कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २० लाख र सङ्क्रमितको सङ्ख्या ९ करोड ४२ लाख ८० हजार नाघ्यो

कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या २० लाख र सङ्क्रमितको सङ्ख्या ९ करोड ४२ लाख ८० हजार नाघ्यो

काठमाडौँ : विश्वभर शनिबार बिहानसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ९ करोड ४२ लाख ८० हजार र मृत्यु हुनेको सङ्ख्या २० लाख नाघेको वर्ल्डोमिटर्सले जनाएको छ । समाचारअनुसार गत २४ घन्टामा ७ लाख ५७ हजार ९५८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

कुल सङ्क्रमितको २६.४५ प्रतिशत मानिस अहिले पनि उपचारका क्रममा छन् । सक्रिय सङ्क्रिमतको सङ्ख्या २ करोड ४९ लाख ४१ हजार ६६५ छ । यसमध्ये १ लाख ११ हजार ४६५ जनाको अवस्था गम्भीर रहेको पनि जनाइएको छ ।

यस्तै कोरोनाले मृत्यु हुनेको सङ्ख्या २० लाख नाघेको छ । पछिल्लो २४ घन्टामा १४ हजार ७५४ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या २० लाख १६ हजार ५७२ नाघेको हो ।

सङ्क्रमणको सबैभन्दा धेरै चपेटामा रहेको अमेरिकामा सङ्क्रमणबाट २ करोड ३८ लाखभन्दा बढी प्रभावित भएको र ४ लाखभन्दा धेरै सङ्क्रमितको मृत्यु भएको जनाइएको छ । भारत, ब्राजिल, रुस, फ्रान्स, बेलायत, टर्कीलगायत मुलुक पनि सङ्क्रमणले धेरै असर परेका मुलुकको सूचीमा छन् ।

सङ्क्रमण सुरु भएको एक वर्षमा विश्वका सबैजसो देशमा यो फैलिएको छ । कतै तेस्रो चरणको सङ्क्रमण फैलिएको छ भने कतै नयाँ प्रजातिको कोरोना देखिएको भन्दै त्रास फैलिएको छ ।

शनिबार बिहानसम्म ६ करोड ७३ लाख २२ हजार २५९ जना सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घन्टामा ५ लाख ९ हजार ९२१ जना निको भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :