महासचिव विप्लवद्वारा काजी बाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

महासचिव विप्लवद्वारा काजी बाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाली कम्युनिस्ट आन्दोलनका अग्रज नेतृत्व एवम् आदरणीय अभिभावक खम्बासिंह कुवर ‘काजी बा’ को निधनले पार्टीलाई स्तब्ध बनाएको भन्दै उहाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण शोकमग्न परिवारजनप्रति आत्मीय समवेदना प्रकट गरेका छन् । महासचिव विप्लवले मंगलबार श्रद्धाञ्जली वक्तव्यमार्फत नेपाली कम्युनिस्ट आन्दोलनको उत्थान र विकासमा आजीवन समर्पित भई नेपाली कम्युनिस्टहरू माझ एक जुझारु हस्ती र वास्तवमै अटल खम्बाको रूपमा स्थापित काजी बाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

महासचिव विप्लवले श्रद्धाञ्जली वक्तव्यमा भनेका छन्, ‘नेपाली कम्युनिस्ट आन्दोलनका अग्रज नेतृत्व एवम् आदरणीय अभिभावक कमरेड खम्बासिंह कुवर ‘काजी बा’ को निधनले हामी स्तब्ध भएका छौँ । वि.सं. १९८४ सालमा लमजुङमा जन्मनुभएका क. खम्बासिंह वि.सं. २०११ सालमा कम्युनिस्ट पार्टीमा आबद्ध हुनुभयो र काजी बाको रूपमा कम्युनिस्ट आन्दोलनको उत्थान र विकासमा आजीवन समर्पित हुनुभयो । क्रान्तिकारी आन्दोलनका अनेकौँ मोडहरू र उच्चताका क्रममा उहाँले महत्वपूर्ण नेतृत्वदायी र पे्ररणादायी अभिभावकत्व प्रदान गर्नुभयो । नेपाली कम्युनिस्टहरू माझ उहाँ एक जुझारु हस्ती र वास्तवमै अटल खम्बाको रूपमा स्थापित हुनुहुन्थ्यो ।’

विप्लवले श्रद्धाञ्जली वक्तव्यको अन्त्यमा भनेका छन्, ‘हाम्रो पार्टी क. काजी बाको कम्युनिस्ट आन्दोलनप्रतिको निष्ठा, प्रेरणा र महत्वपूर्ण योगदानको उच्च सम्मान गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, हामी सम्पूर्ण शोेकमग्न परिवारजनप्रति आत्मीय समवेदना प्रकट गर्दछौँ ।’ श्रद्धाञ्जली वक्तव्यको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :