ए सरकार !

कविता

ए सरकार !

ए सरकार
विदेशी पत्रकार बोलाऊ
बालुवाटार छिराऊ
पूर्वीय दर्शनको टपरटुइयाँ बाजा बजाऊ
गुलाम राष्ट्रवादको जामा लगाऊ
दक्षिणको प्रभुलाई खुसी गराऊ
हेलिकोप्टरमा चढाऊ
सगरमाथाको आधारशिविर पुर्याऊ
देशको अस्मितामाथि धावा बोल्न लगाऊ
तिमी बालुवाटारबाट बाँसुरी बजाऊ ।

ए सरकार !
आफ्नै संविधान खाऊ
आफ्नै संसद् खाऊ
विरोधीलाई औँला ठड्याऊ
फासिवादको डन्डा समाऊ
लालमोहर लाउनुछ भने
शीतल निवास जाऊ
विद्वान्–विदुषीलाई धम्की देऊ
प्रतिगामीको साथ लेऊ
अदालतमा झूटो बयान देऊ
किर्ते कागजात बुझाऊ

ए सरकार !
घूस खाऊ
कमिसन खाऊ
पैसा कमाऊ
मठमन्दिर जाऊ
झूटो कसम खाऊ
आयोगहरूमा जाऊ
कब्जा जमाऊ
भ्रष्टाचारीलाई बचाऊ
सदाचारीलाई फसाऊ
प्रतिगामीलाई हँसाऊ

ए सरकार !
विधिविधान च्यातिदेऊ
राज्य मै हुँ भन्देऊ
विपक्षीका टाउका गन्देऊ
तिम्रो आलोचना गर्नेलाई
उखानटुक्काले हान्देऊ
बालुवाटारदेखि ब्रह्मनालसम्मको
सेटिङ मिलाएको भन्देऊ
गुन्डा र चाकरहरूको ‘बा’ बन्देऊ
जनताका लागि तानाशाह बन्देऊ
आफ्नो खाडल आफैँ खन्देऊ

ए सरकार !
गुट चलाऊ
गुन्डा चलाऊ
पार्टी फुटाऊ
झन्डा हल्लाऊ
देश डुबाऊ
जनता रुवाऊ
विदेशी बोलाऊ
स्वाधीनता गुमाऊ
महँगी बढाऊ
जनतालाई कङ्गाल बनाऊ

ए सरकार !
दलाललाई सघाऊ
आसेपासे सघाऊ
नातागोता सघाऊ
जनताको ढुकुटी लुटाऊ
निजी जीवन समृद्ध बनाऊ
जनताका आवाज दबाऊ
राज्यआतङ्क मच्चाऊ
क्रान्तिकारीलाई समाऊ
त्यतिले पनि नपुगे
सङ्कटकाल लगाऊ

ए सरकार !
हँसियाहथौडा छोडिदेऊ
सूर्यलाई मात्रै समाऊ
आफ्नो गुट बलियो बनाऊ
समाजवादीलाई प्रतिबन्ध लगाऊ
एमसीसी भित्र्याऊ
लिपुलेक–लिम्पियाधुरा बुझाऊ
चुच्चे नक्सा हटाऊ
सिमाना घटाऊ
त्यतिले पनि नपुगे
लेन्डुप दोर्जेको बिँडो समाऊ !

कैलाली–कारागार, धनगढी

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :