबाट मुक्त नेतृत्वको भूमिका निर्णायक हुने गर्दछ । जसले ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै वस्तुवादी र वैज्ञानिक नीति निर्माणका साथै, योजनाहरू बनाउन सक्छ र आफ्नो पङ्क्तिलाई हरदम एकताबद्ध पार्न सक्तछ । तर, वस्तुगत अवस्था जतिसुकै अनुकूल र परिपक्व भए पनि सुयोग्य नेताको अभावमा भने आन्दोलनले सफलता पाउन सक्तैन । त्यसमा पनि मूल नेतृत्व र वरिपरिको सहायक नेताहरूको केन्द्रीकरण अर्को महत्वपूर्ण सवाल हुने गर्दछ सदैव क्रान्तिकारी पार्टीका लागि । नेता भनेको कुनै भौतिक वस्तु मात्र नभएर त्यो विचार र योजनाको केन्द्रीकृत अभिव्यक्ति पनि हो । यसर्थ, आन्दोलनको सफलता र असफलताको प्रधान सवाल नेतृत्वसँग जोडिएको हुनाले क्रान्तिको नेतृत्वको रक्षा प्रधान र निर्णायक प्रश्न हो ।

संसारभरका वर्गसङ्घर्षको इतिहासले के प्रमाणित गरेको छ भने सही, सक्षम र वस्तुवादी नेतृत्वमा उठेका क्रान्तिकारीहरूले भयङ्कर विपत्तिको सामना गर्दै विजय प्राप्त गरेका छन् भने अदूदर्शी र असक्षमहरूको नेतृत्वमा उठेका सङ्घर्षहरू महान् भएर पनि तिनले असफलता व्यहोर्नुपरेको छ । लेनिन, माओ, किम इल सुङ, हो चि मिन्ह, फिडेल, चे आदिको कुशल नेतृत्वमा सम्पन्न सफल क्रान्तिहरूलाई उदाहरणका रूपमा लिन सकिन्छ । नेपालमै पनि प्रचण्ड सही हुँदासम्म जनयुद्धले अनेकौँ घुम्ती–मोडहरू पार गर्दै सफलताको शिखर चढिरहेको थियो भने जब प्रचण्ड विचलित भए, तब विजयको सँघारमा पुगेको नेपाली क्रान्तिले अकल्पनीय पराजय व्यहोर्नुपर्यो । तसर्थ, विरोधी पक्षले जहिले पनि मुख्य नेतृत्व, त्यस वरिपरिको सहायक नेतृत्व र विभिन्न तहका खास नेतृत्वलाई सदैव निसानामा पार्ने गर्दछ । सफलताको नजिकै पुगेको पेरुभियाली क्रान्ति क. गोन्जालोको रक्षा गर्न नसक्दा पराजित भयो । चीनमा च्याङ काईसेकले बारम्बार क. माओको हत्या गर्ने कोसिस गर्यो । एकपटक त क. माओलाई गिरफ्तार गरेर लगिँदै गर्दा खरघारीमा भागेर माओले ज्यान बचाउनुभयो र अट्ठाईस वर्षको लडाइँपछि चिनियाँ क्रान्ति सफल भयो । यसको पछाडि चिनियाँ कम्युनिस्ट पार्टी आफ्नो प्रमख नेता र हेडक्वार्टरको अन्य नेताको रक्षामा सफल भयो, जसका लागि चिनियाँ जनसेना, कार्यकर्ता र जनताको बलिदान र त्यागको ठूलो हात छ । नेतृत्वको यही महत्व बुझेर आफूलाई हैरान पारिरहेको चेचेन्याका विद्रोही कमान्डरसँग वार्ताको नाटक रची एक उच्च अधिकारीलाई वार्ताको लागि पठाएर लोकेसन पत्ता लागेपछि मिसाइल हमलाबाट विद्रोही कामान्डरको मात्रै हत्या गरेन, ऊसँगै आफ्नो विश्वस्त अधिकारीलाई पनि बलि चढाएको थियो रुसले । मध्यपूर्वमा एकछत्र दबदबा कायम गरिरहेको अमेरिकाले सन् २०२० मा इरानी जनरल कासिम सुलेमानीको हत्या पनि विरोधी पक्षको नेतृत्व सफाया अभियानकै एक हिस्सा थियो ।

विद्रोहमा नेतृत्वको यही निर्णायक भूमिकाबारे अवगत नेपालको केपी ओली सरकार पनि यस्तै षड्यन्त्रको तानाबाना बुन्दै हमला नेतृत्वउपर नै केन्द्रित गरिरहेको छ । जसका कारण क. सुदर्शनलगायतका केन्द्रीय तह र ब्युरो एवम् जिल्ला तहका सयौँ नेता–कार्यकर्ता कमरेडहरू देशभरिका जेल तथा हिरासतमा बन्दी जीवन बिताइरहेका छन् र पछिल्लो समय क. कञ्चन, क. रोजन, क. विवेकलगायतका कमरेडहरू ओली सरकारको कब्जामा पर्नुभएको छ, जसको धेरै गहिरा असरहरू आगामी दिनमा देखा पर्दै जानेछन् ।

माथिको उदाहरण र सन्दर्भहरूबाट नेतृत्व रक्षाको प्रश्न कति गम्भीर महत्वको सवाल हो भन्ने कुरा प्रमाणित हुन्छ । अनि यो सत्यलाई सबै तहका कमरेडहरू र शुभेच्छुकहरूले त्यत्तिकै गहिरोसँग आत्मसात् गर्नु पनि जरुरी छ । आफ्नो कार्यक्षेत्रमा आइपुगेका नेतृत्वलाई सहज वातावरण बनाएर सम्बन्धित क्षेत्रले सहयोग गर्ने मात्रै होइन कि सुरक्षित तवरले सम्बन्धित पार्टी वा ठाउँसम्म पुर्याउनु पनि उसको दायित्व हुन्छ । यस मामिलामा यहाँ सम्बन्धित पार्टी कमिटी नराम्रोसँग चुकेको छ । क. कञ्चनको गिरफ्तारीको घटनाको साङ्गोपाङ्गो अध्ययन गर्दा मलाई २०५६ भदौ २२ गते गोरखाको सिरानचोकस्थित गाँखुमा तत्कालीन माओवादी पीबीएम सुरेश वाग्ले ‘क. वासु’ को हत्या घटनाको स्मरण हुन्छ । जहाँ प्रहरी छापा मार्न आउँदा क. वासुहरू रहेको ठाउँमा सेन्ट्री बसेका कार्यकर्ता प्रहरीलाई देखेपछि कुनै सङ्केत नै नगरी कुलेलम ठोकेका थिए । जब कि उनी हतियारसहित सेन्ट्रीमा थिए । बाहिर सेन्ट्री छँदै छ भनेर ढुक्कसँग सेल्टरमा बसेका क. वासुसामु एक्कासी जब प्रहरीको डफ्फा पुग्यो, उहाँहरू आश्चर्यमा पर्नुभयो तर धेरै ढिला भइसकेको थियो । प्रहरीले कब्जामा लिएपछि क. वासु र क. भीमसेन पोखरेलको हत्या गरियो । त्यतिबेलाको त्यो घटनाले सिङ्गो पार्टीलाई स्तब्ध पारेको थियो, जसले पार्टी आन्दोलनमा अपूरणीय क्षति पुर्यो नै, मध्यक्षेत्रमा नराम्रोसँग पार्टीपङ्क्ति र जनताको मनोबल पनि गिरायो । साथै, त्यसपछि उक्त क्षेत्रमा आन्दोलन उठाउन नै निकै कठिन भएको थियो, जुन समय सिङ्गो देशमा ‘किलो सेरा टु’ अपरेसनको आततायी आतङ्क छाएको थियो । खतरादेखि आफू बँचेर नेतालाई कालको मुखमा हाल्ने त्यतिबेलाको भगौडा सेन्ट्री आज पनि जीवितै होलान् र उनलाई त्यो घटनाले छुन्छ कि छुँदैन, थाहा छैन मलाई तर कम्युनिस्ट मान्यता छ कि हरेक कार्यकर्ताले आफ्नो नेतृत्वको रक्षाका लागि जीवन दाउमा लगाउन अलिकति पनि आनाकानी गर्नुहुन्न । किनभने, नेतृत्वको रक्षाबिना हामी लडिरहेको क्रान्तिको विजय करिब करिब असम्भव छ । क्रान्तिकारी आदर्श भनेको पार्टी, आन्दोलन र नेतृत्वको विकास र रक्षाका खातिर प्राणको आहुति दिन पनि पछि नपर्ने भन्ने हो ।

२. कार्यशैलीको प्रश्न

अर्को केन्द्रीय सवाल हो कार्यशैलीको प्रश्न, जुन कार्यदिशा र नेतृत्वको रक्षासँग अन्योन्याश्रित रूपमा जोडिएको हुन्छ । कार्यशैली त्यस्तो सवालको, जसलाई तपाईंले परिवेश, भूगोल, समय, सामाजिक संस्कार, माहोलअनुसार अदल–बदल गरिरहनुपर्ने हुन सक्छ । यसमा जडता या उदारता (कार्यशैलीगत) भनेको आफ्नो चिहान आफैँले खन्नु बराबर हो । कार्यशैलीमा यान्त्रिकता या लापरवाहीले तपाईंलाई अकल्पनीय क्षति र पश्चात्तापबाहेक केही दिँदैन । क. कञ्चनको गिरफ्तारीका उदारवादी लापरवाही भयो कि ! विरोधीलाई कम आँक्नु र खतरालाई नजरअन्दाज गर्नुको परिणाम पो हो कि ! प्रायः नेतृत्वहरू एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण हुँदा अगुवाइ गरिरहेका कमरेडहरूकै निर्देशन या सुझाव नै निर्णायक हुन्छ । सामान्यतया यो सिद्धान्त सबैले पालना गर्छन् तर जब तपाईं उच्च निगरानीमा हुनुहुन्छ भने खतराको थोरै मात्रा पनि सङ्केत पाउनुभएको खण्डमा नेतृत्वले लगाम आफ्नो हातमा लिनुपर्छ र शीघ्र वस्तुवादी निर्णय लिनु बुद्धिमानी हुन्छ । अघि बढ्ने, पछि हट्ने या तत्काल दिशा बदल्ने, नेताले आफ्नो अनुभव र विवेकको प्रयोग गर्नुपर्छ । त्यस्तो सङ्गीन समयमा भोलाभालापन आत्मघाती हुन जान्छ । यसर्थ, सामान्य कार्यकर्ताको हातमा पहलकदमी छाडेर यात्राको निरन्तरतामा रहँदा अनपेक्षित क्षति आइलाग्छ पार्टीलाई ।

३. योजना रक्षाको प्रश्न

नेतृत्वको रक्षा र आन्दोलनको सफलताको चुरो कुरो भनेको योजना रक्षाको प्रश्न पनि हो । तपाईंले जति वस्तुवादी र वैज्ञानिक योजना बनाउनुभए पनि यदि त्यसको रक्षा वा गोपनीयताको रक्षा गर्न सक्नुभएन भने तपाईंको भागमा पराजय पर्नेछ । कहिलेकाहीँ क्षतिको स्तर यति भयानक हुन्छ कि त्यसको बहुआयामिक असरका कारण आन्दोलन नै धेरै पछि धकेलिन बेर लाउँदैन । यसकारण विरोधी पक्ष हरहालतमा, कुनै पनि मूल्यमा अर्को पक्षको योजना पत्ता पाउन अनवरत मिहिनेतमा हुन्छ किनभने त्यसमा उसको विजय र विरोधीको हार सन्निहित हुन्छ । एउटा मान्यता छ– यदि सफलतापूर्वक वस्तुवादी योजना बनाइयो भने आधा कार्य पूरा हुन्छ र बाँकी आधा कार्य कार्यान्वयनमा सम्पन्न हुन्छ । यहाँ क. कञ्चनसँग सम्बन्धित घटनाउपर विचार गर्दा योजना पहिले नै कतै न कतैबाट चुहिएको आशङ्का जन्मन्छ । हिरातभित्र क. कञ्चनलाई भेट्न गएका अधिवक्ताहरूसँग उहाँले घटनाको बारेमा गर्नुभएको चर्चाले पनि यो कुराको सङ्केत गर्दछ । क. कञ्चन जाँदै गरेको क्षेत्रको धेरै भू–भाग नै सिल गरेर काठमाडौंबाट गएका सीआईबीको फोर्स सिभिलमा तैनाथ थियो आवश्यक सरसामग्रीसहित । को कता जाँदै छ भन्ने सीआईबीलाई पूर्व–जानकारी थियो । यहाँ यस योजनाको अनभिज्ञता र घटना आकस्मिक भएको भए लोकल पुलिस फोर्स नै परिचालन हुन्थ्यो नि त ! यसरी योजनाको रक्षा गर्न नसक्दा पार्टीले भयङ्करको धक्का सहनुपरेको छ ।

योजना रक्षाको साथसाथै जोडिएको अर्को महत्वपूर्ण सवाल हो, त्यसको सफल कार्यान्वयनको पक्ष । योजनाको संवेदनशीलता र स्तरअनुसार परिपक्व र चुनिएको जनशक्तिको प्रयोग त्यसको सफलताको अर्को महत्वपूर्ण पक्ष हुन्छ । संवेदनशील योजना कार्यान्वयन त्यस्तो कुशल, साहसी र वफादार योद्धाहरूले नै गर्न सक्छन्, जो हरहमला आफ्नो कुर्बानी दिएर पनि योजनाको सफलताको लागि डटेर लागिपर्छन् । जनशक्तिको साथसाथै, नखुलेका र छानिएका स्रोत–साधनको परिचालनमा पनि ध्यान पुर्याउनुपर्दछ ।

४. समय र भूगोल छनोटको प्रश्न

योजना निर्माणपछि त्यसको कार्यान्वयन प्रधान सवाल हुँदैन, प्रधान सवाल हुन्छ, त्यसको सफल कार्यान्वयनको । अनि योजना सफलताको अर्को महत्वपूर्ण आधार भनेको त्यसको कार्यान्वयन हुने क्षेत्र (भूगोल) र कार्यान्वयनको समय हो । भूगोल राज्यको नजरमा संवेदनशील छ कि सामान्य भन्ने हिसाब गर्न पनि भुल्नुहुँदैन । दक्षिण ललितपुरको त्यो क्षेत्र जहाँबाट क. कञ्चन पक्राउ पर्नुभयो, लामो समयदेखि सरकारको उच्च निगरानीमा रहेको, विभिन्न शैली प्रयोग गरेर सीआईडी परिचलान गरिरहेको क्षेत्र हो । यसको अर्थ त्यस भूगोलमा कुनै पनि गतिविधि गर्नै सकिन्न भन्ने होइन । विद्रोहीका लागि निकै अनुकूल छन् त्यहाँका बस्ती, जङ्गल, डाँडापाखा र जनसमुदायको भावना । अनुकूल छ भन्दैमा दिनदहाडै साँघुरो बाटोमा मोटरसाइकलमा यात्रा, पर्याप्त सूचनाको अभाव, एकाधबाहेक पर्याप्त स्कटिङको अभाव– यो गम्भीर समीक्षाको विषय भयो नि हैन र ? यहाँ भूगोल र समय छनौटमा अलि बढी छलफल पुगेको भए क्षति रोक्न सकिन्थ्यो कि ! भूगोल अलि घुमाउरो र अप्ठ्यारो, समय रातको र यात्रा पैदल गर्नुभएको भए पक्का यो दुर्घटना टथ्र्यो कि ! हतार किन गर्ने ? आज नपुगे भोलि पुगौँला ! बाटो सरल नभए कठिन होला– तर सफल त पक्का भइन्छ नि ! त्यसमाथि विरोधीको निरन्तर निगरानी रहेको भूगोलमा यस स्तरका संवेदनशील कार्य गर्दा त झन् धेरै पटक सोच्नु र विचार पु¥याउनु जरुरी छ, जसले हामीलाई यस्ता गम्भीर क्षतिबाट बँचाउँछ ।

५. सूचना सञ्चार र यातायात प्रयोगको प्रश्न

तथ्यहरू पछाडि खुल्दै पनि जालान् र वास्तविकता थप सतहमा आउनेछ नै तर कतिपय विवरणहरूले यस घटनाको पछाडि प्रयोग भएका सञ्चार र सवारी साधन पनि कारक रहेको देखाउँछ । सूचना प्रविधि प्रयोगको मामिलामा हामीकहाँ दुईखाले अति छन् । पहिलो– आवश्यकताभन्दा बढी खुला र उदार । दोस्रो– आवश्यकताभन्दा बढी गोप्य र सङ्कीर्ण । आफ्नै सहयोद्धा र मातहतका जिम्मेवार कमरेडहरूसँग पनि सम्पर्क नराख्ने, आफ्नैबाट लुकेर हिँड्ने । यी दुवै शैली घातक छन् र उत्तिकै हानिकारक पनि । उदार र लापरवाहीपूर्ण प्रविधि प्रयोगमा अझै पनि कतिपय साथीहरू सेटको माया र सिमको लोभमा खुलेको नम्बर प्रयोग गर्ने, मातहत र उपल्लो निकायका प्रयोग गर्ने सिम एउटै मोबाइल सेटमा राख्ने, ‘कसैलाई नभन्नू है तपाईंलाई मात्र भनेको’ भन्दै सूचना चुहाउने आदि छन् ।

सवारी साधनको प्रयोगमा योजनाको महत्वअनुसार अनिवार्य रूपमा उचित ख्याल पुर्याउनैपर्दछ, अन्यथा सजिलै फलामे ढोकाभित्र पाउनुहुनेछ– आफूलाई । सहरमा पनि लापरवाही त गर्नुभएन तर ग्रामीण भेगमा २–४ पटक ओहोर दोहोर गरेपछि त्यो सवारी साधन नोटमा परिहाल्छ र अझ खुलेका कमरेडहरूले प्रयोग गरेको त थाहै नपाउने गरी त्यसको निरन्तर निगरानी भइरहेको हुन्छ । अझ सरकारलाई अहिले के सजिलो छ भने जनयुद्धका बखत विस्थापित प्रहरी चौकीहरू गाउँ– गाउँमा पुगेका छन्, झन् त्यसमाथि मोबाइलको सुविधा त छँदै छ । विज्ञान प्रविधिले आजको दुनियाँलाई निकै गतिशील, साँघुरो र तीव्र पनि बनाइदिएको छ । यो विद्यमान सत्ताका लागि मात्र हैन– विद्रोहीका लागि पनि हो । यसले क्रान्तिको दुरीलाई पनि छोट्याइदिन सक्छ । तसर्थ, क्रान्तिकारीहरूले सूचना प्रविधिको प्रयोग गर्दा विवेक र कला दुवैको प्रयोग गर्ने र हेलचेक्र्याइँ नगर्ने हो भने बिनाक्षति नै ठुला–ठुला उपलब्धिहरू हासिल गर्न सम्भव छ ।

६. जाल र डोरीको प्रश्न

विद्रोहबाट त्रसित र सशङ्कित राज्यले विद्रोही पक्षमा क्षति पुर्याउन अनेकन् उपाय अपनाउने गर्छन् । नतर्सियून् पनि कसरी, जसको हुँकारले लुटको स्वर्गमा आतङ्क फैलाइदिएको छ जब । विद्रोही आवाज कमजोर बनाउन उसले अपनाएको एउटा कलात्मक सिद्धान्त हो– जाल र डोरीको सिद्धान्त । जुन नीतिअन्तर्गत उसले विद्रोहीसम्बद्ध कतिपय नेता–कार्यकर्तालाई अव्यक्त वा गुप्त निगरानीमा राखी छायाझैँ पछ्याएर फुक्काफाल काम गर्न दिएझैँ गर्छन् । प्रतिबन्धको समयमा पनि हाम्रा महत्वपूर्ण कमरेडहरूले यसरी काम गर्न पाउनु पार्टी– क्रान्तिका लागि ज्यादै खुसीको कुरा हो । तर, हामीले यो कुरा कहिल्यै भुल्नुहुँदैन कि यो सरकारको जाल र डोरीको सिद्धान्तद्वारा निर्देशित नाटक हो । यो कुरा यहाँबाट पनि पुष्टि हुन्छ कि नेताहरू छोडेर सङ्गठनका जिल्ला तहका सामान्य कार्यकर्तालाई जेलमा खाँदिरहेको हुन्छ । सङ्गठन, आन्दोलन र नेताहरूलाई माया गरेर उसले यस्तो व्यवहार गरेको हुँदै हैन । यसको पछाडि राज्यको जाल बिछ्याउने र लहरो समाउँदै पहरोसम्म पुग्ने र ठुलै सिकार हात पार्ने कुटिल चालले काम गरेको हुन्छ ।

७. घुसपैठको प्रश्न

यो एउटा यस्तो शैली हो, अस्त्र हो, जुन विश्वमा निकै घातक ढङ्गले प्रयोग भइरहेको छ, एउटा बलियो हतियारको रूपमा । घुसपैठियाहरू आफ्नो पक्षको फाइदा र हितका लागि ज्यानै दिएर काम गर्छन् र उनीहरू कतिसम्म निष्ठावान् र समर्पित हुन्छन् भने भयङ्कर चुनौती र यातना पनि उनका सामु पराजित हुन्छन् । तिनीहरू कतिसम्म माहिर र सिद्धहस्त हुन्छन् कि विद्रोही पक्षले चालै नपाउने गरी उनकै मुकाम र संवेदनशील ठाउँमा घुसेर उनकै विरुद्ध काम गरिरहेका हुन्छन् ।

हामो पार्टी बनेपछि र प्रतिरोध सङ्घर्ष उठेपछि राज्यका सम्बन्धित निकाय विभिन्नस्तरका मानिसहरू हाम्रो पार्टी, जवस र मोर्चा आदिको विभिन्न तहमा र भित्री निकायमा घुसपैठको प्रयास जारी छ । र, विगतका कैयौँ घटनामा घुसपैठियाको कारणले पार्टीले अकल्पनीय क्षति व्यहोर्नुपरेका तथ्य सार्वजनिक भइसकेका पनि छन् । यो शैलीमा विरोधी पक्षले दुई तरिका अपनाउने गरेको पाइन्छ । पहिलो– आफ्नो वफादार मान्छे घुसाउने । दोस्रो– त्यहीँ काम गरिरहेकालाई खरिद गर्ने । हाम्रो पार्टीको मामिलामा विरोधीले यी दुवै तरिका प्रयोग गरेका छन् ।

घुसपैठहरू कतिपय बेलामा कति संवेदनशील ठाउँसम्म पनि भएका हुन्छन् या हुन सक्छन् भन्ने कुरा लेनिनको नेतृत्वमा सो.क.पा.को विद्रोहका योजनाहरू पार्टीमा तयार हुनासाथ राज्यले चाल पाएको घटनाले देखाउँछ । जब पोलिटब्युरो सदस्य मालिनोब्स्की स्वयम् जारको एजेन्ट भएको तथ्य सार्वजनिक भयो, तब मानिसहरू चकित परेका थिए । यहाँ कञ्चनको घटना योजना चुहावटको मामिला कुनै सामान्य कमजोरी मात्र देखिँदैन । घटनाका विवरणअनुसार कस्तो लाग्दछ भने– क. कञ्चन कता प्रस्थान गर्दै हुनुहुन्छ, उहाँका अघि पछि कति सवारी छन्, कतिजना कार्यकर्ता साथमा छन्, यतिसम्म कि कसले ड्राइभ गरेको साधनमा क. कञ्चन सवार हुनुहुन्छ, सम्मको जानकारी बोकेर शतप्रतिशत निश्चित गरेर एम्बुस बसेको देखिन्छ सीआईबी । मानौँ, मालिनोब्स्कीले पार्टीको योजना जारलाई दिएझैँ । यसर्थ, सङ्गठन, संवेदनशील कार्य, महत्वपूर्ण निकायमा कार्यकर्ता नियुक्त गर्दा वा छनौट गर्दा सम्बन्धित नेतृत्वले आग्रहहरूबाट मुक्त भएर काम गर्ने हो भने भत्तावाल सीआईडी नै घुसपैठ हुने खतरा रोक्न सकिन्छ र पार्टी– क्रान्तिको क्षति कम गर्न सकिन्छ ।

हाम्रो पार्टीलाई क. कञ्चनको गिरफ्तारीले पुर्याएको क्षति सामान्य छैन । साथै, यसले कैयौँ प्रश्न पनि सतहमा ल्याइदिएको छ, जहाँ पार्टीका नेता–कार्यकर्ताको समयमै ध्यान पुग्न जरुरी छ । विगतका त्रुटिहरूबाट शिक्षा नलिनेजस्तो महामूर्ख कोही हुँदैन भन्ने एउटा भनाइ छ । यसर्थ, क. कञ्चनको पक्राउले सिकाएका पाठहरू गम्भीरतापूर्वक मनन गरौँ, आगामी चुनौतीको मुकाविला गर्न आफूलाई तयार राखौँ, सफलताको सुन्दर सपना देखौँ ।

१० माघ, २०७७, संखुवासभा कारागार

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :