दलाल संसद्‌वादको पतन र बेथान वीरता दिवसको सन्देश

दलाल संसद्‌वादको पतन र बेथान वीरता दिवसको सन्देश

विश्व–सर्वहारा वर्गका महान् गुरु दार्शनिक कार्ल माक्र्सले एउटा सन्दर्भमा भनेका थिए– इतिहास दुईपटक दोहोरिन्छ : पहिलोपटक वियोगान्तका रूपमा र दोस्रोपटक मजाक वा प्रहसनका रूपमा । आज नेपालमा संसद्‌वादको पहरेदार बनेका दलाल पुँजीवादका पक्षधरहरूले कार्ल माक्र्सले डेढ सय वर्षभन्दा पहिले भनेको उक्त उक्तिलाई चरितार्थ गरिरहेका छन् । कुनै दिन संसदीय व्यवस्था खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने कसाईखाना हो भन्ने प्रशिक्षण दिँदै ‘कम्युनिस्ट’ बनेका र झापा विद्रोह तथा जनयुद्धको नेतृत्व गरेका केपी वली र पुष्पकमल दाहालहरू आज बुख्याँचा बनेर संसद्वाद अब्बल दर्जाको लोकतन्त्र, अझ समाजवाद उन्मुख व्यवस्था भन्ने ठाउँमा आइपुगेका छन् भने जनताले फेरि अर्को उचाइको क्रान्तिको झन्डा बोक्नुपरेको छ । वली र दाहालहरूले भन्ने गरेको अब्बल दर्जाको लोकतन्त्र, जनवाद अर्थात् समाजवादले आज उनीहरूलाई नै भद्दा ढङ्गले एकअर्काका प्रतिस्पर्धी मात्र नभई ज्यानी दुस्मनकै स्तरमा गिराइदिएको छ । विचार, दर्शन, राजनीति र कार्यदिशा सही भएको भए कथित एकताको दुई वर्ष बित्दानबित्दै आज वली र दाहालहरूले एकअर्काको तीनपुस्ते उतारेर सत्तोसराप गर्दै हिँड्नुपर्ने अवस्था आउने थिएन । एउटा झापा विद्रोहप्रति पश्चाताप गर्दै संसद्‌वादमा पतन भएको पात्र वा शक्ति र अर्को महान् जनयुद्धलाई कुहीगन्धे संसद्‌वादी सत्तासँग साटेर दलाल पुँजीवादको मतियार बनेको पात्र वा समूहका बीचको उक्त गठबन्धन दलाल सत्तालाई केन्द्रमा राखेर गरिएको सिद्धान्तहीन गठजोड थियो र वलीको प्रधानमन्त्री बन्ने उत्कट चाहना र दाहालको अस्तित्वरक्षाको अन्तिम घिडघिडो थियो । नक्कली राष्ट्रवादको जामा लगाएर देशभक्त नेपाली जनमतको दुरुपयोग गर्दै सत्तामा पुगेका वलीले त झन्डै तीन वर्ष प्रधानमन्त्री बनेर र विद्या भण्डारीलाई दुईदुईपल्ट राष्ट्रपति बनाएर आफ्नो सपना साकार पारेका छन् र उक्त गठजोडको सक्दो उपयोग गरेका छन् तर दाहाल भने सत्ताको लालसामा मृगरिचिकाझैँ कहिले भारत त कहिले हिजो आफैँले भारतीय दलाल भनेका माधव नेपालको पाउमा पुगेका छन् । तैपनि उनको अस्तित्व धानिने वा नधानिने कुनै टुङ्गो छैन । क्रान्तिमाथि गद्दारी गरेर प्रतिक्रियावादका मतियार बन्नेहरूको हालत योभन्दा खराब बन्दै समाप्तितिर गएको देखिएमा पनि आश्चर्य मान्नुपर्ने छैन ।

रूपमा पात्रहरूका बीचका क्रियाकलाप वा गतिविधि देखिए पनि संसद् विघटन वा सरकारी पार्टीका दुई गुटबीचको झडपको यो समस्या केवल व्यक्तिको नभएर व्यवस्थाको समस्या हो । कुनै पनि रोगको औषधी रोग पत्ता लगाएर रोग निदानका लागि सही ठाउँमा पर्यो भने मात्र समस्या समाधान सम्भव हुन्छ । टाउको दुखेको बेलामा नाइटोमा औषधी दलेर निको हुँदैन भन्ने त नेपाली समाजको पुरानो आहान नै हो । दलाल पुँजीवादले निम्त्याएको समस्याको समाधान वली, दाहाल, देउवा, नेपाल वा अरू कुनै नाउँ र थरका पात्रविशेषमा खोजेर हुँदैन । यो दलाल व्यवस्थामा जुन पात्र आए पनि गर्ने भनेको वली वा दाहालले जस्तै हो । देउवा वा शाहीले जस्तै हो । थापा वा नेपाल–खनालले जस्तै हो । यी त दलाल पुँजीवादका फल मात्र हुन् । रूखको जरो नै मक्किएर कुहिसकेको हुनाले फल कुहिएको हो । कुहिएको वा मक्किएको रूखको जरामै उपचार खोज्नुपर्छ, कुहिएको फलमा होइन । अब यही सत्तामा पात्र बदलेर केही हुनेवाला छैन । यस्तै व्यभिचारी चक्र दोहोरिने मात्र हो । त्यसैले दलाल संसद्वादको मक्किएको रूख फालेर वैज्ञानिक समाजवादको बिरुवा हुर्काएपछि मात्र देश, जनता र श्रमिक वर्गले यस्तो दुःख, पीडा र हैरानी पाउने छैनन् । यस विषयमा जनमत अब केन्द्रित हुँदै गएको छ ।

पार्टीको नाउँ वा पात्रको नाउँ छोपिदियो भने अहिलेको व्यवस्था र हिजोका व्यवस्थाले गरेका काममा कुनै अन्तर देखिँदैन । भ्रष्टाचार उस्तै । राष्ट्रघात उस्तै । जनघात उस्तै । लूट, कमिसन, तस्करी र महँगी उस्तै । युवा र श्रमको शोषण र पलायन, महिला, दलित, मधेसीमाथिको विभेद र शोषण–विभेद उस्तै । हजारौँ योद्धा र जनताले बलिदान गरेर स्थापित गरेको सङ्घीय गणतन्त्र नाउँको व्यवस्थाले पनि उही अस्थिरता, महँगी, राष्ट्रघात, जनघात, लूट, भ्रष्टाचारबाहेक केही दिँदैन भने जनताले हिजो आफूले यो व्यवस्थामाथि गरेको निर्णयमाथि पुनर्मूल्याङ्कन गर्नुपर्छ र वैकल्पिक सत्ताका लागि थप त्याग र योगदान गर्न तयार हुनुपर्छ ।

दलाल संसद्‌वादको लज्जाजनक पतन र संसद्‌वादीहरूबीच विभाजन, आरोप–प्रत्यारोप र रुवाबासीकै बीचमा नेपालका असली मालेमावादी क्रान्तिकारीहरूले आइतबार क्रान्तिकै मैदानमा २५ औँ बेथान वीरता दिवस मनाएका छन् । बेथान वीरता दिवस नेपालमा राजतन्त्रात्मक दलाल संसदीय व्यवस्थाविरुद्ध नेपाली जनताले हतियारबद्ध लडाइँ लडी विजय प्राप्त गरेको पहिलो सफल फौजी मोर्चाको सम्मानमा स्थापित नयाँ पर्व हो । रामेछाप जिल्लाको बेथान पानीघाटमा रहेको तत्कालीन सत्ताको रक्षक प्रहरीचौकीमाथि धावा बोलेर तत्कालीन नेकपा (माओवादी) ले २०५३ साल पुस १९ गते ऐतिहासिक विजय प्राप्त गरेको थियो भने उक्त विजयका लागि तीर्थ गौतम, फत्त स्मालीमगर र दिलमाया बम्जनजस्ता होनहार योद्धाहरूको बलिदान गरेको थियो । राजतन्त्रात्मक पुरातन सामन्ती व्यवस्थाको अन्त्य र नयाँ जनवाद हुँदै समाजवादी व्यवस्था स्थापनाका लागि भएको उक्त बलिदानपछि नेकपा (माओवादी) को विजय अभियान देशैभरि आरम्भ भएको थियो । बेथान वीरता दिवसको आरम्भ गर्नेमध्येका पुष्पकमल दाहाल र रामबहादुर थापाहरू यतिबेला पानीघाटमा बसेको पुरानो सत्ता अर्थात् दलाल पुँजीवादी सत्ताका पहरेदारका रूपमा छन् भने नेपाल कम्युनिस्ट पार्टीले विद्रोहको झन्डा बोक्दै त्यतिबेलाको माओवादीको स्थान ग्रहण गरेको छ । हिजोको जनयुद्ध र आजको एकीकृत जनक्रान्तिको स्वरूप फरक भए पनि उद्देश्य र लक्ष्य एउटै हो । राज्यबाट खेप्नुपरेको कहर उस्तै हो । विकसित कार्यदिशामा गन्तव्य एउटै हो । तीफदिलगायत बेथानमा बलिदान गर्ने महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै वीरता दिवसको स्पिरिटलाई नयाँ उचाइमा लग्नुपर्ने आवश्यकता देखिएको छ । वैकल्पिक क्रान्तिकारी सत्ताको पहलमा लागेका शक्तिहरूले बेथान वीरता दिवसको मर्म र भावलाई आत्मबोध गर्दै नयाँ निकासका लागि पहल गर्ने आशा र विश्वास गर्न सकिन्छ ।

सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :