अखिल (क्रान्तिकारी) दाङद्वारा भागरथी भट्टको न्यायको निम्ति विरोध सभा

अखिल (क्रान्तिकारी) दाङद्वारा भागरथी भट्टको न्यायको निम्ति विरोध सभा

काठमाडौँ : माघ २१ गते बैतडी जिल्ला दोगदाकेदार गाउपालिका वडा नं. ८ निवासी, सनातन धर्म मा.बि. कक्षा १२ मा अध्ययनरत १७ बर्षीय किशोरी भागरथी भट्टको आपराधिक गिरोहबाट बलात्कार पछि निर्मम हत्या गरिएको र अपराधीलाई प्रशासनले अहिलेसम्म गिरफ्तार नगरेको बिषयलाई लिएर नेकपा निकट अखिल (क्रान्तिकारी) दाङले सदरमुकाम घोराहीमा भागरथीको न्यायको निम्ति खबरदारी एवम् उक्त घटनाको अपराधीलाई अझैसम्म पनि कारवाही नगरी सरकार र त्यसको प्रशासन मौन रहेको भन्दै त्यसको विरुद्धमा विरोध पदर्शन गरेको छ ।

अखिल (क्रान्तिकारी) दाङ जिल्ला सम्मेलन आयोजक समितिका सदस्य खुम रिजालले उक्त विरोध कार्यक्रम सञ्चालन गर्दै यो भ्रष्ट सरकारकै संरक्षण र लाचारीका कारण समाजमा आपराधिक घटना एकपछि अर्को बृद्धि भइरहेको बताए । साथै उनले भागरथीको न्यायको निम्ति आफुहरु कडा संघर्ष गर्न तयार हुनुपर्ने बताए ।

त्यसैगरी अखिल (क्रान्तिकारी) दाङ जिल्ला संयोजक अनिल केसीले यो सरकार कुर्सीको बचाउमा लागेकोले घटना घटेको ८ दिन बितिसक्दा सम्म पनि कुनै चासो नदिएको बताए । सरकार जिम्मेवार नबन्दा नागरिकका डरत्रास सिर्जना भएको बताए । साथै अहिलेसम्म भएका बलात्कार पछि हत्याका घटनामा सरकार र त्यसको प्रशासनकै संरक्षण भएकाले यस्ता घटनाहरु मौलाएको, महिला राष्ट्रपति भएको देशमा दिनहु महिला बलात्कृत हुनु र न्याय नपाउनु दुःखद भएको भन्दै केपी सरकारको गृह प्रशासनले अन्याय, अत्याचार, दमन, शोषणको विरुद्ध र न्याय, सत्य, विद्यार्थीको हक–हित अधिकार, समानता, स्वाधीनताको पक्षमा बोल्ने युवा विद्यार्थीमाथि भइरहेको दमन, गिरफ्तारी रोकी हत्यारा, बलात्कारी, भ्रष्ट, अपराधीहरुलाई तत्काल नियन्त्रणमा लिई कडा भन्दा कडा कारवाही र निर्मला पन्त, भागरथी भट्टको परिवारलाई न्याय दिन माग गरे ।

साथै छोरी चेलीको रक्षाको निम्ति अखिल (क्रान्तिकारी) मैदानमा रहेको बताउँदै सबै एकजुट भएर यस्ता आपराधिक क्रियाकलापलाई रोक्नु पर्ने पनि बताए ।

करिब पाँच सय जना विद्यार्थी उपस्थित रहेको उक्त विरोध कार्यक्रममा अखिल (क्रान्तिकारी) दाङ जिल्ला सम्मेलन आयोजक समितिका सदस्यहरू खुमन, सरद, तार्जन, चुडामणि, हिमाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अन्त्यमा विद्यार्थीहरुले चर्को स्वरमा भागरथीको परिवारलाई न्याय दे ! नालायक केपी सरकार – मुर्दावाद !, संविधानमा फासीको व्यवस्था गर !, हत्या, हिंसा र बलात्कार – बन्द गर !, बलात्कारीलाई फासी दे !, अखिल (क्रान्तिकारी) – जिन्दावाद ! र भागरथीको हत्यामा संलग्न अपराधीलाई कारवाही गर ! जस्ता नाराहरु लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :