महान जनयुद्ध थालनीका ती पलहरु सम्झँदा

संस्मरण

महान जनयुद्ध थालनीका ती पलहरु सम्झँदा

दुईजना दाजुहरुलाई कन्भिन्स गरेको थिए । एकजना शिक्षक हुनुहुन्थ्यो भने अर्को दाजु मेरो क्लासमेट । हामी अलि यारकै थियौं क्लासमेट भएकाले । उहाँहरु गृहस्तिमा अलि लगावी मध्यका हुनुहुन्थ्यो । मैले भने वालपेन्टिङ्ग्को सामाग्री जुटाइसकेको थिएँ सिर्जनशिलता प्रयोग गरेर । पोष्टर, पर्चा पनि साथमै थिए । घङ्गारुको लट्ठी, सिरुपाते खुकुरी भिरेर म तयारी अबस्थामै थिए । मलाई एसिएस र सेल सेक्रेटरीको दोहोरो जिम्मा दिइएको थियो उनै वादल मुख्य अतिथि भएको डिसिक मिटीको निर्णयले । अब विचार गरौं । मैले जिम्मा पाएको क्षेत्रको पार्टी अबस्था कस्तो थियो होला ? दुःख त मजैले पाइने भैहाल्यो नि । गाउँघरमा चोर पसे भन्ने होहल्ला अनयासै बढ्दै गएको थियो । माघ मसान्त भएकाले गाउँले दाजुभाईलाई जुटाएर दिउँसो खसी काटेर मिस्टानभोजन गरियो । किनभने त्यसदिनदेखि जीवनमरणको तर महान यात्रा धोकाहिन तरिकाले थालनी गर्नु थियो मैले । मनमा अनेकानेक कौतुहलता पैदा हुनु स्वभाविक थियो । एकप्रकारको जागिरे जिन्दगीलाई अर्को पट्टि मोड्दै थिएँ । आफन्तहरुवाट खासै स्वीकारोक्ति थिएन । सबैमा खिन्नता पैदा भएकै थियो । तर मैले भने यथास्थितिवाट बिद्रोह गर्ने सोंच बनाइसकेको थिएँ । केही समय मैले कठोरतासँग मितेरी गाँस्नैपर्छ भन्ने अठोट कसेकै थिएँ । नितान्त नयाँ र अनिश्चयतालाई स्वीकार्नु मेरो बाध्यता र आबश्यकता नै बनेको थियो । मेरो मन सम्पर्क स्थान र कमरेडहरुलाई दिइएको समयतिर कुदिरहेको थियो । तन र बेग्रप्रतिक्षा भने दुईजना दाजुको । कारण उहाँहरुलाई हिडाउँने उद्देश्यको कोसिस थियो त्यो । तर स्प्रीट मिलिरहेको थिएन । शिक्षक दाजु अलि सिपालु हुनुहुन्थ्यो पन्छने बहाना गर्न । यारवाला भने सोझो । भेटको समय त मिलाएका थियौं तर उहाँहरुले समयलाई काबुमा लिन नसकेकाले तोकेको समयले पर्खेन । उहाँहरु आगमनको बेग्रप्रतिक्षामा छटपटाइरहेको थिए म । किनभने त्यो दिन सधैझैं सामान्य थिएन, त्यो समय सधैझैं सामान्य बिल्कुलै थिएन, त्यो प्रतिक्षाको बेग्रता कुनै प्रेमीका प्राप्तिको लागि पनि थिएन ।

एक्कासी ‘ओईकान्छा पुलिस आयो भाग’ को आवाज कानमा ठोक्कियो । अलि आत्तिएको स्वर । पुलिस आएको सूचना छिटो आउनु र उहाँहरुसँग भेट हुन पाउँनुले म खुशी भए । मेरो बेग्रता तोडियो । भाग भन्ने शब्द ? ! हैन कहाँ भाग्ने ??!! बरु आफ्नो गन्तब्यतिरै भागौं । ल लागौं । सरसामान नछुटाई तीन भाईले बोक्यौं । धन्य दाजु पुलिसले मलाई नसमातोस भन्नेमा सजक भइ म कहाँ तिब्रतामा कुद्नु भयो । किनभने उहाँको घरमा पुलिस आईसकेको भन्ने थियो । कारण माघ मसानतको बिहान एकजना काँङ्ग्रेसी फटाहलाई हाम्रै गाउँको नजिक हिर्काइएको रहेछ जिल्ला पार्टीको योजनामा । अत्यन्त गोप्य योजना रहेछ त्यो । त्यसको प्रभाव र असरको तरङ्ग फैलिसकेको थियो । राजतन्त्रात्मक संसदीय ब्यबस्थाको श्वेत आतङ्कको बिरुद्ध लाल आतङ्कको मिर्मिरे अवस्य थियो त्यो परिबेस । मानिसहरु मलाई फरक दृष्टिले हेर्न थालिसकेका थिए । तर म सहजता पैदा गर्ने कोसिसका हाउँभाउँमा थिए । दिउँसो खसी काट्नु त्यसकै अभिब्यक्ति थियो । अँ, सम्पर्क स्थानमा पुग्ने समय त अलि ढिला हुँदै गएको थियो तर यात्राको बाटो भने छरितो तर सुरक्षित नै तय गरेका थियौं । तीन भाई हान्नियौं । करिव आधा घण्टा हिडिसकेपछि शिक्षक दाजुले ‘घुँडा ठोक्कियो म हिड्न सक्दिन’ भन्नु भयो । झनै समय नपुग्ने अवस्था आइलाग्यो । अलि पर एउटा घरमा उहाँ बसिहाल्नु भयो । रातमा बिना उज्यालो हिड्ने बानीको अभ्यास नभैसक्नु स्वभाबिकै थियो । किन भने महान उद्देश्य प्राप्तिको पहिलो कदम थियो त्यो । यारको दाजुलाई लौ हामी दुई भाई जाऔं भन्दा ‘मलाई त डर लाग्छ’ पो भनेर रुनथाल्नु भयो । लौ फसाद । हाँसो पनि उठ्यो । समयको चापले यतिबिधि थिचिरहेको थियो । के मलाई साथ नदिने त ? भने पछि ‘तिमीलाई त साथ दिन्छु’ भन्नु भयो । फकाउँदै, साहास भर्दै कुद्यौं । बीचबाटोमा आफनै गाउँ, घरको मसानघाट थियो । उहाँ फेरि डराउनु भयो । केही हुँदैन भनेर खोला तरेर सम्पर्क स्थानमा पुगियो । कमरेडहरु पुगेर हाम्रो प्रतिक्षाको बेग्रतामा हुनु अन्यथा थिएन । नयाँ कामको एनिसेटिभ । सबैमा गंभिर्यता, सजगता, खास्स र खुस्स साउती । पोष्टर, पर्चा भाग लगायौं । कमाण्ड तोकेर रातभर वालिङ्ग, पोष्टरिङ्ग गर्ने र पर्चा कालातित जिमुवाल, मुखिया, राजा, रजौटा, बाबुसायव अनि सरकारी मानिसहरुका घरघरमा समेत छर्ने योजना बनायौँ । त्यसबेलाको अनुशासन, कर्तब्य पालना अलि बेग्लै खालको हुने गथ्र्यो । मेरो कमाण्डले गाविस मुकाम र भूपु अध्यक्षको घर लगायत जिम्मा लियो ।

यारको दाजु ‘मत अघि बढ्न नसक्ने’ भनेपछि आफ्नै घरतिर पर्चा छर्दै जानुस भनियो । फेरि उहीँ त हो डर लाग्छ, मशानघाटमा कसरी जाउ भन्न थाल्नु भयो । केही हुँदैन बरु मनको डर भाग्छ आँट गरेर जानुस भन्दा हुन्छ भनी जानुभयो । काम पनि भने जस्तै गर्नु भएछ । भुतपनि फेला परेनछ त्यसदिन । भए पो फेला पर्नु हगी ! बरु मनको भय अन्त्य भयो होला । हामी भने बडो गौरवका साथ आ–आफ्नो कमाण्डको क्षेत्रमा रातभर प्रचारात्मक काममा ब्यस्त भयौँ । नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं ! भन्ने मुल नारा अंकित उद्धात्तभावभङ्गीको पोष्टर टाँस्दा ओहो दिलदिमागभरी के कति मृदल सपना असरल्लै लुकामारी गरिरहेको त्यो पल के बताउ । गर्वले छाती ढक्क फुलेको क्षणले दिलदिमाको बास सित्तै कहाँ छोड्ला र । अँ, एउटा भिराईलो ठाउँमा हिड्दै थियौं, खस्रक्कको आवाज के आएको थियो, एउटा तन्नेरी त टाप । अब गडबडी खाएन त ! टर्च नबाल्ने नियम बनाएका थियौं । मोबाईलको जमाना पनि हाम्रोसम्म पुगिसकेको थिएन । सिटिको सहाराले उहाँलाई भेटाईयो । हाम्रो अड्कल बाघ हुनसक्छ भन्ने लाग्यो । धारिलो सिरुपाते खुकुरी हातमा समातेर हिडियो । झम्टन आएमा छप्काउने रे । हाम्रो अल्लारे आँट । तर पहाडमा त्यसरी मानिसमा बाघ झम्टन आउने खालका हुँदैनन भन्ने कुराको सचेतना भैदिएको भए एक्लै भाग्ने योजना बन्दैनथ्यो होला । मनको बाघ ब्युँझियो भने बित्यासै पार्दोरहेछ । फेरि अघि बढ्यौं खास्सखुस्स समीक्षा गरेर । भूपु अध्यक्षको घरमा पुगेर उनी सुत्ने कोटाको प्वालमा छिरायौँ

पर्चा, टाँस्यौँ घरको भित्तामा बीररसयुक्त जाज्वल्यमान पोष्टर । त्यसबेलाको हाम्रो चेतनाले गर्न सक्ने साहासिक काममा गनिन्थ्यो उक्त कार्य । किनभने उहाँहरु बाबुसायव हुनुहुन्थ्यो । अझ निम्छराहरु राजासायव भन्थे । उहाँहरुको सामन्ती चकचकी र रवाफ सामान्य हुँदैनथ्यो । त्यस सफलता पछि झन फुर्ती जाग्यो । छपक्क उज्यालो हुनेबेला सम्म काम गर्यौँ । २०५२ साल फागुन १ गतेको फरकखाले नयाँ बिहान । सरगर्मीपूर्ण वातावरण । रेडियो साथमा हुन्थ्यो । सामाचार त अलि बेग्लै खालको । तरङ्ग नफैलिने कुरै थिएन । त्रीबेनी लगायतका चौकिमा हमालाको समाचारले हामी पञ्चायत कालीलिन बबुराहरुलाई आश्चर्यचकित नपार्ने कुरै भएन । कमरेडहरुलाई आ–आफ्नै घरजङ्गलतिर सुरक्षित हुन भनियो । म भने दाजुहरुका कारण एक्लै रहनु पर्ने अबस्था आईलाग्यो । मेरा बुवाले रिझाएको गाउँको जङ्गलमा पुगे । रातभरको अनिदो, दिनभरको भोको पेट तर कुनै गुनासो रहेन । आनन्दै लाग्यो नयाँ अनुभूतिको आस्वादनमा डुबुल्की मार्न पाउँदा । बेलुकी पख बुवाको यादगर मानिसको घरमा पुगेर सबै कुरा गरेपछि उहाँहरुले साथ दिनु भयो । सहजता पैदा भयो । भुमिगत जिन्दगीको त्यो कठोर दिनचर्या सम्झँदा उदेक लागेर आउँछ । दुःखले स्पात अनि प्रेमले उत्साहित बनाउने जेनी माक्र्सको युक्ती कति सान्दर्भिक छ हगि ! तर मेरा दाजुहरुप्रति कुनै गुनासो छैन । किनभने त्यस्ता खाले घटनाक्रमको बढोत्तरी भैराख्यो क्रान्तियात्राभरी । परन्तु, उद्दात्त भावको सामु लघुताभाष, निम्छरोपन, काँतरताको अस्तित्व फिक्का बनेरै बिलाउँदोरहेछ । मानव इतिहास त गर्न सक्ने र जित्न सक्नेको पो बन्दोरहेछ । अथक यात्रीहरु मात्र लक्ष्यमा सगौरव पुग्न सक्दारहेछन् । आज भिषण क्रान्ति र प्रतिक्रान्तिका क्षण खेप्दै एकीकृत जनक्रान्तिको अनवरत यायावर बन्न पाउनुको मजा बेग्लै खाले बनिरहेको छ । क्रान्तिलाई जीवनज्योतिको रुपमा आलिंगन गर्न पाउँदाको चरमआनन्द नै आज मेरालागी क्रान्तिउर्जा बनिरहेको छ । ईमान भने मेरा आमाबुवाको जेनेटिक गुण हो । आज महान जनक्रान्तिको यात्रा सगरमाथाको चुचुरोमा विजयोल्लास ध्वजा फहराउन आतुर छ । तसर्थ ती महान एनिसेटिभमा लामबन्दी कमरेडहरुप्रति हार्दिक अभिवादन र सम्मान छ । कालबस्तीलाई हामी मुर्ख तन्नेरीहरुले लालबस्स्तीमा बदलेरै छाड्यौं । क्याबात ! रेडस्याल्युट ती हाम्रा रक्तिमपदचाप परेका महान आधारबस्तीहरुलाई । सिरोधार्य अनि श्रद्धासुमन हाम्रै समाजका नायक महान सहिद, बेपत्ता, घाईते यौद्धाहरुलाई महान जनयुद्धको २६ औँ वार्षिकोत्सवको यस पावन घडीमा ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :