वैदेशिक मजदुरद्वारा कतारमा २६ औँ जनयुद्ध दिवस सम्पन्न

वैदेशिक मजदुरद्वारा कतारमा २६ औँ जनयुद्ध दिवस सम्पन्न

कतार : सम्पूर्ण वामपन्थी प्रगतिशील देशभक्त मजदुर जनसमुदायको साझा संगठन नेपाली जनप्रगतिशील मोर्चा कतारले २६ औँ महान जनयुद्ध दिवस भब्य रुपले मनाएको छ । वर्तमान कोरोना समस्यालाई मध्यनजर गर्दै अनलाइन मार्फत गरिएको कार्यक्रम संचालन मोर्चा महासचिव रबिन पुनले गरेका थिए भने मोर्चा अध्यक्षको सभापतित्व रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथि नेपालबाट जनजागरण अभियानका अध्यक्ष तथा सहिद परिवार तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका भुपु अध्यक्ष गुणराज लोहनी रहेका थिए । अन्य अतिथि वक्ताहरुमा मोर्चा सल्लाहकार समिति संयोजक रमेश गिरी, मोर्चा सल्लाहकार समिति सदस्य श्रीकृष्ण भट्टराई, मोर्चा सल्लाहकार समिति सदस्य रेशम पौडेल रहेका थिए । ज्ञातअज्ञात सहिदहरुको सम्मानमा एक मिनेट मौन धारण गरि शुरु गरिएको कार्यक्रममा उपस्थितलाई स्वागत मन्तव्य मोर्चा उपाध्यक्ष जमुना श्रेष्ठले गरेका थिए ।

मोर्चाको इतिहास बारेमा बोल्दै रेशम पौडेलले कतारमा सक्रिय मोर्चाले जनसेवाका कामहरु गरिरहे पनि केही अबान्छित तत्वले राजनीतिक आरोप लगाउँदै प्रशासनमा बुझाउने प्रयत्न गरेकोप्रति जंगली व्यबहार भनी संज्ञा दिंदै त्यस्ता जंगली मानसिकता भएका ब्यक्तिले नेपाललाई कहिले पनि अगाडि बढ्न नदिने बताए ।

त्यस्तै अर्का वक्ता श्रीकृष्ण भट्टराईले मोर्चाको स्थापनाकालदेखि नै अत्यधिक मात्रामा पीडामा परेका नेपाली मजदुरको सेवा गर्दै आएको र संगठन पनि अन्यको तुलनामा सक्रिय रहेको तर केही साथीहरूले बालापन देखाएर मिडियाको दुरुपयोग गर्दै मोर्चालाई बदनाम गराउन लागि परेको बारेमा बताउदै उहाँहरु आफू सच्चिएर मोर्चा समितिमै फर्कन जरुरी रहेको बताए ।

मोर्चा सल्लाहकार समिति संयोजक तथा कार्यक्रम अतिथि रमेश गिरीले महान जनयुद्धको शुरूवातको इतिहास हुँदै बिदेशमा मोर्चा निर्माणको आवश्यकता बारेमा बताउँदै देश अनुसारको भेश भनेजस्तो मोर्चाले पनि स्थापना कालदेखि सामाजिक सेवामार्फत नै नेपाली युवाहरूलाई बिदेश आउन बन्द गराई स्वदेशमै श्रम गराउने र युवा बेचेर देश चलाउने सिस्टमको अन्त्यको लागि एकीकृत जनक्रान्तिमार्फत बैज्ञानिक समाजवादी ब्यवस्थाको लागि संघर्स गर्नुपर्ने र उत्पादन बेचेर देश धनी बनाउन युवाहरू लाग्नु पर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि गुणराज लोहनीले वर्तमान राजनीतिक समस्या र अबको विकल्प बारेमा प्रकाश पारेका थिए । महान जनयुद्धको सुप्रिम कमान्डर आज संसदबादको दलदलमा फसेर आफ्नो नेता नै माधव कुमार नेपाललाई मान्न पुगेको र रास्ट्रियतामाथि पनि आँच आउने गरि भारतलाई गुहार्न पुगेकाले अबको विकल्प बैज्ञानिक समाजवाद बाहेक अरु हुन नसक्ने भन्दै रास्ट्रिय राजनीतिमा संसदवाद पुरै फेल भएको कम्युनिस्ट आन्दोलनमा घुसपैठ गरि कमाउनिस्ट आन्दोलनमा रुपान्तरण गराउने प्रयत्न गरे पनि नयाँ युवा पुस्ताले त्यो हुन नदिने र अब छिटो नै बैज्ञानिक समाजवाद प्राप्त गर्ने आधार तयार हुँदै जानुको प्रमाण नै चार पार्टीको संयुक्त कार्यगत एकता हुनुले प्रमाणित गर्ने बताए ।

कार्यक्रमको समापन गर्दै सभापति जयकिशोर पोद्दारले कार्यक्रम भब्य र सभ्य बनाउन सहयोग गर्नुहुने सबै उपस्थित अतिथि तथा मोर्चा सदस्यहरुलाई हार्दिक धन्यवाद दिंदै मोर्चाको बिधान अनुसार सबै संगठित भएर अगाडि बढ्न आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :