मकवानपुरमा २६ औँ जनयुद्ध दिवस सानदार ढङ्गले मनाइयो

मकवानपुरमा २६ औँ जनयुद्ध दिवस सानदार ढङ्गले मनाइयो

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले जिल्लाका पुर्वी बेल्ट हेटौंडा–१७ र पश्चिमी बेल्ट मनहरी–२ गरि छुट्टाछुट्टै क्षेत्रमा सयौँ जनताहरुको बीचमा एकापसमा शुभकामना आदानप्रदान गर्दै २६ औँ जनयुद्ध दिवस भव्य एवम् सानदार ढङ्गले मनाएको छ । जिल्लाका दुबै स्थानमा सम्पन्न भएका कार्यक्रममा जिल्ला पार्टीको विभिन्न तह र तप्काका नेता तथा कार्यकर्ताहरुका साथै सयौँ समर्थक जनताहरुको समेत उपस्थिति रहेको थियो ।

त्यसैगरी, नेकपा मकवानपुरका इन्चार्ज र सेक्रेटरी लगायतको विशेष उपस्थितिमा उक्त कार्यक्रम हर्सोल्लासका साथ सम्पन्न भएको समाचारमा जनाइएको छ ।

जिल्लाको पुर्वी क्षेत्रमा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्ज जमिनले ऐतिहासिक जनयुद्धको २६ औँ वार्षिक उत्सव मनाउनुको महत्व, औचित्य र उद्देश्यको बारेमा स्पष्ट पारेका थिए । पार्टीले राष्ट्रियता, जनतन्त्र, जनजीविका सम्बन्धी विभिन्न संघर्षका कार्यक्रम लन्च गरिरहेको बताउँदै उहाँले यो सामाजिक फासिवादी सरकारले पार्टीमाथि लगाएको प्रतिबन्ध अब तत्काल हटाउनुको विकल्प नरहेको समेत बताए ।

त्यस्तै जिल्लाको पश्चिमी बेल्टमा सम्पन्न भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका जिल्ला सेक्रेटरी अटलले दसवर्षे जनयुद्धको तत्कालीन महत्व, उद्देश्य, कार्यनीतिका साथै जनयुद्धका अगुवाहरु नै दलाल संसदीय व्यवस्थाको दलदलमा फसिसकेपछिको अधुरो परिणाम पश्चात भएका धोकाधडिका कारण जनयुद्धको एजेन्डाहरु चोइटिएर बेपत्ता भएझैं हराएकोले जनता र सहिदका सपनाहरु पूरा नभएको कुरा जानकारी गराउँदै अब फेरि उक्त एजेन्डाहरु बटुल्दै एकीकृत गर्दै दलाल संसदीय व्यवस्था खारेज गरि वैज्ञानिक समाजवादी सत्ताको स्थापनार्थ महान सहिदहरुको सपना साकार पार्नका निमित्त एकीकृत जनक्रान्तिको नयाँ कार्यदिशा तय गरिएको बताए ।

दुबै कार्यक्रमका सम्बोधकहरुले अझै पनि क्रान्तिको अन्त्य भइनसकेको कुरा स्पष्ट पार्दै फेरि पनि आम जनता आ–आफ्नो स्थानबाट उठ्दै, जुट्दै, गोलबद्ध हुँदै दिनप्रतिदिन नाङ्गिदै गइरहेको संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था ल्याउनका निम्ति तय गरिएको एकीकृत जनक्रान्तिको कार्यदिशा र बाटोमा अघि बढ्नुका साथै बढाउनका लागि आव्हान समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :