हाँसीहाँसी मृत्युवरण गर्ने ती मानिसहरुप्रति

हाँसीहाँसी मृत्युवरण गर्ने ती मानिसहरुप्रति

इतिहासमा नाम उसैको दर्ज हुन्छ जसले सत्य र न्यायको पक्षमा आफूलाई सर्मपण गर्दछ । त्यस्ता मानिसहरुको जीवन हरेक मानिसहरुको लागि प्रेरणादायी हुने गर्दछ । जसले आफनो नीजि जीवनलाई भन्दा सामूहिक स्वार्थलाई माथि राख्दछ । नेपालको राजनीतिक र क्रान्तिकारी आन्दोलनमा विरता र बलिदानका कैयौ गौरवपूर्ण गाथाहरु छन् । यी मध्ये माघ १६ मा यस्तै वीरता, बलिदानी र त्यागी बहादुरहरुको विशेष सम्झना गरिन्छ । ती हुन् गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरथ चन्द र धर्मभक्त माथेमा । जसले निरङ्कुश राणा शासनका विरुद्ध हाँसी–हाँसी आफूलाई अर्पण गरे । आफ्नो नीजि जिवन भन्दा देशलाई कालो रातबाट मुक्त गर्न हाँसी–हाँसी फाँसीको सजाय स्वीकार गरे । यी नै साहसी र ब्यवस्था बदल्ने अभियानमा वीरहरुको नाममा माघ १६ गते लाई सहिद दिवसको रुपमा सम्झना गरिन्छ ।

यद्यपि नेपाल कम्युनिस्ट पार्टीले फागुन १४ देखि २१ गतेको सप्ताहलाई सहिद सप्ताहको रुपमा मनाउने गरेको छ । फागुन १४ गते नेपाली जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको शहादत भएको दिन हो । यस्तै २१ गते पञ्चायची शासकहरुले झापा विद्रोहका योद्धाहरुलाई सुखानीको जङ्गलमा लगेर हत्या गरेको दिन हो । त्यसैले फागुन १४ देखि २१ गतेको सप्ताहलाई नेकपाले सहिद सप्ताहको रुपमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै आइरहेको छ ।

नेपालमा निरङ्कुश जहाँनिया राणा शासनको अन्त गरी जनतालाई कालो रातबाट मुक्ति दिलाउने अभियानमा लामबद्ध भएकै कारण १९९७ साल गंगालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरथ चन्द र धर्मभक्त माथेमालाई मारिएको थियो । यी मध्ये युवा र नेपालका प्रथम विद्यार्थी सहिद भनेर चिनिने सहिद गंगालाल विस १९७५ सालमा रामेछापमा जन्मिएका थिए र उनलाई १९९७ साल माघ १२ गते मृत्युदण्ड दिइएको थियो । काठमाडौको इन्द्रचोकमा आयोजित राणाविरोधी कार्यक्रमबाट नियन्त्रणमा लिइएको थियो । कम उमेरको भएको कारण आत्मसमर्पण गरेको खण्डमा मृत्युदण्ड नदिने बरु आजीवन कारावासको सजाय सुनाएको थियो र उनलाई मागी मगाउन हर प्रयन्त गरिएको भएपनि गंगालालले कसैले बक्सिस दिएको जीवन बाँच्नुभन्दा तातो गोली थाप्नु सही भनेर फाँसीको सजाय स्वीकार गरे ।

यस्तै १९९७ सालकै माघ ११ गते शुक्रराज शास्त्रीलाई काठमाडौको त्रिपुरेश्वर पचलीमा झुन्डाएर मारिएको थियो । शास्त्रीले राणा विरोधी आन्दोलनमा जनतामा चेतना पैदा गर्नको लागि १९९० सालमा नागरिक अधिकार समिति गठन गरी त्यसको नेतृत्व गरेका थिए । आफ्ना विरोधीहरुलाई खुलेआम चुनौति दिने शास्त्रीलाई निर्मम यातना जेल नजरबन्द गरिएको थियो । नेपालको राणाविरोधी आन्दोलनको इतिहासमा शास्त्री एक अमर पुरुष थिए ।

यस्तै दशरथ चन्द र गंगालाल श्रेष्ठलाई माघ १४ गते काठमाडौकै सामाखुसी र विष्णुमतिको दोभानमा गोली हानी मारिएको थियो । दशरथ चन्दलाई सर्वश्वसहित फाँसीको सजाय सुनाउँदा उनले ‘फाँसी क्या चिज है’ भनेर ठूलो स्वरमा हाँसेर सहर्ष मृत्युदण्ड स्वीकार गरेका थिए ।

धर्मभक्त माथेमाले पनि रानाहरुलाई चुनौति दिँदै मृत्युलाई सहर्ष स्वीकार गरे । उनलाई माघ १३ गते काठमाडौँकै सिफलमा झुन्डाएर मारिएको थियो ।

यी चार वीरहरुलाई फाँसीको सजाय दिनु अघि राणाहरुले तेरो अन्तिम इच्छा के छ ? भनेर सोध्दा ‘नेपालमा राणाशासन अन्त भएर प्रजातन्त्रको स्थापना भएको हेर्ने इच्छा छ’ भनेर खुला चुनौति दिएर मरेको गर्विलो इतिहास सबैको लागि प्रेरणादायी छ । राणाहरुले गंगालाल शुक्रराजहरुलाई मार्दैमा राणाविरोधी आन्दोलन रोकिएन, बरु यो आन्दोलन तिनै सहिदहरुको बलिदानको जगमा दिन २ गुणा र रात ४ गुणा तीव्र बन्दै गयो र पछि २००७ सालमा नेपालबाट राणा शासन अन्त भयो ।

नेपालमा अढाई सय बर्ष पुरानो सामन्तवादी राणा शासकको अन्त गर्ने सिलसिलामा होस् र त्यस अघि र पछाडिका आन्दोलनहरुमा हजारौँ होनाहार छोराछोरीहरुको रगत बगेको छ । नेपालको राजनीतिक आन्दोलनमा बलिदान गर्नेहरुको लामो इतिहास छ । नेपालको एकीकरणको सिलसिलामा नेपाल र अङ्ग्रेजबिचको लडाईमा नेपालीहरुले प्रर्दशन गरेको वीरताको इतिहास संसारभरिनै प्रसिद्ध छ ।

यस्तै संसदीय ब्यवस्थालाई अन्त गरेर नौलो जनवादी ब्यवस्था स्थापना गर्ने उदेश्यले १० बर्षे शसस्त्र जनयुद्ध र जनाआन्दोलनहरु भए । शसस्त्र जनयुद्ध पटक पटकका जनाआन्दोलन र सङ्घर्षहरुमा थुप्रै योद्धाहरुले बलिदान गरे । त्यही बलिदानको जगमा दर्जनौ पटक सरकार गठन पुर्नगठन गरियो र दर्जनौ नेताहरु सत्ताको रस्वास्वादन गर्न पुगे । सहिदको बलिदानको जगमा भएका ठूला ठूला आन्दोलनहरुबाट सिमित ब्यक्तिहरु कुर्सीमा पुगे सत्तामा पुगे सरकार बदलियो तर ब्यवस्था बदलिएन । ब्यवस्था नबदिदा र आन्दोलनहरुले नेताहरुले धोका दिदा एउटा निर्णायक र सार्थक आन्दोलन विना नै आन्दोलहरु विचमा रोकिएका छन् । तसर्थ नेपाललाई पुरानो सामान्ती संसदीय ब्यवस्थाले मलजल गरेको दलाल संसदीय ब्यवस्थाको जालोबाट देशलाई मुक्त गर्न र नेपालको माटो सुहाउँदो वैज्ञानिक समाजवादी ब्यवस्था स्थापना गर्न अझै ठूला ठूला बलिदानका कोटा चुक्ता गर्नुपर्ने हुनसक्छ । सहिदहरुको सपनामा कुठाराघात गर्दै सहिदहरुलाई भर्याङ बनाएर जनयुद्धका कमाण्डरहरु प्रचण्ड र बाबुरामहरु संसदीय व्यवस्थामा पतन भएपनि सहिदहरुका सपनाहरुको रक्षा गर्न क्रान्तिको नयाँ बाटोमा नेकपा अघि बढिरहेको छ । नेकपाले भनेजस्तै नेपालमा वैज्ञानिक समाजवाद स्थापना भए मात्र सहिदहरुको सपना पूरा हुनेछ । सहिद दिवसको यो अवसरमा राणा विरोधी आन्दोलनका योद्धाहरु गंगालाल, शुक्रराज शास्त्री, दशरथ चन्द र धर्मभक्त माथेमालगायत महान जनयुद्ध र जनाआन्दोलका सम्पूर्ण सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली ।

सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :