हिउँफूल तिमी फुलिदेऊ

गीत

हिउँफूल तिमी फुलिदेऊ

हिउँफूल तिमी फुलिदेऊ
जूनसरि खुलिदेऊ
आकाशको तारासरि
अन्धकारमा चम्किदेऊ

निशाचरलाई चिर्नु छ
पुरानोलाई फेर्नु छ
सयौँ हन्डर खाएर
महासागर तर्नु छ
कालो फलाम पिट्नु छ
अजिङ्गरलाई छल्नु छ
कालो रात फालेर
उज्यालोमा जिउनु छ

हिउँफूल तिमी फुलिदेऊ
जूनसरि खुलिदेऊ
आकाशको तारासरि
अन्धकारमा चम्किदेऊ !!

आउलान् हजार बाधाहरू
डग्मगाउलान् आशाहरू
एक्लो हुँदा पराईले
थाप्न खोज्लान् पाशाहरू
एक्लै हुँदा रातहरू
छुट्टिँदा साथहरू
निराशाले घेर्न खोज्लान्
जुटाउनु साहसहरू

हिउँफूल तिमी फुलिदेऊ
गन्तव्यमा एक्लै हुँदा
परिवेशले बिछोडिँदा
भावनाले जोडिदिनू
बिचल्लीमा एक्लै हुँदा
विचलनको हुरी चल्दा
आकाशबाट आगो खस्दा
विचारले बाँधिदिनू
आस्थाहरू ढल्न खोज्दा
हिउँफूल तिमी फुलिदेऊ
जूनसरि खुलिदेऊ
आकाशका तारासरि
अन्धकारमा चम्किदेऊ !!

छली हिँड्नु सधैँसधैँ
लुकामारी गर्दैगर्दै
यात्रा सफल हुनेछ
छालहरूमा खेल्दाखेल्दै
हार होलान् हेर्दाहेर्दै
जित होलान् हिँड्दाहिँड्दै
लक्ष्य त्यही मिल्नेछ
सयौँ जँघार तर्दातर्दै
हिउँफूल तिमी फुलिदेऊ
जूनसरि खुलिदेऊ
आकाशको तारासरि
अन्धाकारमा चम्किदेऊ !!

तिमीले छोडिगए पनि
बाटो भुलिदिए पनि
वर्गीय सम्बन्धको
नाता हाम्रो टुट्नेछैन
तिमीले माया मारे पनि
जति टाढा भए पनि
वर्गीय मायाको यो
साथ हाम्रो छुट्नेछैन
हिउँफूल तिमी फुलिदेऊ
जूनसरि खुलिदेऊ
आकाशको तारासरि
अन्धकारमा चम्किदेऊ !!

हिमशिखर चढ्नु छ
आगोसँग खेल्नु छ
हरेस कहिल्यै नखानू है
सुन्दर संसार भेट्नु छ
सफलतालाई चुम्नु छ
मायाप्रीति लाउनु छ
वर्गीय सङ्घर्षमै
सुन्दर जीवन जिउनु छ
हिउँफूल तिमी फुलिदेऊ
जूनसरि खुलिदेऊ
आकाशको तारासरि
अन्धकारमा चम्किदेऊ !!

आफन्तले खोट लाउलान्
सङ्गतिले चोट लाउलान्
तर पछि नहट्नू है
जीवनसाथी छुट्लान्
पिँजडामा थुन्लान्
झटारोले हान्लान्
तर हार नखानू है
असल साथी मिल्नेछन्
हिउँफूल तिमी फुलिदेऊ
जूनसरि खुलिदेऊ
आकाशको तारासरि
अन्धकारमा चम्किदेऊ !!

असत्यलाई फाल्नु छ
सत्यलाई ल्याउनु छ
वर्गीय सत्तालाई
जरैबाट ढाल्नु छ
असमानता फाल्नु छ
समानता ल्याउनु छ
पुँजीवादलाई फालेर
समाजवाद ल्याउनु छ
हिउँफूल तिमी फुलिदेऊ
जूनसरि खुलिदेऊ
आकाशको तारासरि
अन्धकारमा चम्किदेऊ

कैलाली कारागार

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :