नेकपा नेता धर्मेन्द्र बस्तोलालाई अविलम्ब रिहा गर : बुद्धिजीवी सङ्गठन

नेकपा नेता धर्मेन्द्र बस्तोलालाई अविलम्ब रिहा गर : बुद्धिजीवी सङ्गठन

काठमाडौँ : नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनले प्रेस वक्तव्य जारी गर्दै नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ लाई अविलम्ब रिहा गर्न माग गरेको छ । सङ्गठनका महासचिव व्यापक नेपालीले वक्तव्य जारी गरी सरकारले गिरफ्तारीको शृङ्खलालाई निरन्तरता दिनु गैरराजनीतिक व्यवहार भएको निष्कर्ष पनि निकालेका छन् । उनले यो दमन र गिरफ्तारीको शृङ्खलालाई रोकेर सम्पूर्ण राजबन्दीलाई बिनासर्त तत्काल रिहा गर्न पनि अपिल गरेका छन् ।

वक्तव्यमा व्यापकले भनेका छन्, ‘बौद्धिक व्यक्तित्व धर्मेन्द्र बास्तोलासहितका चारजना नेतालाई २०७७ साल पुस २९ गते सरकारले गिरफ्तार गरेको समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ । वर्गीय राजनीतिक विषयलाई वार्तामार्फत समाधान गर्न सबै सरोकारवाला पक्षले पहल गरिरहेको समाचार सार्वजनिक भइरहेको सन्दर्भमा गिरफ्तारीको शृङ्खलालाई निरन्तरता दिनु गैरराजनीतिक व्यवहार भएकाले यसलाई रोकेर सम्पूर्ण राजबन्दीलाई बिनासर्त तत्काल रिहा गर्न अपिल गर्दछौँ ।’

वक्तव्यमा अगाडि भनिएको छ, ‘हालको अमूर्र्त राजनीतिक संरचनाको असफलताले के देखाउँछ भने जनबलबाट मात्र अनतिक्रम्य विधिको शासन स्थापना गर्न सकिन्छ । राजनीतिक क्रान्तिको पूर्णताले नै नेपालमा रहेको निरन्तर सङ्क्रमणको अन्त्य गर्न सकिन्छ । पछिल्लो सात दशकमा देशले भोगेको राजनीतिक, आर्थिक र सामाजिक पछौटेपनलाई ध्यान दिई राष्ट्र र जनतालाई केन्द्रमा राखेर पूर्वाग्रहबिना समस्याको सही निदान (Diagnosis) गर्न सबै पक्ष तयार भएमा नेपाललाई एसियाको रोगी मान्छे (Sick man of Asia) हुनबाट बचाउन सकिन्छ । परिवर्तन अवश्यम्भाबी र अनिवार्य भएकाले बक्स बाहिर (Beyond the box) रहेर सोच र व्यवहार गरी कम क्षतिमा ढिलो भए पनि असल कार्य गरी नेपाली जनतालाई न्याय गर्न सबैमा आह्वान गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :