मलाई भन्यो

मलाई भन्यो

मलाई ऊः त्यो माथि लेकको चरीले भन्यो
यो साल तिमी काफल खान किन आएनौ ?
ऊः त्यो पारि गाउँकी आमैले भनिन्
बाबु, तिमी यो साल न्वागी खान किन आएनौ ?
ऊः त्यो तल नदीले भन्यो
यो साल तिमी जँघार तर्न किन आएनौ ?
ऊः त्यो पारि हिमालले भन्यो
यसपालि तिमी हिउँ खेल्न किन आएनौ ?
ब्रह्मनालमा रहेकी मेरी आमाले भनिन्
छोरा, तिमी मेरो अन्तिम मुख हेर्न किन आएनौ ?

अनि मैले जबाफमा भनेँ–
यो साल काफल नै पाकेनन् चरी
अनि म कसरी काफल खान आऊँ ?
यसपालि बाली नै पाकेन आमै
अनि म कसरी न्वागी खान आऊँ ?
यो साल वर्षा नै भएन नदी
अनि म कसरी जँघार तर्न आऊँ ?
यसपालि हिउँ नै परेन हिमाल
अनि म कसरी हिउँ खेल्न आऊँ ?
मलाई अहिले पिँजडामा थुनिएको छ आमा
अनि कसरी तिम्रो मुख हेर्न आऊँ ?

मलाई सहरिया प्रेमिकाले भनिन्
तिमी यसपटक मलाई भेट्नै आएनौ !
मशानघाटको मुर्दाले भन्यो
तिमी मलाई आगो दिनै आएनौ !
सहरको सडकले भन्यो
तिमी यसपटक मलाई टेक्नै आएनौ !
रातो झन्डाले भन्यो
तिमी मलाई यसपटक बोक्नै आएनौ !
सहयोद्धा साथीले भन्यो
तिमी मसँग हात मिलाउनै आएनौ !
अनि मैले जबाफमा भनेँ–
तिमीले अरूसँगै पिरती गाँसिछेऊ प्रिया
अनि म कसरी तिमीलाई भेट्न आऊँ ?
तिमीलाई त कोरोना लागेको थियो रे मुर्दा
अनि म कसरी तिमीलाई आगो दिन आऊँ ?
मलाई प्रतिबन्ध लगाइएको छ सडक
अनि म कसरी तिमीलाई टेक्न आऊँ ?
मलाई जेलमा हालिएको छ झन्डा
अनि म कसरी तिमीलाई बोक्न आऊँ ?
मेरो हातमा हतकडी हालिएको छ साथी
अनि म कसरी तिमीसँग हात मिलाउन आऊँ ?
तर चिन्ता नगर
म अब छिट्टै आउनेछु
किनकि अब
मौसम बदलिएको छ
समय फेरिएको छ
सन्दर्भ बदलिएको छ
परिवेश फेरिएको छ
बिजुलीले नयाँ सङ्केत गरेको छ
हुरी फेरि चलेको छ
गाउँ फेरि रातो हुँदैछ
सहर र सडक फेरि तातो हुँदैछ
जुलुसले फेरि अवश्य मेरो खोजी गरेको छ !!

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :