अपराधिक कार्य नरोके कडा प्रतिवाद गर्छौ : नेकपा

अपराधिक कार्य नरोके कडा प्रतिवाद गर्छौ : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी नवलपुरले नवलपुर जिल्ला बौंदीकाली गाउँपालिका नडा नं. ४ आमडाँडा गाउँमा घटेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । शनिबार जिल्ला इन्चार्ज ध्रुवले विज्ञप्ति जारी गर्दै नेपाल कम्युनिस्ट पार्टी नवलपुर सहिद परिवार भेटघाट तथा जनभेटघाटमा गएको बेला कठित माता भनेर चिनिने ६ जनाको समुहले भ्रमिक र काल्पनिक कुरा गरेर मोबाइल, झोला र सम्पूर्ण सामान नियन्त्रणमा लिई लाठी र ढुंगाले हानी कुटपिट गरी घाइते बनाएको कुरा सार्वजनिक गरेका छन् । साथै यस्ता भ्रामक र काल्पनिक कुरा गरेर जनतालाई ढाँट्ने र छलकपट गर्ने अपराधीहरुलाई सामाजिक बहिस्कार गरी कानुनी कारवाही गर्न सम्बन्धित निकायलाई अनुरोध गर्दै लुटिएका सम्पूर्ण सामान तत्काल फिर्ता गर्न र यस्ता गलत तथा अपराधिक कार्य नरोके कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

इन्चार्ज ध्रुवले विज्ञप्तिमा भनेका छन्, ‘नवपुर जिल्ला बौंदीकाली गाउँपालिका वडा नं. ४ आमडाँडा गाउँमा २०७७ माघ २९ गते हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी नवलपुर सहिद परिवार भेटघाट तथा जनभेटघाटमा गएको बेला कथित माता धामी, झाँक्रीहरु र गाउँका केही फटाहाहरुद्वारा नियोजित रुपमा घटाइएको घटनाप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । सहिद परिवारको घरमा बसिरहेको बेला कथित माताबाट ‘यस्तो पुजा टुनामुना गर्दा कोही पनि गाउँ छिर्न पाइदैन, किन आयौं ?’ भनी हाम्रो पार्टीका जिल्ला सेक्रेटरी कमरेड हिमाल, जिल्ला सदस्य कमरेड अर्जुनलाई कथित लामा र माता भनिने बौंदीकाली गाउँपालिका वडा नं. १ बस्ने भीमसेन ठाडाकी श्रीमति कथित माता भनेर चिनिने उमा ठाडा, कथित माता भनिने देवचुली नगरपालिका वडा नं. ९ की एञ्जिला विक, बौंदिकाली गाउँपालिका–४ आमडाँडा बस्ने कथित माता भनेर चिनिने सूर्य थापाकी श्रीमति, सोही गाउँकै बाबा भनेर चिनिने व्यक्ति र गाउँकै तिलप्रसाद गाहा, विनोद थापा सहित कथित बाबा र माता भनेर चिनिने ६ जनाको समूहले मोबाइल, झोला र सम्पूर्ण सामान नियन्त्रणमा लिई लाठी, ढुंगाले हानी कुटपिट गरी घाइते बनाएका छन् ।’

ध्रुवले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘उनीहरुले हाम्रा कमरेडहरुको झोला सहितका सम्पूर्ण सामग्री लुटेर लगेका छन् । यो गलत कार्य भयो भनेर उक्त स्थानमा पुगेका बौंदीकाली गाउँपालिका वडा नं.४ का वडा अध्यक्ष मनबहादुर सारु, सहिद परिवार दिलबहादुर राना, शिक्षक लोकबहादुर गाहामाथि समेत उक्त समूहले निर्घात कुटपिट गरेको छ । यो एक्काइसौं शताब्दीमा पनि कथित माता र बाबाको नाममा भएका यस्ता अत्यन्तै घृणित र अपराधिक कार्यको भत्र्सना गर्दै यस्ता भ्रामक र काल्पनिक कुरा गरेर जनतालाई ढाँट्ने र छलकपट गर्ने अपराधीहरुलाई सामाजिक बहिस्कार गरी कानुनी कारवाही गर्न सम्बन्धित निकायलाई अनुरोध गर्दछौं । हाम्रा कमरेडहरुका लुटिएका सम्पूर्ण सामान तत्काल फिर्ता गर्न र यस्ता गलत तथा अपराधिक कार्य नरोके पार्टीले कडा प्रतिवाद गर्ने यसै वक्तव्यमार्फत जानकारी गराउँदछौं ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :