ओई ! पुदिनाको अचार

(कोरोना बिरामी कुरुवाको अनुभूति)

ओई ! पुदिनाको अचार

त्यसपछि डा. प्रकाशको सक्रियतामा तीव्रता देखापर्यो । सञ्जीवनी मेडिकल चन्द्रौटाको सदिच्छाअनुसार एम्बुलेन्समा चढियो । बडो द्रुत गतिमा चितवन भरतपुर नर्सिङ कलेजमा राती आठ बजे पुगियो । इमर्जेन्सी वार्डमा बन्धुलाई भर्ना गरियो । तुरन्तै एक्सरे भयो । १५ मिनेटमा एक्सरे रिजल्ट हातपर्यो । ल्याबमा कार्यरत नर्सको कामप्रतिको लगावले सकारात्मक प्रभाव पार्यो । ‘निमोनिया भएको रहेछ । छातीमा इन्फेक्सन भएको छ । किन ढिला गरेको ?’ इमर्जेन्सी वार्डका डाक्टरको चेतावनी आयो । हैन, उपचार त गरिराखेकै थियौँ । अक्सिजनको अभावले यता ल्याउनुपरेको– मैले ‘ननमेडि–नलेज’ उत्तर दिएँ । ट्वाल्ल पर्नुभयो महिला डाक्टर । बस्, मसँग अरू के नै प्रश्न गर्नु र डाक्टरले । पर्याप्त अक्सिजनको व्यवस्था रहेछ अस्पत्तालमा । यो श्रेय पूर्वस्वास्थ्यमन्त्री गगन थापालाई गएको गाइँगुइँ सुनियो । आखिर जनता हो, ढाँट्न जान्दैन । राम्रो काम गर्नेलाई मनमा बास दिन्छ नै । तर दलाल, भतुवाहरू र महँगीको सगरमाथा तयार पारेर नवधनाढ्य बन्न ताहुरमाहुर गर्ने सामाजिक दलालहरूको यो नाङ्गोबुङ्गो नाच हेर्नुपर्ने अवस्था नेपाली जनताले कहिलेसम्म बेहोरिरहने हँ ?! सत्य बोल्नेलाई षड्यन्त्रको फन्दाले लपेट्ने परिपाटी हटेको छैन । आफ्नै देशको व्यवस्था र अवस्था देखेर, भोगेर सरम मान्नुपर्ने बाध्यता, उफ् ! बजारमा सामानको मूल्य यतिबिधि बढेको छ, औषधी पसलेहरूको फुर्तिफार्ती डोनाल्ड ट्रम्पको भन्दा कम्ता छैन । फलफूल दैनिक खानको लागि सामान्य आयस्रोतले पुग्ने कुरै छैन । आयस्रोत नहुनेहरूका लागि फलफूल भन्नु त चरीको दूधसरी । अस्पतालको जीर्णोद्धार गरिएको छैन । फोहोरको कुरै नगरौँ । सरकारलाई गाली नगर्ने मान्छे भेट्न गारो छ । किनभने दुःखको बेला चपेटामा पारेर असुल्नेको बेहोरा बुझिहाल्छन् मानिसहरू । अँ, उपचारको पक्ष– एकाध नर्सहरूको टर्रो बोलीवचनबाहेक अधिकांश नर्सको टिम भने राम्रै रहेको अनुभूति भैरह्यो इमर्जेन्सी अब्जरभेसन वार्ड हाई डेपेन्डेन्सी युनिट (ग्रिन एरिया) मा ।

राम्रो रेखदेखका साथ बन्धुको उपचार भैरह्यो । मैले कुरुवाको भूमिका निर्वाह गरिरहेँ । वार्डमा भएका बिरामी र कुरुवाहरूबीच एकापसमा सद्भावपूर्ण एकता भयो । एकले अर्कोलाई मद्दत गर्ने, रमाइलो वातावरण बनाउने प्रयास गरिरह्यौँ । बिरामीहरूलाई कमजोर महसुस हुन नदिन कोसिस गरिरह्यौँ । आफूलाई खानामा रुचि नभए पनि ‘हजुर भोको नरहनू है, निद्रामा ख्याल गर्नु नि !’ बन्धुलाई मेरै चिन्ता । आफू भने खाँदै नखाने, मलाई भने ‘खानेकुरा समयमा खानू’ भन्ने । मिलन भएदेखि मेराबारेमा कति ख्याल गरिराख्छिन् उनी । वास्तवमा विस्मृतिको पानामा कैद गर्न विवश मातृवात्सल्यानुभूतितुल्य स्नेह मैले बन्धुवाटै प्राप्त गरिरहेको छु । मेरो राजनीतिक जीवनको अर्को पाङ्ग्रा नै हुन् उनी । कहिलेकहीँ ज्याद्रो मेहनतको परिणाम हात नलाग्दा बेचैनी पैदा किन नहुनु र ! आखिर म पनि त नेपाली ड्याङकै मूला न हुँ । यसो दुखेसो पोख्दा बल्ड्याङ्ग्रे आँखा तर्छे ऊ । मतलब उसलाई लरोतरो तरिका मन पर्दैन । नेप्टीको यसप्रकारको सचेतन गाइडले मलाई दृढ इच्छुक बनाइरहन्छ ।

अँ, नयाँ–नयाँ नम्बरवाट फोनहरू आइरहेका छन् । ‘कस्तो छ बन्धु दिदीलाई ?!’ महिला सङ्गठन केन्द्रीय समिति ज्यादै चिन्तित छ आफ्नो अभिभावक बिरामी पर्दा । उपाध्यक्ष धीरेन्द्रा उपाध्याय, महासचिव राजकुमारी शाही, सचिव उषा आइडु, केन्द्रीय सदस्य ममता, अञ्जनालगायतको चिन्ता, चासो र सक्रिय सहयोग अनुकरणीय अनुभूत भैइरहेको छ । अझ भनूँ भने देवकला कमरेडको सर्वहारावर्गीय चासो, कमरेड्ली भावनायुक्त उत्प्रेरणाले हामीलाई कमजोर महसुस हुन दिएकै छैन । पार्टीपङ्क्ति यतिबिधि जागै छ, किनभने हामी सच्चा कम्युनिस्ट हौँ । एउटालाई विपत् आइलाग्दा सबलाई दुख्ने गर्छ । केन्द्रीय हेडक्वार्टरलगायतले फोन गरेर ढाडस दिइराखेको छ र सम्बन्धित च्यानलमा आवश्यक कदमको निर्देशन भैसकेको अनुभूत हुन्छ । नक्खु जेलवाट राजबन्दी क. सुदर्शन फोनमा स्वास्थ्यलाभको कामना गर्न भ्याउनुहुन्छ । कुनै कुराको चिन्ता नगर्नू, सब ठीक हुन्छ भनेर । स्वास्थ्यकर्मी मित्र गोपाल, त्यसैगरी स्वास्थ्य सङ्गठनका महेश चौधरी जसले सारा साथीभाइ परिचालन गरेर आवश्यक सामान आपूर्ति सहज तुल्याइदिनुभएको छ । औषधी पसलवाट आवश्यक औषधी खरिद गरी ल्याउन सहयोगी भूमिका निर्वाह गर्नुहुने प्रहरी हबल्दार विश्वनाथ यादवलगायत विशेष धन्यवादका पात्र हुनुहुन्छ । पीडाबोधका साथ आफन्त र प्रियजनहरूको चासो बढिरहेको छ । ‘खर्चको चिन्ता नगर्नू, के समस्या पर्छ, हामीलाई भन्नू । जतिसुकै खर्च लागे पनि हामी छौँ’ भनेर फोन आइरहन्छ हितैषीहरूको । यी सद्भावपूर्ण सहयोगात्मक मनहरूको हौसला र स्वयम् बन्धुको उच्च जिजीविषाको परिणाम छिट्टै सन्चो भएर लालजोडी क्रान्तिको मैदानमा निःसर्त उत्रने कुरामा कसर रहनेछैन ।

क. कञ्चन फोन गरेर असल अभिभावकीय चासो प्रदान गर्नुहुन्छ । क. अनिल, क. शिलु, क. सन्देशलगायत चितवन जिल्ला पार्टीपङ्क्ति, डा. प्रकाश, क. वीरजङ्ग, क. सञ्जीव, क. भीम, क. आस्था, क. राजन, क. सुवास, क. शीतल, क. मुकुन्द, क. लालबहादुर बीसी, क. विवेकलगायत पत्रकार शोभाखरको विशेष चिन्ता र चासो पोखिएको अनुभूत हुन्छ । जनयुद्ध थालनीका सल्यानी गहन नेता र पूर्वसहयात्री टेकबहादुर बस्नेतले लामो समयपछि फोन गरेर स्वास्थ्यलाभको कामना गर्दा अनुभूतिको तरेलीमा राजनीतिक संस्कारको आभास भएको छ । त्यस्तै पूर्वताम्सालिङ ब्युरो आर्थिक विभाग प्रमुख क. माधव आर्थिक सहयोग गर्न नसकेकोमा असाध्य चिन्तित भएको दिल पोख्नुहुन्छ । यसबेला एउटा चर्चित गीत सम्झनामा आइरहेछ– ‘आकाशमा उडी हिँड्ने ए चरी भन, धनबिनाको मन ठूलो कि मनबिनाको धन ।’ विद्यार्थी मोर्चाका भाइहरू रुद्र, बद्री, अटल, केशव, सुमनलगायतको खटनपटनसहित अखिल क्रान्तिकारी केन्द्रीय समिति, क प्रज्वलनलगायत रातो खबर परिवार, क्रान्तिकारी पत्रकार सङ्गठनले स्वास्थ्यलाभको कामनासहित उत्प्रेरणा प्रदान गरिरहेको छ । भीम भारती, खबरदार ! हाम्री महिला नेत्रीको उपचारमा कसर नरहोस् भनेर फोन तताइरहनुहुन्छ । यस्तै दिलका तर लेख्न नभ्याएका सयौँ कमरेडहरूप्रति बन्धुका तर्फबाट आभार व्यक्त गर्नु अन्यथा नहोला नि !? यो क्रम अझै जारी छ । नाम उल्लेख नभएकोमा बात नलागोस् है त । अनुभूत्यांशमा सबै नाम उल्लेख गर्नै कहाँ सकिएला र ! ती प्रिय नामहरू त मनमनमा सजाइरहनेछौँ ।

यतिखेर मलाई महाकवि लक्ष्मीप्रसाद देवकोटाको कवितांश सम्झना भइरहेछ–

‘हातका मैला सुनका थैला के गर्नु धनले !
साग र सिस्नु खाएको बेस आनन्दी मनले !
क्षेत्रीको छोरा यो पाउ छुन्छ घिनले छुदैन !
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन !’

बस्, प्रसङ्गबस बन्धुको संयोगवारे पस्कँदा अन्यथा नहोला कि ?! हैन, संयोग पनि कतिपटक दोहोरिन्छ हँ ?! महान् जनयुद्धको समयमा बुबाको अन्तेष्टिको खबर लिएर एकजना कमरेड हाम्रो खोजी गर्दै आउनुभयो । अपसोच ! बुबासँग भेट हुन सकेन । प्रतिबन्धपूर्वदेखि नै झूट्टा मुद्दा खेपेर बन्दी जीवन झेलिरहेको समयमा आमाको देहावसान भयो । भेट हुने कुरै भएन । निर्दयी दलाल संसदीय सत्ता/सरकार । आमासँग भेट गराउने कुरा कसले पो सोच्नु र ! अहिले पनि उनी अब्जरभेसन वार्डको अक्सिजनमा छिन् । उता माइला बुबा (९४वर्ष) जसले असाध्यै लाडप्यारयुक्त भलो चाहने ! उहाँको देहावसानको खबर मलाई आएको छ । साथै ‘बिरामीलाई नसुनाउनू’ भन्ने सचेतता पनि सँगसँगै आएको छ । मैले मान्नै पर्यो । किनभने पीडाबोधमा सुगर बढ्ने गर्छ । यस्तो पनि हुँदोरैछ जीवनमा कहिले–कहिले । परन्तु मालेमावादी विचार र भौतिकवादी दृष्टिकोणको महानताले धैर्यवान् बन्न सिकाएकै छ हामीलाई । आफन्तजनहरूमा समेत यो विवशता बुझ्ने सचेतना छ नै । टिनिनिनी फोनको घन्टी बजिरहेको छ । राजनीतिक वृत्तका खबर–बेखबर कानमा ठोक्किरहन्छन् । खाना खाँदै गर्दा, शौचालयको समयमा, औषधी सेवन गराइरहेको बेला, डाक्टर वार्डमा आइरहेको बेला बज्ने मोबाइल घन्टीभित्रका बेखबर कम्ता घृणायुक्त हुँदारहेछन् र ! उत्साहजनक सुनिएनन् अधैर्यको मुहानवाट ओकलिएका अजीर्ण बेखबरहरू । उत्ताउलोपनका फेसबुके बेखबर, टिप्पणी, गुनासा र भ्रमात्मक खालका गुम्फनहरू बढी सुन्नमा आएका छन् तर ती खहरेखोलाको बेसुर ध्वाँससरी मात्र हुन् । एकीकृत जनक्रान्तिको महासागरका लागि खासै असरदार हुन सक्दैनन् । वास्तवमा अवसरवादले सजिलोमा टाउको उठाउँछ, समस्या बल्झाउने कोसिस गर्छ र आफैँ समस्यामा परेपछि सुतुरमुर्गझैँ टाउको लुकाइहाल्छ । यो जानेमानेकै भतुवा र कचेराहरूको किचरमिचरपट्टिकै रबैयाबाहेक अरू केही होइन ।

सँगीसाथीहरू हो ! हामी केन्द्रीय समितिको दसौँ पूर्ण बैठक भव्य र सभ्य तरिकाले बस्यौँ । विगतको साङ्गोपाङ्गो सिंहावलोकन, वर्तमानको सचेतनता र सुन्दर भविष्यको मार्गप्रसस्त गरेर जनमनमा कुदिरहेका छौँ । गहन दायित्वबोधसाथ अग्रगामी र जनचाहनाअनुसारका निर्णय पारित गरेको बेला कुन क्रान्तिकारीलाई उत्साह छाउँदैन र ?! उज्यालोको खोजी र उज्यालोको खेती गर्ने बेला निहुरमुन्टी ‘न’ त्यसले गर्छ जो मनोगत चाहनाको अँध्यारो सुरुङमा निजी भविष्यका लागि आलापविलाप गर्दै भौँतारिइरहेको हुन्छ र टाउको ठोक्काइरहेको हुन्छ । बस्, फर्कफर्क हे सँगीसाथीहरू हो, फर्क । लम्किरहेको हात्ती र चम्किरहेको लालघोडासँग रतेउली खेल्ने कोसिस नगर्नू नै बेस किनभने बचेखुचेको नाक पनि बुच्चो हुन सक्छ । फेरि–फेरि दर्जन होनहार योद्धाहरूको रगत बगिसकेको छ र घाइतेहरूको घाउ अझै चहर्याइरहेको छ । तसर्थ पार्टी फुटको हौवा फिँजाउनेलाई मलजल गर्ने छूट कसैलाई छैन । प्रतिबन्धको प्रतिरोध फिक्का किमार्थ भएको छैन । राजबन्दीहरूको यातना–सहन र विचारको ताकत कमजोर बिल्कुल भएको छैन । प्रतिबन्धको फासिवादी हर्कत तोड्दै एकीकृत जनक्रान्तिको महासागरमा हेलिन अभ्यस्त राता मान्छेहरूलाई तर्साउन खोज्नुले शुद्धीकरणको मर्मलाई नै पुष्टि गर्न पुग्दैन र ?! हो त नि ! बेखबर मात्र कहाँ हो र ! कर्णप्रिय खबरहरू पनि सुन्न पाइएको छ ।

‘देश जनमतसङ्ग्रहमय भैराखेको आभास हुन्छ । पार्टीले असाध्यै वैज्ञानिक निर्णय गरेको पाइयो । दर्शन, राजनीति, अर्थ, सङ्गठनमा नयाँ–नयाँ विकासको कदम निरन्तर चालिरहनू, यो नै सचेतन पहलकदमी हो । पार्टीको महानतालाई आत्मसात गरेर हामी जनमनमा बास बस्न सक्षम छौँ । हामी सक्कली कम्युनिस्टको पहिचान दिन लायक छौँ’ आदि–आदि सकारात्मक चिन्तनका खबरहरूले युगीन कार्यभार पूरा गर्ने मनोबललाई थप उचाइ प्रदान गर्ने गरिरहेकै छन् ।

एकाएक ‘ओई ! पुदिनाको चोटिलो अचार खान पाए सरर्र ज्यू रसाउँथ्यो कि ?!’ बन्धुको खानेकुराप्रतिको अरुचि सुरुचिमा बदलियो अठार दिनपछि । बाबै ! लौ पुदिनाको अचार मगाउँछु । साथीभाइहरू तिम्रो स्वास्थ्यलाभका लागि तम्तयार हुनुहुन्छ । मेरो मन नसुरिने कुरै थिएन । मृदुभाषी दुर्गाजीले ल्याइदिनुभयो रसिलो पुदिनाको अचार । कति सुरुचिपूर्ण तरिकाले खाइन् दुईवटा रोटी । उफ् ! राती ११ बजे नर्सले मलाई आकस्मिक रूपमा सुनाउनुभयो, पहिले नेगेटिभ अहिले पोजिटिभ कोभिड । अक्सिजन नपाएको भए ज्यान गुम्थ्यो रे ! खै के खै के ! बन्धुको उच्च मनोबललाई उपचारमा लीन स्वास्थ्यकर्मीहरू प्रशंसा गर्दै थिए, म भने सञ्चारकै भरमा कार्यक्षेत्रमा पहुँच पुर्याउन विवश ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :