फेरि केपी ओली नै बने प्रधानमन्त्री

फेरि केपी ओली नै बने प्रधानमन्त्री

काठमाडौँ : संसद्‌बाट विश्वासको मत गुमाएर पदमुक्त भएका केपी शर्मा ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका छन् । नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रले सरकार गठनका लागि बहुमत जुटाउन नसकेपछि ओली बिहीबार पुनः प्रधानमन्त्री नियुक्त भएका हुन् । बहुमत जुटाउन नसकेपछि काङ्ग्रेस र माओवादी केन्द्र वैकल्पिक सरकार गठन गर्ने प्रक्रियाबाट पछि हटेका थिए ।

संविधानको धारा ७६ अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय सकिएपछि नयाँ प्रधानमन्त्री र नयाँ सरकार गठनको बाटो बन्द भएको थियो । दोस्रो ठूलो दलको हैसियतले नेपाली काङ्ग्रेसले सरकार गठनका लागि माओवादी केन्द्र र जसपासँग छलफल गरेको थियो तर जसपाका महन्थ ठाकुर र राजेन्द्र महतोले गठबन्धनका लागि साथ दिएनन् भने उता माधव नेपाल समूहका सांसदले वैकल्पिक सरकारका लागि बहुमत पुग्ने गरी राजीनामा नदिएपछि काङ्गे्रस माके गठबन्धनको सरकार गठनको सम्भावना टरेको थियो ।

संविधानको धारा ७६ को ३ अनुसार अब संसद्को सबैभन्दा ठूलो दलको हैसियतले केपी ओली नै प्रधानमन्त्री भएपछि उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ र नलिए धारा ७६ कै ५ अनुसार नयाँ सरकार गठन हुनेछ । नयाँ सरकार गठन भएन भने देश मध्यावधि चुनावतिर जानेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :