आन्दोलनरत विद्यार्थीमाथि विश्वविद्यालय र प्रहरीले गरेको दमनप्रति अखिल क्रान्तिकारीको चेतावनी

आन्दोलनरत विद्यार्थीमाथि विश्वविद्यालय र प्रहरीले गरेको दमनप्रति अखिल क्रान्तिकारीको चेतावनी

काठमाडौँ : अखिल क्रान्तिकारीले मध्यपश्चिम विश्वविद्यालयमा आन्दोलनरत विद्यार्थीमाथि विश्वविद्यालय र प्रहरी प्रशासनको मिलोमतोमा गरिएको निर्मम दमन र धरपकडप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाप्रति सङ्गठनले चेतावनी दिएको छ । आफ्ना मागहरू विश्वविद्यालयसमक्ष राख्न पाउने विद्यार्थीको अधिकारमाथि धावा बोलिनु अत्यन्तै खेदजनक रहेको अखिल क्रान्तिकारीका भेरी–कर्णाली संयोजक हर्कबहादुर विकले जनाएका छन् ।

संयोजक विकले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यही पुस २६ गते मध्यपश्चिम विश्वविद्यालयमा आन्दोलनरत विद्यार्थीहरूमाथि विश्वविद्यालय र प्रहरी प्रशासनको मिलोमतोमा गरिएको निर्मम दमन र धरपकडप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । आफ्ना जायज मागहरू विश्वविद्यालयसमक्ष राख्न पाउने विद्यार्थीहरूको अधिकारमाथि धावा बोलिनु अत्यन्तै खेदजनक छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘सामान्यतः विश्वविद्यालयहरूलाई खोज, अध्ययन, अनुसन्धानसहितको बौद्धिक एवम् प्राज्ञिक थलोका रूपमा बुझिन्छ तर नेपालका विश्वविद्यलयहरू सत्तासीन शक्तिको निहित स्वार्थको चङ्गुलमा छन् जसले गर्दा विश्वविद्यालयको गरिमा र महत्वमाथि नै प्रश्न उठ्ने गरेको छ । मध्यपश्चिम विश्वविद्यालय पनि यसैको सिकार भएको तथ्य स्पष्ट नै छ । भ्रष्टाचारको अखडाका रूपमा रहेको यस विश्वविद्यालयलाई भ्रष्टाचारमुक्त बनाई असल शैक्षिक थलोका रूपमा स्थापित गर्न जरुरी भएको बेला अध्ययनरत विद्यार्थीहरू, सम्बद्ध सरोकारवाला सबै पक्षहरूसँग सहकार्य गर्न छोडेर फासिस्ट र क्रूर शैलीमा विश्वविद्यालय प्रशासन आफैँ उत्रिएको छ । प्रहरी प्रशासनको दुरुपयोग गरी आन्दोलनरत विद्यार्थीमाथि दमन गरिएको उक्त घटनाको हाम्रो सङ्गठन घोर निन्दा एवम् भत्सर्ना व्यक्त गर्दछ । साथै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौं । आन्दोलनरत विद्यार्थीहरूका मागहरूको तुरुन्तै समाधान गर्न हामी सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :